फिफामा पहिलो पटक प्रहरी हस्तक्षेप


– प्रकाश ढकाल/

के नेपालमा यसको प्रभाव पर्न सक्छ ?

जुरिच,स्वीटजरल्याण्ड । भ्रष्टाचारको आरोपमा फुटबलको सर्वोच्च संस्था फिफाका कम्तिमा ७ उच्च अधिकारीहरु स्वीट्जरल्याण्डको जुरिचमा बुधबार बिहानै पक्राउ परेका विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । पेरिस स्थित एक पांच तारे होटेलमा उनीहरु पक्राउ परेका हुन् । यो पक्राउ अमेरिकी दवाव अनुसार भएको जनाइएको छ । किनकि फिफा एक अन्तराष्ट्रिय संस्था भएकोले अमेरिकाले आफ्नो देशको अदालतमा मुद्धा चलाउने बताईसकेको छ । तर पक्राउ परेका कोहि पनि अमेरिकी नागरीक भने होइनन ।
फिफाको शुक्रबार हुने साधारण सभा तथा अध्यक्ष चयनको निर्वाचनको लागि जुरिच आइपुगेका अधिकारीलाई स्थानीय समय अनुसार बुधबार विहान उनीहरु बसेको होटलबाटै पक्राउ गरिएको हो ।  स्विस प्रहरी सिभिल पोशाकमा होटेलको रिसेप्सनमा गइ उनीहरु बसेको कोठाको चाबी लिएर कोठामा प्रवेश गरी पक्राउ गरेको बताइएको छ ।

घूस लिएको आरोपमा फिफका ७ अधिकारी पक्राउ परेको स्वीट्जरल्याण्डका अधिकारीलाई उद्धृत गर्दै बी. बी. सीले लेखेको छ । जुरिचमा पक्राउ परेकाहरुलाई अमेरिकी अधिकारीको अनुरोध अनुसार सुपुर्दगी गर्न सकिने स्वीटजरल्याण्डका अधिकारीले बताएका छन् । पक्राउ पर्नेमा उत्तर अमेरिकी देश केमन आइल्याण्डका तथा फिफाका उपाध्यक्ष जेफ्री वेब्ब, कोस्टारिका फुटबल महासंघका अध्यक्ष इडुरादो लि, उरुग्ग्वेका युगेनिओ फिगुरेडो जो दक्षिण अमेरिकी फुटबल महासंघका अध्यक्ष पनि हुन् । यसैगरी पक्राउ पर्ने अन्यमा ब्राजिलका जोसे मारिया मारिन जो फिफा क्लब समितिका सदस्य पनि हुन्, निकारागुवाका जुलियो रोचा जो फिफाका विकास अधिकृत पनि हुन्, बेलायतका कोस्टास टाकास जो कन्क्याफ फुटबल महासंघसंग आवद्ध रहेका थिए र भेनेजुएला फुटबल महासंघका अध्यक्ष राफेल इस्कुइभेल रहेका छन् ।

Screen Shot 2015-05-28 at 22.57.21

पक्राउ परेकाहरु – तस्वीर स्रोत : बी.बी.सी. डट कम

स्वीटजरल्याण्डको संघीय न्याय कार्यालयले जारी गरेको विज्ञप्तीमा लाखौं डलर घूस लिएको अमेरिकी अधिकारीको आशंकाको आधारमा उनीहरु पक्राउ परेका हुन् ।
फिफाका हालका अध्यक्ष सेफ ब्लाटर तीसौं वर्ष देखि फिफामा राज जमाई रहेका व्यक्ति हुन् । जो चार चार पटक फिफाको अध्यक्ष रहिसकेका छन् र अब शुक्रबारदेखि हुने नयाँ अध्यक्षको निर्वाचनमा पाँचौं पटकको लागि अध्यक्षमा उम्मेदवारी दिनै लागेको बखत यो भ्रष्ट्राचार काण्ड बाहिर आएको हो । ब्लाटर संग जोर्डनका युवराज अलि अध्यक्षमा प्रतिश्पर्धा गर्दै छन् । ब्लाटर पहिले देखि नै विवास्पद रहँदै आएका छन् । हिजोको गिरफ्तार पछि चर्चित फुटबल खेलाडी डिएगो म्याराडोनाले ब्लाटरलाइ फेसबुकमा ‘चोर’ को संज्ञा दिएका छन भने फुटबल फ्यानहरुले विश्वभर यो काण्डको विरोध गरेका छन ।

