स्पेनको आधुनिक कृषिप्रणाली नेपाल भित्रदै


वसन्त रानाभाट,बार्सिलोना। स्पेनको आधुनिक कृषिप्रणाली नेपालमा भित्रने भएको छ। लुम्बिनी सास्कृतिक नगरपालिकाको संरक्षकत्वमा स्पेन र नेपालका कृषि उत्पादक कम्पनिहरुबीच बुधबार म्याड्रिडमा एक सम्झौता भएसँगै यसको बाटो खुलेको हो।

सन् १९७५ देखि स्पेनका बिभिन्न शहरहरुमा फलफुल तथा तरकारी उत्पादन गर्दै आएको फ्रुतास क्यान्डिल मार्काम्याड्रिडले र बुद्व लुम्बिनी ग्रुप नेपाल लिमिटेडसँग सम्झौता गरेको छ। हाल म्याड्रिडमा रहेका लुम्बिनी सास्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरीले स्पेनको आधुनिक कृषि प्रणालीलाई लुम्बिनीमा पुर्याउने बाटो खुलेको बताए।


उनले भने,” अब लगत्तै काम पनि सुरु भईहाल्छ, लुम्बिनीको माटोको परिक्षण गर्ने र उत्पादन क्षमताको जाँच गर्ने पहिलो काम हुनेछ। म्याड्रिडमा रहेको कृषि फारमको अबलोकनका लागि लुम्बिनीबाट एउटा अफिसियल टोलीले भ्रमण गर्नेछ।” उनले सम्झौता अनुसार कामलाई प्रभावकारी बनाउनका लागि प्रदेश सरकारसँग पनि छलफल गर्ने बताए।

बुद्व लुम्बिनी ग्रुप नेपालको तर्फबाट हस्ताक्षर गरेका स्पेननिबासी एकराज गिरीले लुम्बिनीवाट ५-७ जनाको कृषक टोलीलाई यहाँ तालिम दिने ब्यबस्था गरिएको बताए। एनआरएनए युरोप उपसंयोजक समेत रहेका गिरीले भने,”फलफुल तथा तरकारीहरुको बिउ बिजन,उत्पादन,भण्डारण देखि बजार ब्यबस्थापनसम्मको ज्ञानका लागि नेपालबाट सक्रिय कृषकहरु ल्याएर ३ देखि ६ महिनासम्म तालिम दिने सहमति भएको छ।”।

आलमरिया,मुर्सिया,ग्रानाडा,मालागा लगायतका शहरहरुमा कृषि उत्पादन गरिरहेको स्पेनको एक ठुलो उत्पादक कम्पनीसँगको हस्ताक्षर कार्यक्रममा स्पेनिस नागरिक खोसे मानुवल भिलानोभा,एनआरएन अनररी परिषद् समिति सदस्य गोबिन्द सुबेदी,लुम्बिनी सास्कृतिक नगरपालिका प्रशासकीय प्रमुख अधिकृत मोहन पौडल लगायतको उपस्थिति रहेको थियो।

स्पेनको म्याड्रिड महानगरपालिका र लुम्बिनी सास्कृतिक नगरपालिकाबीच साझा समस्याहरुको संयुक्त समाधान खोज्न मदत पुग्ने गरी गत नोभेम्बरमा भगिनी सम्बन्ध कायम भएको थियो। प्रकृति, जलवायु तथा पर्यटन मेला “एक्सपोटुराल” को बिशेष अबसरमा म्याड्रिड महानगरपालिकाका प्रमुख मानुयला कार्मेना र लुम्बिनी सास्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।