प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त


काठमाडौं – सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएका छन् ।

नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ खुवाउन शीतल निवास पुगेका प्रधानन्यायाधीश पराजुलीलाई न्याय परिषद्ले पदमा नरहेको पत्र थमाएको हो ।

न्याय परिषद सचिवालयले काटेको पत्रमा पराजुली उमेर हदका कारण दमा नरहेको उल्लेख छ । पराजुलीले ३१ साउनमै ६५ वर्ष उमेर पुरा गरेको परिषद्ले जनाएको छ ।

परिषदका सचिव नृपध्वज निरौलाद्धारा हस्ताक्षरित पत्रमा न्याय परिषद् ऐन २०७३ को दफा ३१ मा कुनै न्यायाधीश उमेरका कारण अवकास हुने भएमा सम्वन्धीत न्यायाधीश र निकायलाई जानकारी गराउनु पर्ने उल्लेख छ ।

परिषद्को सचिवस्तरीय निर्णय अनुसार पराजुली पदमा नरहेको पत्रमा उल्लेख गरिएको छ ।

न्याय परिषद सचिव नृपध्वज निरौलाले प्रधानन्यायाधीश गोपाल पराजुली पदमा नरहेको भन्दै उनलाई नै चिठ्ठी पठाएका छन्। त्यसको बोदार्थ राष्ट्रपति कार्यालय, संवैधानिक परिषद, प्रधानमन्त्री कार्यालय र सर्वोच्च अदालतलाई गराएका छन्।

न्यायपरिषद्को सचिव स्तरीय निर्णयबाट प्रधानन्यायाधीश पराजुलीको अवकाश भइसकेको निर्णय गर्दै जानकारी पत्रमार्फत गराइएको हो।  पत्रमा प्रधाननन्यायाधीश पराजुली गत साउन २१ गते नै ६५ वर्षको उमेर हद पार गरिसकेको जानकारी गराउँदै उनी अब पदमा नरहेको भनिएको छ।

‘सम्माननीय महोदयको यस न्यायपरिषद् सचिवालयमा रहेको नागरिकता,शैक्षिक योग्यता, सिटरोल विवरण तथा परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरबाट आजै प्राप्त पत्र समेतका आधारमा उपरोक्त ऐन को दफा ३१ को उपदफा ७ बमोजिम समेत सम्माननीय महोदयको ६५ वर्षको उमेर २०७४ साउन २१ मा नै पूरा भइसकेको देखिन आएको ले आजको सचिवस्तरीय निर्णयाअनुसार सम्माननीय महोदय पदमा नरहनुभएको जानकारी गराउँदछु,’ सचिवको चिठीमा उल्लेख छ।

उनले पराजुलीलाई निवृत्त जीवन सुखमय रहोस भन्ने कामना पनि गरेका छन्। ‘सम्माननीय महोदयले न्याय क्षेत्रमा पुर्‍याउनुभएको योगदान प्रति हार्दीक धन्यवादका साथ सेवा निवृत्त जीवन सुखमय रहोस भन्ने कामना गर्दछु,’ उनले लेखेका छन्।