एनआरएन युरोपियन बैठक स्थगित, भूकम्प पिडितको सहयोगमा ध्यान केन्द्रित गर्ने


– वसन्त रानाभाट
बार्सिलोना/
गैर आवासीय नेपाली संघको आठौ युरोपियन क्षेत्रीय बैठक तथा छैटौ महिला सम्मेलन स्थगित भएको छ। देशमा बिनाशकारी महाभूकम्प पछि, पुनर्निमाण र पुर्नस्थापनामा जुट्न गैर आबासीयहरुले ध्यान केन्द्रित गर्नु पर्ने भन्दै सम्मेलन स्थगित भएको हो। राष्ट्रिय समन्वय परिषद् डेनमार्कले आगामी जुन २० र २१ तारिक कोपेनहेगनमा सम्मेलनको आयोजना गरेको थियो।

अन्तराष्ट्रिय समन्वय परिषद युरोप क्षेत्रका संयोजक अर्जुन कुमार श्रेष्ठ,उप संयोजक सोम सापकोटा र आयोजक एनआरएनए डेनमार्कका अध्यक्ष दिपक सापकोटाद्वारा जारी संयुक्त बक्तब्यमा, उचित स्रोत र साधनको प्रयोग गरि बिपत ब्यबस्थापनमा जुट्न गैरआबासीयहरुले सुझाब दिएकोले निर्धारित कार्यक्रम अनुसारको वैठक स्थगित गरिएको उल्लेख छ।

तर टेली कन्फ्रेन्स कल मार्फत् युरोप क्षेत्रीय बैठक निर्धारित मितिमा नै सम्पन्न गर्ने बक्तब्यमा जनाईएको छ। बिभिन्न एजेण्डाहरु सहित युरोप क्षेत्रका २७  राष्ट्रका प्रतिनिधिहरु बीच आगामी जुन २१ तारिक टेली कन्फ्रेन्स मार्फत बैठक बसी छलफल हुने भएको हो।

बैठक गर्ने वा नगर्ने बारे ब्यापक छलफल

भूकम्पले अति प्रभावित भएका १३ जिल्लाका करिव १७ हजार परिवारलाई राहत वितरण गरेका गैर आबासीयहरु युरोपियन क्षेत्रीय बैठकको बिषयमा ब्यापक छलफलमा जुटे। आन्तरिक छलफल मात्र नभई बैठक गर्ने र नगर्ने तर्क सहित सामाजिक संजालमा समेत प्रस्तुत भए।

संघका कोषाध्यक्ष बद्री केसीले सम्मेलन स्थगित गर्नु पर्ने कारण सहितका बिचारहरु सार्बजनिक गरेका थिए। केसीको बिचारमा सहमत जनाउँदै संघका पुर्ब अध्यक्ष जीवा लामिछाने पनि भेला र सम्मेलन गर्ने समय नभएको टिप्पणी गरेका थिए।

तर कतिपयले भूकम्प पिडितहरुकै सहयोगार्थ केन्द्रित गरेर सम्मेलन गर्नु पर्नेमा जोड दिदै आएका थिए। गैरआबासीयहरुको बढी मात्रामा सम्मेलन स्थगित हुनु पर्ने आवाज आए पछि, निर्धारित योजना अनुसारका कार्यक्रम स्थगित गरि टेली कन्फ्रेन्स मार्फत मात्र बैठक हुने बक्तब्य सार्बजनिक भएको हो।

संघको आठौ युरोपियन क्षेत्रीय बैठक तथा छैटौ महिला सम्मेलनका लागि आयोजक एनआरएनए डेनमार्कले सम्पूर्ण तयारी पुरा गरेको जनाएको थियो।