यी हुन् बेल्जियम काँग्रेस फुट्नुका पाँच कारणहरु :


बार्सिलोना। कहिँ नभएको जात्रा हाडी गाउँमा भन्ने नेपालको प्रचलित उखान नै हो। तर हाडी गाउँलाई हटाएर अब बेल्जियम थप गर्दा पनि त्यति अस्वभाविक भने सुनिदैन। युरोपको राजधानी समेत रहेको बिकसित मुलुक बेल्जियमको आफ्नै सभ्य र बिकसित राजनीतिक ईतिहास छ तर यहाँ रहेर नेपाली राजनीति गर्ने नेपालीहरुले हाडी गाउँलाई उखानबाट बिस्थापित गर्दै बेल्जियम थप्न मलजल गरिरहेका छन्।

गुट उपगुटका कारण गत निर्बाचनमा चुर्लुङ्ग डुबेको नेपाली काँग्रेस विदेशमा पनि बचेको छैन। विदेश स्थित भातृसँस्थाहरु पनि अबस्था पनि जिल्ला-जिल्लामा जस्तै छ। त्यसको पछिल्लो ज्वलन्त उदाहरण हो नेपाली जनसम्पर्क समिति बेल्जियम।

त्यसो त केन्द्रिय नेताहरुले बेला बेला युरोप भ्रमणगर्दै आ-आफ्नो गुटलाई मलजल समेत थप्ने गरेका छन्। केहि महिना अघि युरोप भ्रमण गर्दै काँग्रेस उपसभापति बिमलेन्द्र निधि र बरिष्ठ नेता रामचन्द्र पौडेलले राम्रै गोडमेल गरे। अन्तत: नेपाली जनसम्पर्क समिति बेल्जियम दुई साता अघि देखि दुई चिरामा विभाजित छ।

बडादशैं, दीपावली, नेपाल संवत र छठको अवसर काँग्रेसले कार्यक्रम नराख्ने त कुरो नै भएन। नेपाली जनसम्पर्क समिति बेल्जियमका दुई समीतिहरुले दुई छुट्टाछुट्टै निमन्त्रणाहरु पठाए। सीता सापकोटा सभापति रहेको पुरानो निर्बाचित समिति र शुभाष गुरुङ्को सभापतिमा बनेको समानान्तर समितिले छुट्टाछुट्टै कार्यक्रमहरु समेत सम्पन्न गरेका छन्।

सापकोटा सभापति रहेको समितिले अक्टोबर २९ तारिख र त्यसको ठिक एकसाता पछि नोभेम्बर ५ तारिख अर्को समितिले छुट्टै कार्यक्रम सम्पन्न गरेको छ। आ-आफ्नो पक्षमा नेपाली समुदायको समर्थन देखाउन दुवै पक्ष खुलेर नै लागे। त्यति मात्र हैन आ-आफ्नो समिति बैधानिक रहेको दावा गर्दै चाडबाडको शुभकामाना दिने कार्यक्रमहरु एकअर्कालाई आरोप र घोचपेचमा नै सिमित बने।

जनसम्पर्क समिति बेल्जियम फुट्नुका पाँच कारणहरु:-

पहिलो कारण:-नेपाली जनसम्पर्क समिती बेल्जियमको चौथो अधिबेशनका लागि सीता सापकोटा र माधव सापकोटा अध्यक्ष पदका आ-आफ्नो प्यानल सहित निर्बाचन लडेका थिए। मार्च १२ तारिख २०१७ मा सम्पन्न निर्बाचनमा प्रत्यासी माधव सापकोटाले भन्दा २०५ मत बढी ल्याएर सभापतिमा सापकोटा निर्वाचित भईन्।

सीता प्यानल बरिष्ठ नेता रामचन्द्र पौडेल,महामन्त्री संशाक कोईराला निकट भने माधव पार्टी सभापति शेरबहादुर देउवा निकट । तत्कालिन एमालेको प्रबासी नेपाली मञ्चले भोट हालेर नै सीता बिजयी भएको देउवा पक्षको आरोप सुनिन्छ।  समितिका पुर्ब अध्यक्ष गंगाधर गौतमले यस्तो आरोप सार्बजनिक रुपमा नै लगाउदै आएका छन्। उनि काँग्रेस सभापति देउवा निकटका पात्र मात्र नभई बेल्जियम काँग्रेसलाई छिनमै युटर्न पार्ने खुबी भएका काँग्रेसीका रुपमा चिनिन्छन्।

युरोपका केहि काँग्रेसीहरु बताउँछन्,” यो सापकोटा र गौतमको लडाई हो। दुई जनाले दुईतिर मुख फर्काए भने बेल्जियमको काँग्रेस कहिल्यै एक हुँदैन।”

