मिलान रातोलाई एनआरएन कपको उपाधि


बार्सिलोना। एनआरएनए कप ईन्टरसिटि फुटबल प्रतियोगिताको उपाधि नेपाल मितेरी मञ्च मिलान (रातो) ले जितेको छ। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ईटालीले पहिलो पटक आयोजना गरेको प्रतियोगितामा मञ्चले जित हासिल गरेको हो।

आईतबार पिसा शहरमा सम्पन्न फाईनल खेलमा मितेरी मञ्च (निलो) लाई ५–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै  मितेरी मञ्च (रातो) ले ट्रफी उचालेको छ।

फाईनलमा पुगेका यी दुई टिम सहित ईटालीका बिभिन्न शहरहरुबाट भेनिस,पार्मा नेपाली परिवार,नेपाली फुटबल कमिटि रोम,पिसा एफसी ए र पिसा एफसी बी सहित ७ बटा टोलिहरु सहभागी थिए। पिसा एफसी ए र पार्मा नेपाली परिवारले प्रतियोगितमा सेमिफाईनलसम्मको यात्रा तय गर्न सफल भए। बिजेतालाई शिल्ड,मेडल र प्रमाणपत्र पुरस्कृत गरिएको संघका महासचिव छबीलाल कँडेलले जानकारी थिए।  

सर्बोत्कृष्ट खेलाडी सहित सर्बाधिक गोलकर्ताको उपाधि भने बिजेता टिमकै खेलाडी समिर ओसीले प्राप्त गरेका छन्। ईटालीका लागि नेपाली अबैतानिक बाणिज्य दूत पाउलो नुगारीले उत्कृष्ट बनेका खेलाडी ओसीलाई  हौसला स्वरूप नेपाल आवातजावतको एक हवाई टिकट उपलब्ध गराउने प्रतिबद्वता ब्यक्त गरेका छन्। नेपाली समाज पिसाले प्रतियोगिताको ब्यबस्थापन गरेको थियो। एनआरएनए ईटालीका अध्यक्ष दिपेशकुमार रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रुपमा गैर आबासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुमार पन्त,आईसीसी सदस्य क्षेत्र कुमार श्रेष्ठ लगायत ईटाली स्थित संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रह्यो।

यसैबीच आईतबार साँझ नै गायक मिलन लामा,गायिका शकुन्तला थापा लगायत स्थानीय कलाकारहरुले ईटालीबासी नेपालीहरुलाई नचाएका छन्। लोक तथा दोहोरी गीतमा नै केन्द्रित रहेको उक्त साँस्कृतिक कार्यक्रमको संयोजन अन्तराष्ट्रिय नेपाली कलकार समाज ईटालीले गरेको थियो।