नेपाली क्लबलाई एथ्लेटिको म्याड्रिडको सहयोग,शुक्रबार हस्ताक्षर हुँदै


बार्सिलोना ।
स्पेनिस क्लब एथ्लेटिको म्याड्रिडले नेपालको फुटबल विकासका लागि सहयोग गर्ने भएको छ । विश्वभर अन्तराष्ट्रिय सामाजिक विद्यालयहरु बनाएर फाउन्डेशनमार्फत सहयोग गर्दै आएको एथ्लेटिको म्याड्रिडले चन्द्रागिरि नगरपालिका-१४ मा रहेको वेष्ट काठमाडौं फुटबल क्लबलाई सहयोग गर्ने इच्छा देखिएको हो ।

क्लबका इन्टरनेशनल एक्सपान्सन एण्ड एकेडेमी म्यानेजर फर्नाण्डो लोपेज दुई पक्षीय सम्झौताका लागि मंगलबार काठमाडौ प्रस्थान गर्दैछन् । बीबी ट्रष्ट र एथ्लेटिको म्याड्रिडबीच आगामी शुक्रबार काठमाडौंमा सहमतिपत्रमा हस्ताक्षर हुँदैछ ।

ट्रष्टमार्फत वेष्ट काठमाडौं फुटबल क्लबलाई सहयोग पुग्ने गरी हस्ताक्षर गरिने बताइएको छ । त्यस अबसरमा दुवै क्लबको लोगो अंकित जर्सी समेत सार्वजनिक गरिनेछ ।बीबी ट्रष्टलाई गैर आवासिय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टले संचालन गर्दै आएका छन् ।

(एथ्लेटिको म्याड्रिड फाउण्डेशनका अध्यक्ष पाब्लो लागोसँग एनआरएन केन्द्रिय अध्यक्ष सहितको टोली )

काठमाडौं प्रस्थान अघि लोपेजले नेपालको फुटबललाई सहयोग र साथ दिन आफूहरु इच्छुक रहेको बताए । ‘सबैभन्दा कम उमेरमा पनि खेल वा फुटबलको माध्यमबाट अबसर प्रदान गर्न सक्षम रहनु हाम्रो उदेश्य हो’ लोपेजले भने, एथ्लेटिको म्याडि्रड फाउण्डेसनको स्कुल एउटा यस्तो स्थान हो, जहाँ तपाई मिल्नसक्नु हुन्छ, आनन्द लिन सक्नु हुन्छ र साथी बन्न सक्नुहुन्छ ।’

यस्तो सहयोगका लागि क्लबले आफ्नो कुल बजेटको एक प्रतिशत रमक छुट्याउने गरेको छ । उनले भने ‘अहिले पोर्तुगल, निकारागुआ, मोरक्को, भारत र हाईटी लगायत स्पेनमा नै ११ वटा सामाजिक विद्यालयमा सहयोग गरिरहेका छौं । यो वर्ष केही थप अन्तराष्ट्रिय सामाजिक विद्यालय खोल्ने योजना बनाएका छौं ।’

दुवै क्लवहरुको लोगो अंकित जर्सी

नेपाल र स्पेनको फुटबललाई जोड्ने अभियानका सक्रिय रुपमा लागि परेका एनआरएनए युरोप क्षेत्रका उपसंयोजक एकराज गिरीले भने सुरुवातमा २० हजार युरो (झन्डै २७ लाख रुपैयाँ) सहयोग पुग्ने गरि हस्ताक्षर हुने बताएका छन् । उनका अनुसार सुरुअातमा ८० जना खेलाडीहरुका लागि खेलकुद सामाग्रीहरु समेत प्रदान गर्ने तय भइसकेको छ ।

कसरी सम्भव भयो ?

