ढलेको धरहरा खोतल्दै………


बार्सिलोना/

ढलेको धरहरा खोतल्दै
थर्केको सगरमाथा नियाल्दै
स्तब्ध स्तब्ध निशब्द भई
म खोजिरहेछु आफु अनि तिमीलाई
मान्छे निल्ने यी खन्डहर -हरुमा

यो प्रकृती र म बिचको लडाइ
जो जित्न सक्दिन म कहिल्यै
अनाहकमै मिचिन्छ जीवन बिचमा
तर लडिरहने छु सिसिफस भएर
बौरने छु फेरी फिनिक्स भएर
जती मार्छ त्यस्ले तिमी र मलाई

देशमा बिनाशकारी महाभूकम्प गए पछि बरिष्ठ गीतकार तिर्थ तामाङ्ले माथिका भावानाहरुलाई कोरे।सामाजिक संजाल फेसबुक मार्फत उनीले सार्बजनिक समेत गरे।

कर्णदासले गाएको ब्यर्थै फेरि घाईते मुटु, कन्दराका बिबेक श्रेष्ठको ,”म आफैँ धमिलो कहाँ थिए र ?,” गायक बिनोद बानियाँको स्वरमा रहेको “सक्छौ भने ओखती बनाउँ देश आज बिरामी छ” जस्ता थुप्रै चर्चित र मार्मिक गीतहरुको रचना गरिसकेका तामाङ्को पछिल्लो सृजनाबाट स्पेनमा रहेका नरेश कार्कीको मन छोयो।

प्रगती ईङ्लिस बोडीङ् स्कूल बाटुलेचौर पोखरामा अध्ययन गर्ने क्रममा स्कुले जीवनमा पनि नरेशले तामाङ्को रचनामा रहेको गीतमा आबाज दिएका थिए। सोही विद्यालयमा पढाउँदै आएका तामाङ्को रचनामा प्रगति स्कुल गायक समुहले एक दशक अगाडि अंकुर एल्बम बजार ल्याएको थियो।

गायक कार्कीले नेपालीनेपाली डटकम सँग कुराकानी गर्दै भने,”कस्तो संजोग गुरु र चेलाको फेरि भेट भएको छ ,उहाँलाई सम्झदा स्कुलको याद आउँछ,मैले गाउँछु भन्दा एक बचनमा नै अनुमति दिनु भयो,यो मेरो सौभाग्य पनि हो।”

विदेशको ठाँउमा गीतलाई रेकर्ड गरेर तयार गर्नु सजिलो छैन,यो बिषयमा प्रसिद्द बाँसुरी बाधक बिनोद कटुवालसँग सल्लाह गरे उहाँको सहयोग र साथले नै गीतको रेकर्ड गर्न सक्यौ उनले भने। गीतमा कटुवालले बाँसुरीको धुन प्रयोग गरेका छन्।

गीतमा नरेशको स्वर र संगीत रहेको छ।उनले भूकम्प पछि सामजिक संजाल र ईन्टरनेटमा उपलब्ध भिडियो तथा तस्बिरहरु साभार गरेर भिडियो समेत तयार गरेका छन्।

स्पेनमा नेपाली कलाकारहरुको बसाई बाक्लो हुँदै गएको बेला यतै गीतहरु रेकर्ड गराउँने क्रम पनि बढ्दो देखिन्छ। बिनाशकारी भूकम्प पछि थुप्रै गीतहरु आईरहेको बेला स्पेनबाट पनि कलाकारहरुले प्रयास गर्दै मनको बेदनालाई संगीतमा ढालेका छन्।