बार्सिलोनाको मुटु सग्रादा फैमिलियामा नौमती बाजा घन्कदै


फाईल तस्बिर

बार्सिलोना/ स्पेनको पर्यटकीय शहर बार्सिलोना मुटु मानिने सग्रादा फैमिलियामा नौमती बाजा घन्कने भएको छ। गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको आयोजनामा पर्यटन प्रवद्वन कार्यक्रम सहित बाजा घन्कन लागेको हो। बिश्व प्रसिद्द एक ठूलो रोमन क्याथोलिक गिरजाघर सग्रादा फैमिलिया पर्यटकका लागि आकर्षणको केन्द्रबिन्दु मानिदै आएको छ।

१ सय ३६ बर्ष अघि शिलान्यास भएर पनि अझै बनिरहेको गिरजाघर हेर्न दैनिक हजारौ पर्यटकहरुको घुईचो लाग्ने गर्छ।  सोहि चर्च अगाडी नेपाली झण्ड़ाहरुले सजिएको नेपाल चिनाउने स्टल सहित “नेपाल डे” कार्यक्रम हुँदैछ।सामुदायिक विकास योजना (प्ला कमुन्तारी) साग्रदा फ़ैमिलियाको अन्तरसाँस्कृतिक कार्यक्रम अन्तर्गत एनआरएनए स्पेनले आफ्नो देशको चिनारी सहित कार्यक्रम गर्ने मौका पाएको हो।

संघका अध्यक्ष चिन्तामणी सापकोटाले पहिलो पटक सार्बजनिक रुपमा स्पेनमा दशैको टिका तथा जमरा लगाउने कार्यक्रम समेत रहेको बताए। उनले भने,”बिदेशी समुदाय माँझ आफ्नो संस्कृति रहनसहन देखाउने मौका समेत पाएका छौ । नेपाली कला, संस्कृति,भेषभूसा तथा रहनसहन झल्कने कार्यक्रममा उपस्थित हुन स्पेनबासि नेपाली समुदायलाई अनुरोध गर्दछु।”

संघले नौमती बाजा सहितको नेपाल चिनाउने कार्यक्रमका लागि नेपाली समुदायबाट सहयोग संकलन समेत गरेको छ। यसअघि नेपाल लोकदोहोरी प्रतिष्ठानसँग संयुक्त रुपमा कार्यक्रम गरेर संघले बाजा खरिदका लागि आर्थिक सहयोग समेत गरेको थियो।

विश्व प्रसिद्ध वास्तुकला विशेषज्ञ अन्तोनी गौदीको परिकल्पना रहेको चर्च अगाडि नेपाल बिशेष कार्यक्रम हुँदा पर्यटन प्रवद्वनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

यसअघि बार्सिलोना स्थित पर्यटकीय डाँडा टिबीदाबुमा पनि नेपाली नौमती बाजा घन्किएको थियो। संघकै आयोजनामा दुई बर्ष अघि “भिजिट नेपाल,रिबुल्ड नेपाल ,वुई निड नाउ मोर देन ईभर” भन्दै जारी नेपाल महोत्सव सहित दुई दिने कार्यक्रम सम्पन्न भएको थियो।