यसैबीच फिफाको मुख्य प्रायोजक कम्पनी भिजा, कोकाकोला, हुन्डाइ, एडिडास लगायतले यहि अवस्था रहेका भएका सबै सम्झौता रद्ध गर्ने चेतावनी दिएका छन् । फिफाले यिनै कम्पनीहरु मार्फत अरबौं डलर आम्दानी गर्दै आएको छ ।

कसरी हुन्छ भ्रष्ट्राचार ?
फिफाले संसारका विभिन्न देशमा महादेश अनुसार बजेट छुट्टयाने गर्दछ र सोहि महासंघ मार्फत ती महादेशमा रहेका देशमा फुटबल खेलको विकासको लागि गोल प्रोजेक्ट अन्तर्गत विविध शिर्षकमा रकम दिने गर्दछ । तर देशका फुटबल महासंघले त्यो आएको रकम मध्य फुटबलको विकासमा थोरै मात्र खर्च गरी बाँकी भ्रष्ट्राचार गर्ने गरेको यस अघि धेरै मिडियामा आइसकेको हो । यसरी नै आएको रकम खर्च नगरी कागजमा मात्र योजना देखाउने र सबै पैसा खर्च भएको देखाउने गरेकोले भ्रष्ट्राचार बढेको थियो ।

नेपालमा असर गर्ला ?
नेपालमा पनि यसअघि नै हालका अध्यक्ष तथा सभासद गणेश थापालाई करोडौं रुपैंया लुकाएको र अनिधिकृत रुपमा विदेशी बैंकबाट उनको र उनको छोराको खातामा रकम आएको बताइए पनि उक्त रकम नेपालको नभएकोले त्यती चासो दिइएन तर उक्त रकम गोल प्रोजेक्ट अन्तर्गत आएको र नेपालमा फुटबलको विकासमा लगाउने प्रतिवद्धता अनुरुप आए पनि उक्त रकमको सहि सदुपयोग नभएको आवाज नउठेको पनि होइन पनि राजनीतिक संरक्षणमा उनिमाथि कारबाही गर्न सरकार र यसका संयन्त्र हच्किएको थियो । तर यो गिरफ्तार काण्ड पश्चात नैतिक दवाव पर्न सक्ने भने देखिन्छ । थापामाथि पुर्व एशियाली फुटबल महासंघका पुर्व अध्यक्ष मोहम्मद बिन हमाम मार्फत पैसा लिएको आरोप लाग्दै आएको थियो । फिफाको माथिल्लो निकायमा निर्वाचत हुन हमामले थापाको भोट पाउनको लागि पैसा दिएको आरोप थियो तर पछि फिफाको अनुसन्धानले यसको पुष्टि नभएको भनेर एशियाली फुटबल महासंघले प्रेस वक्तव्य निकालेको थियो । अनौठो के छ भने फिफाभित्र हुने गरेको अरबौं भ्रष्ट्राचार सम्बन्धी मुद्धाहरु फिफाले नै अनुसन्धान गर्ने गरेको थियो तर यस पटक अमेरिकाको दवाव अनुरुप प्रहरीले हस्तक्षेप गरेपछि त्यसको नैतिक दवाव फिफाका सबै सदस्य राष्ट्रहरुलाई पर्ने देखिन्छ ।