दोस्रो कारण :- गत बर्ष सम्पन्न एनआरएन निर्बाचन। ।जनसम्पर्क समितिको नयाँ कार्यसमितिले निर्बतमान अध्यक्ष सुबास जोशी (सन्तोष) लाई मैदानमा उतार्यो। जोशीले एमाले निकट प्रबासी नेपाली मञ्चको समेत समर्थन पाएका थिए। तर पनि  निर्बाचन हारे। आदिबासी जनजाति महासंघ लगायत माओवादी बिचारधारा रहेका समर्थकहरुको समर्थनमा लोक दाहाल एनआरएनए अध्यक्षमा बिजयी बने।

निर्बाचन त सक्कियो तर जोशीको पराजयसँगै बेल्जियम काँग्रेसमा ठुलो बिबाद र तरङ्ग पैदा भयो। सापकोटा समितिको आरोप रह्यो कि,पुर्ब अध्यक्ष गौतमकै असहयोगमा जोशीले चुनाव हारे। त्यति बेला गौतम एनआरएनए बेल्जियमका वाहलवाला अध्यक्ष पनि थिए। उनले आफ्नो निर्बाचन गर्ने काम भएको भन्दै त्यस्तो आरोपको खण्डन गर्दै आएका छन्।

तेस्रो कारण :– पात्र उनै गंगाधर गौतम। एनआरएनको ग्लोबल सम्मेलनमा युरोप संयोजकका उम्मेदवार बने। संयोजक पदमा ६ जनाको उमेद्वारी पर्यो। बेल्जियमकै एमाले निकट शिव कुमार बरुवाल बाहेक सबै उमेद्वार काँग्रेस निकट। गौतमले सार्बजनिक रुपमा नै आरोप लगाएका छन् कि, “सभापति सापकोटाले एमाले निकट बरुवालको प्रचार गर्दै हिडिंन्।मलाई मात्र हैन,जनसम्पर्क समिति आस्थावान कुनै उम्मेदवारको समर्थन रहेंन।” तर सभापति सापकोटाले गौतमको त्यो आरोपलाई ठाडै अस्विकार गर्छिन्।

चौथो कारण:- कांग्रेस उपसभापति निधिको युरोप भ्रमण। काँग्रेस उपसभापति बिमलेन्द्र निधिले पोर्चुगलको भ्रमण गरे। नेपाली जनसम्पर्क समिति युरोपको बिबाद केन्द्रमा समेत रहेको बेला निधिको भ्रमण भयो। यसलाई बैधानिकता दिने, नदिने बारे केन्द्रमा नै मतभेद छ।

बिना अधिबेशन १२ बर्ष देखि युरोप जनसम्पर्क समिति खोलेर पार्टीको बिधान बिपरित चलाएको देउवाईतर पक्षको आरोप छ। यसैबीच गत जुलाईमा पोर्तुगलमा अधिबेसन गर्ने तयारी थालियो। विवादकै बीच पार्टीका मुख्यसचिव कृष्ण पौडेलले समन्वय समितिको २१ जुलाईमा हुने भेलामा सहभागी हुन युरोपका जनसम्पर्क समितिहरूलाई पत्र पठाएपछि झनै विवाद चुलियो।

अन्तत: युरोपका नौवटा जनसम्पर्क समितिका अध्यक्षहरुले भेलामा सहभागी नहुन भन्दै संयुक्त वक्तव्य निकाले। त्यतिमात्र हैन विधानविपरीत भेलामा निधि सहभागी हुन लागेको भन्दै दु:ख समेत प्रकट गरे। युरोप भ्रमणमा आएका पार्टी उपसभापतिको अपमान गरेको देउवा पक्षहरुको आरोप रहेको छ।

पाँचौ कारण:- उपसभापति निधि नेपाल फर्केपछि एकाएक काँग्रेस बरिष्ठ नेता पौडेलले युरोप भ्रमण तय गरे। गुटबन्धिको मलजल दिन पौडेलले भ्रमण गरेको देउवा पक्षले आरोप लगाए। अझ रमाईलो त नेपाली जनसम्पर्क समिति लक्जबर्गको अधिबेशनमा देखीयो। पार्टीका मुख्यसचिव कृष्ण पौडेलले अधिबेशन प्रतिनिधि भन्दै जनसम्पर्क समिति युरोपका महामन्त्री गंगाधर गौतमको नाम खुलाउदै परिपत्र गरे। तर बरिष्ठ नेता पौडेलले गौतमलाई अधिबेशनमा प्रतिनिधि बन्नबाट रोके।

