एनआरएनए युरो कपले फुटबल प्रेमी उत्साहित


वसन्त रानाभाट
स्पेन/
युरोपियन फुटबलको महाकुम्भ “युरो कप” आउँन एक बर्ष अगाबै युरोपबासी नेपालीहरुले यसको झल्को मेटाउने भएका छन्। गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्विजरल्याण्ड एबं स्विसबासी नेपालीहरुको आयोजनामा हुने “एनआरएनए युरो कप” फुटबल प्रतियोगिताले युरो कपको झल्को दिने भएको हो। यो सँगै युरोपमा रहेका फुटबलप्रेमी नेपाली खेलाडी तथा दर्शकहरु निकै उत्साहित बनेका छन्।

आगामी जुन २७ र २८ तारिक  स्विजरल्याण्डको आराउमा हुने प्रतियोगितामा युरोपका ११ मुलुकहरूबाट १६ टिमका खेलाडीहरु बीच प्रतिस्पर्धा हुने भएको छ। युरोपमा ब्यबसायिक फुटबल खेलीसकेका खेलाडीहरु पनि सहभागी हुने अपेक्षा गरिएको छ।

आयोजकले सार्बजनिक गरेको तालिका अनुसार प्रतियोगितामा बेल्जियमबाट सर्बाधिक ५, जर्मनीका २ र स्पेन,ईटली,फिनल्याण्ड,पोर्चुगल,नेदरल्याण्ड,लक्जम्बर्ग,डेनमार्क,नर्बे र स्विजरल्याण्डबाट गरि एक- एक वटा टिमले भाग लिने भएका छन्।

फिफा बरियता क्रममा दोस्रो स्थानमा रहेको बेल्जियमबाट मात्रै ५ टिमले भाग लिनुलाई निकै महत्वका साथ हेरिएको छ। फुटबल ईतिहासमा नै पहिलो पटक बरियताको दोस्रो स्थानमा उक्लिएको बेल्जियममा रहेका नेपालीहरु बीच फुटबल लोक प्रिय बन्दै जानुले पनि सहभागिता बढेको हो।

देशमा गएको विनाशकारी भूकम्पले युरोपबासी नेपालीहरु पनि मन क्षत विक्षत भई रहेको बेला फुटबल प्रतियोगीता आयोजना हुँदा केहि समय भए पनि मनोरन्जन मिल्ने अनुमान गरिएको छ। खेल हेर्न गैर आबासीय नेपाली संघका अभियन्ताहरु स्विजरल्याण्ड जाने भएका छन्।

बिजेता,उप बिजेता र तेस्रो टिमलाई पनि नगद पुरस्कार

“एनआरएनए युरो कप” फुटबल प्रतियोगिताको बिजेता टिमले दुई हजार एक सय स्विस फ्रान्क ( करिब २ लाख ३० हजार रुपैयाँ) पाउने भएको छ।

यस्तै उप बिजेताले एक हजार तिन सय स्विस फ्रान्क ( करिब १ लाख चालिस हजार रुपैयाँ ) र तेस्रो हुने टिमले सात सय स्विस फ्रान्क ( करिब ७५ हजार रुपैयाँ ) पाप्त गर्ने आयोजकले जनाएको छ।टिम दर्ता शुल्क ७ सय युरो राखेको आयोजकले दुई दिन सम्मका खेलाडीहरुको लागि बस्ने र खाने ब्यबस्थाको प्रबन्ध मिलाएको छ।

प्रतियोगिताको सम्पूर्ण तयारी भएको जनाउँदै आयोजकले खेलका लागि टाईसिट पनि सार्बजनिक गरेको छ।

11354468_10206079858628462_150756221_o-1-2