एनआरएन अध्यक्ष शेष घले, सरकारको विशेष दूतमा नियुक्त


काठमाडौं— मन्त्रिपरिषदले गैरआवासीय नेपाली संघ (एनआरएन) अध्यक्ष शेष घलेलाई सरकारको विशेष दूतमा नियुक्त गरेको छ।

राष्ट्रिय पुनर्निर्माण कोषमा वैदेशिक सहयोग जुटाउनका लागि आइतबार बसेको मन्त्रिपरिषद बैठकले विदेश स्थित संघसंस्था र विदेशी दातृ निकायहरुलाई नेपालको पुनः निर्माणमा सहभागी हुन उत्प्रेरित तथा सहभागी गराउने कार्यभार सहित उनलाई सो पदमा नियुक्त गरिएको हो।

वैशाख १२ को विनाशकारी भूकम्पपछि घले नेतृत्वको एनआरएन राहत र उद्धारमा सहभागी थियो। पहिलो चरणमा १४ हजार पीडितलाई राहत वितरण गरेपछि दोस्रो चरणमा १ हजार घर निर्माणको आकांक्षा एनआरएनले देखाइरहेका बेला सरकारले उनलाई विशेष दूतमा नियुक्त गरेको हो।

घले र उनकी पत्नी जमुना गुरुङले नेपालमा निजी स्तरको सबैभन्दा ठूलो एक अर्बको परोपकारी कोष स्थापना गरेका छन् ।

अष्ट्रेलियाको सन् २०१५ का सबैभन्दा धनी २ सय व्यक्तिको सूचीमा घले ५२ करोड ८० लाख डलर सम्पत्तिसहित ९९ औँ स्थानमा छन् ।