एथ्लेटिको म्याड्रिड सिधै नेपालको फुटबल क्षेत्रलाई सहयोग गर्न तयार भएको भने होइन । यसैवर्ष काठमाडौं महानगरपालिकाका र म्याड्रिड नगरपालिकाबीच फुटबलको क्षेत्रमा सहयोग आदानप्रदानबारे छलफल भएको थियो ।

मेयर विद्यासुन्दर शाक्यले म्याड्रिड भम्रण गर्दा होस् वा म्याड्रिड नगरपालिकाका प्रतिनिधिले काठमाडौं भ्रमणमा रहँदा होस्, फुटबलले दुई देश जोड्ने छलफल भयो ।

यस्तै स्पेनिस नागरिक खोसे मानुवल भिलानोभाले पनि क्लबसँग बिभिन्न चरणमा छलफल गर्न बाताबरण तय गरे भने म्याड्रिड नगरपालिकाको सहयोग भूमिका रहृयो ।

वेष्ट काठमाडौं फुटबल क्लबका खेलाडीहरू

पहिलो चरणको छलफलका लागि गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष भवन भट्ट म्याडि्रड आएका थिए । ५ महिनाअघि अध्यक्ष भट्टसहित एनआरएन टोलीले क्लव फाउण्डेशनका अध्यक्ष पाब्लो लागोसँग छलफल गर्‍यो । दोस्रो चरणमा स्पेनका लागि नेपाली राजदूत भरत बहादुर रायमाझीसहितको टोलीले पनि अध्यक्ष लागोसँग भेटवार्ता गरेको थियो ।

(एथ्लेटिको म्याड्रिड फाउण्डेशनका अध्यक्ष पाब्लो लागोसँग स्पेनका लागि नेपाली राजदूत सहितको टोली )

दुवै छलफलमा सहभागी एनआरएनए युरोप उपसंयोजक गिरी भछन्, ‘नेपालको कूटनीतिक निकाय म्याड्रिडमै भएकाले पनि छलफलहरु सार्थक र बिश्वसनीय भए । दूताबास हुँदा र नहुँदाको फरक महशुस हामीले यहीबाट गर्‍यौं ।’

उजले अघि भने, ‘आशा छ, भविश्यमा नेपाली खेलाडीहरु युरोपमा ब्यबसायिक फुटबल खेलेको हेर्ने चाहना यस्तै सकारात्मक कदमहरुसँगै पूरा हुनेछन् ।’

बीबी ट्रष्ट कसरी छानियो ?

केन्द्रीय अध्यक्ष भट्टसहित एनआरएनए बेल्जियमका अध्यक्ष लोक दाहाल, एनआरएन अनररी परिषद् समिति सदस्य गोविन्द सुवेदी लगायतको टोलीले गैरआवासीय नेपाली संघ र एथ्लेटिको म्याडि्रडबीच सम्झौता गर्ने प्रयास गरेको थियो ।

तर, नेपाल बाहिर बस्ने नेपालीहरुको संस्था भन्ने अर्थ लागेपछि एनआरएनएसँग सम्झौता गर्न क्लब तयार भएन । उसले राजधानीकै क्लब खोज्यो । त्यसपछि बीबी ट्रष्टबाट प्रक्रिया अघि बढ्यो र यही ट्रष्ट मार्फत चन्द्रागिरिमा रहेको वेष्ट काठमाडौं फुटबल क्लबबाट प्रपोजल पेश भएपछि सहमति जुट्यो । तर, के-के बिषयमा कसरी सम्झौता हुँदैछ भन्ने बारे अहिले खुलाइएको छैन ।

अबसरसँगै चुनौती

वेष्ट काठमाडौं फुटबल क्लबको खेल मैदान

स्पेनिस क्लबहरुले विश्वका बिभिन्न मुलुकहरुमा आफ्ना फाउन्डेशनमार्फत सहयोग मात्र गरेका छैन, खेलाडीहरुलाई अबसर पनि दिएका छन् । त्यसैले यो नेपाल र क्षमतावान नेपाली खेलाडीहरुका लागि पनि ठुलो अवसर पनि हो ।

हरेक वर्ष भएको प्रगती बिबरण अनुसार नै सहयोगको मात्रा बढ्दै जाने हुँदा यो आफैंमा चुनौतीपूर्ण पनि छ । अर्कोतर्फ प्रपोजल पेशका लागि क्लबको सही छनोट गरियो वा गरिएन त्यो पनि आगामी दिनले नै बताउने छ ।