यसअघि एक अन्तर्वार्तामा  बरिस्ठ नेता पौडेलले भनेका छन्,” केन्द्रको अघिल्लो पत्र र पछिल्लो पत्रमा ठूलो अन्तरविरोध भयो । यस्तो किन भयो भन्ने मात्रै मैले प्रश्न उठाएको हुँ । केन्द्रीय मुख्यसचिवको हस्ताक्षरमा दुईहप्ता अघि एउटा पत्र,फेरि त्यसको विपरीत अर्को पत्र आयो । कार्यालयमा बसेर केही मान्छेले दुरूपयोग गरे भन्दैमा पार्टी सिङ्गै आलोकतान्त्रिक चाहिँ हुँदैन । यो लोकतन्त्रकै मिसनका लागि जन्मेको पार्टी हो । बेलाबेलामा यस्ता विकृति, विसङ्गतिहरु आउने गर्छन् । तर, यिनलाई रोक्दै अगाडि बढ्ने नै अहिलेको संघर्ष हो ।”

बिधान बिपरित काम गरेको भन्दै नेपाली जनसम्पर्क समिति युरोपका सभापति दिल गुरुङले पौडेल सहभागी हुने कार्यक्रममा नपुग्ने भन्दै बिज्ञप्ति निकाले। यता महामन्त्री गौतमले त नेपाली जनसम्पर्क समिति युरोपको दोस्रो अधिबेशन  पार्टी सभापति,उपसभापति र महामन्त्री लगायत दर्जनौ केन्द्रिय नेताहरुको उपस्थितिमा भईछाड्ने दाबीका साथ पौडेललाई अतिथि बन्न चुनौती दिदै खुल्लापत्र समेत लेखे।

यी त केहि मुख्य कारणहरु थिए। त्यो अलवाका आन्तरिक झगडा र मनमुटाव बेल्जियम काँग्रेसमा चाङ्ग बनेर थुप्रिए। अन्तत एकले अर्कालाई कारबाही भन्दै समिति अक्टोबर २३ तारिख देखि दुई चिरामा विभाजित बन्यो।

बिज्ञप्ति मार्फत एक अर्कालाई कार्बाही :-

सापकोटा सभापति रहेकै कार्यसमितिक महामन्त्री शुभाष गुरुङलाई लेटर प्याडको दुरुपयोग गर्दै बरिस्ठ नेता पौडेलको कार्यक्रमको बिरोध गरेको भन्दै बर्खास्त गयो। समितिले ४ बर्ष सम्म साधारण सदस्यबाट निष्काशन गर्ने निर्णय गरेको छ। पुर्ब अध्यक्ष गौतमलाई पनि जनसम्पर्क बिरोधि गतिबिधि पटक-पटक गरेको भन्दै समितिले सोहि किसिमको कारबाही गरेको छ।

यता उनै शुभाष गुरुङ समानान्तर समितिका सभापति बने। जनसम्पर्क समितिमा निराशा र बितृष्णा फैलाउने काम गरेको भन्दै पार्टी सभापति सापकोटालाई उनले पनि बर्खास्त गर्दै बिज्ञप्ति जारि गरे। दुई समितिहरुले आफू बैधानिक भएको दाबि गर्दै आएका छन्।

तिन पुर्ब सभापतिहरुको समर्थन सापकोटालाई :-

यसैबीच नेपाली जनसम्पर्क समिति बेल्जियमका तिन पूर्वसभापतिहरुले भने सापकोटाको समर्थन गरेका छन्। सँस्थापक सभापति ध्रुवराज पाैडेल,निर्बतमान सभापति सन्तोश जोशी(सुवाश) र पुर्ब सभापति इन्द्र बहादुर क्षेत्री )ले बिज्ञप्ति जारी गर्दै सापकोटाको समर्थन गरेका हुन्।

तिन सभापतिहरुले बिज्ञप्तिमा लेखेका छन्,“बेल्जियममा भएको गूट र ब्यक्तिको गुलामीको पक्षमा हाल भएका अनर्गल प्रचारका विरूद्धमा र वैधानिक रूपले निर्वाचित समितिको पक्षमा हामी सतिसालको रूपमा खडा रहेको कुरा बेल्जीयमवासी नेपाली समुदाय र विश्वभरि जनसम्पर्कहरूमा सँगठीत साथीहरूमा नम्र जानकारी गराउन चाहान्छौ।”

तर कतिपयले संगठनलाई एक बनाउन पहल गर्नुको सट्टा बिज्ञप्ति जारी गरेर कसैको समर्थन वा बिरोध गर्नु उचित कदम नभएको सार्बजनिक रुपमा नै टिप्पणी गरेका छन्।