शक्तिशाली भूकम्पमा परी मेक्सिकोमा कम्तिमा १३० जनाको मृत्यु


काठमाडौं  – मेक्सिकोमा गएको ७.१ रेक्टर स्केलको   शक्तिशाली भूकम्पमा परी कम्तिमा १३० जनाको मृत्यु भएको छ । राजधानीमै दजनौं घरहरु भत्किएका छन् ।

अहिले खोजी तथा उद्दार कार्य जारी छ । स्कुलका भत्किएका भवनहरुमा बालबालिका फसेको आशंका गरिएको अधिकारीहरुले बताएका छन् । राजधानी मेक्सिको सिटीसँगै मोरलियोस र पुएब्ला प्रान्तमा ठूलो क्षति पुगेको छ ।

 

मंगलबार त्यस्तो समयमा भूकम्प गयो, जतिबेला मेक्सिको सिटीमा मानिसहरु भूकम्प आएको समयमा कसरी उद्दार गर्ने भनेर अभ्यास गरिरहेका थिए ।मेक्सिकोमा ३२ वर्षअघि विनाशकारी भूकम्प गएको थियो, जसमा १० हजार मानिसले ज्यान गुमाएका थिए ।

यसै महिना ८.१ रेक्टर स्केलको भूकम्प देशको दक्षिणी भागमा गएको थियो, जसमा ९० जनाको मृत्यु भएको थियो ।

 

मंगलबारको भूकम्पको केन्द्र पुएब्ला प्रान्तको एन्टेसिगो नजिकै थियो । यो इलाका मेक्सिको सिटीबाट १२० किलोमिटरको दुरीमा छ ।

राष्ट्रपति एनरिक पेना निएटोले मानिसहरुलाई सडकमा नबस्न आग्रह गरेका छन् ताकि उद्दार कार्य प्रभावित नहोस् ।भूकम्पका कारण केहीबेर मेक्सिको सिटीको एयरपोर्ट समेत केहीबेर बन्द गरिएको थियो भने शहरको सबै घर खाली गरिएको थियो ।