पुनर्निमाणमा जोड दिदै, एनआरएन युरोपियन टेली कन्फ्रेन्स सम्पन्न


बसन्त रानाभाट/ स्पेन

भूकम्प पीडितहरुलाई घर टहरा बनाउँन केन्द्रित गर्ने संकल्प बोक्दै गैर आबासीय नेपाली संघको युरोपियन क्षेत्रीय बैठक सम्पन्न भएको छ ।

देशको पुनर्निमाण जुट्ने भन्दै एक हजार घर निर्माण गर्ने संघको यस अघिको प्रतिबद्दतालाई बैठकले दोह्राएको हो ।

डेनमार्क,कोपेनहेगनको हिल्टन होटलमा हुने भनिएको आठौ युरोपियन बैठक तथा छैटौ महिला सम्मेलनलाई स्थगित गर्दै टेली कन्फ्रेन्स मार्फत बैठक सन्पन्न भयो । आईतबार सम्पन्न बैठक ४ घण्टा लामो समय सम्म चलेको थियो ।

गैर आबासीयहरुलाई बिशेष जिम्मेबारी थपिएको छ – अध्यक्ष घले

बैठकलाई सम्बोधन गर्दै गैर आबासीय नेपाली संघका केन्द्रिय अध्यक्ष शेष घलेले आँफुहरुमा ठुलो जिम्मेबारी थपिएको बताएका छन् ।

11209641_549229531884646_8023708031194918500_n

देशमा गएको भूकम्प पछि राहत संकलन एबम् बितरणमा राष्ट्रिय समन्वय परिषदहरुले खेलेको भूमिकाको प्रशंसा गर्दै अब सबै पुर्निमाणमा जुट्नु पर्नेमा जोड दिए ।

बैठकले संघका अध्यक्ष घलेलाई बिशेष दुतमा नियुक्त गरेकोमा नेपाल सरकारलाई आभार प्रकट गरेको छ । सरकार सँग समन्वय गरेर दोस्रो चरणको पुर्निमाणको कार्यमा जुट्न बक्ताहरुले जोड दिएका थिए ।

युरोप क्षेत्रका १९ देशका ६३ प्रतिनिधि सहभागी

युरोप क्षेत्रीय स्तरको टेली कन्फ्रेन्समा १९ देशका ६३ प्रतिनिधिहरुले सहभागिता जनाएका थिए ।

युरोपमा २७ बटा राष्ट्रिय परिषद भए पनि बाँकी ८ मुलुकका प्रतिनिधिहरुको सहभागिता भने देखीएन । राष्ट्रिय परिषद्का अध्यक्षहरुले आ- आफ्ना गतिबिधीहरु सहित प्रतीबेदन सुनाएका थिए ।

अन्तराष्ट्रिय परिषद् सदस्य तथा सलाहकारहरुले भने देश पुनर्निमाणका लागि गैर आबासीयले खेल्न सक्ने भूमिका बारे चर्चा गरेका थिए। यस्तै महिला संयोजक सफिला राज भण्डारी र उप संयोजक रजनी प्रधानले महिलाहरुको अवस्था र भोगिरहेका समस्याहरुको बारेमा वैठकमा जानकारी गराए ।

राष्ट्रिय परिषद्हरुको गतिबिधिलाई समेटेर बर्षको अन्त्य तिर स्मारिका निकाल्ने तयारी गरेको युरोप क्षेत्रले जनाएको छ ।

यस्तै आगामी युरोपियन वैठकको आयोजना बारे टुंगो लगाउन ईच्छुक मुलुकहरुलाई लिखित रुपमा ईच्छा पत्र पठाउन अपिल समेत गरेको छ ।

बैठकले आगामी जुन २७ र २८ तारिक स्विजरल्याण्डको आराउमा हुने “एनआरएनए युरो कप” फुटबल प्रतियोगितालाई सफल बनाउँन सहयोग गर्ने निर्णय गरेको छ।

वैठकमा भुकम्प पिडितहरुको सहयोगका लागि एक करोड भन्दा बढी रकम जुटाएका स्पेन र ईटलीको प्रशंसा गर्दै पटक पटक उदाहरण प्रस्तुत गरिएको थियो । कतै प्रशंसा भईरहेका कतै गैर आबासीयहरुका गुनासा पनि बैठकमा नै पोखिए।

IMG_0019           फाईल तस्बिर

एनआरएनए युके अध्यक्ष महेन्द्र कडेलले आँफुलाई पुर्ब अध्यक्षहरुबाट असह्योग भएकोले नै बेलायतबाट एनआरएले सोचे अनुरुप रकम जुटाउँन नसकेको बताएका थिए।

युरोप संयोजक अर्जुन कुमार श्रेष्ठको अध्यक्षता सम्पन्न बैठकको संचालन उप संयोजक सोम सापकोटाले गरेका थिए ।

विधान अनुसार निर्वाचन गरौ

संघका महासचिव कुमार पन्तले बिश्व सम्मेलन अगाबै हरेक राष्ट्रिय परिषद्हरुले बिधान अनुसार अधिबेशन गर्नु पर्नेमा जोड दिए । उनले संघलाई चुस्त दुरुस्त बनाउँन सबैले नियमावलीको पालना गर्नु पर्ने बताए ।

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्ले यस अघि निर्वाचनसम्बन्धी नियमावली पारित गर्दै राजनीतिक, जातीय वा धार्मिक संगठनको कार्यकारी पदमा कायम रहेकै अबस्थामा एनआरएनको कार्यसमितिमा उम्मेदवार बन्न नपाउने निर्णय गरेको थियो ।

गैरआवासीय नेपाली संघमा राजनीतिक तथा जातीय स्वार्थ बढ्न थालेको आवाज उठेपछि संघले गैर राजनीतिक, गैर जातीय र गैर धार्मिक चरित्रलाई थप मजबदु बनाउन यस्तो निर्णय गर्नुपरेको बताएको थियो।

राजनीतिक, जातीय वा धार्मिक संस्थामा आबद्ध ब्यक्तिले एनआरएनको केन्द्रीय वा राष्ट्रिय परिषद्को कार्यकारी पदमा उम्मेदवार बन्न चाहेमा त्यस्ता संस्थासँग आबद्धता तोडेको प्रमाण पेश गर्नुपर्ने संघको निर्णय थियो।

यस्तै संघका कोषाध्यक्ष बद्री केसीले स्थापना काल देखि केन्द्रमा प्रतिनिधित्व गर्ने सदस्यहरुले शुल्क बुझाउँन बाँकि रहेको बताउँदै नामावली पढेर सुनाएको बैठकमा सहभागीहरुले जानकारी दिएँ।

जोगिएको खर्च पुर्ननिमाण तिर

कोपेनहेगनको हिल्टन होटलमा हुने भनिएको बैठक स्थगित हुँदा हजारौ युरो खर्च हुनबाट जोगिएको छ। बैठकमा बिभिन्न देशबाट गरि करिब १५० देखि २०० सम्म गैर आबासीयहरु सहभागि हुने अनुमान गरिएको थियो।

बैठक पछि युरोप उप संयोजक सोम सापकोटाले नेपालीनेपाली डटकम सँग  कुराकानी गर्दै भने,”हामी प्रत्येक संभावित सहभागीहरुबाट ३ सय युरो उठाउँने पहल गर्छौ । यसो गर्दा ५०- ६० हजार युरो संकलन हुन आउँछ। बैठकमा भाग लिदाँ लाग्ने खर्च उठाएर पुनर्निमाण कार्यमा सघाउँने छौ।”

युरोप क्षेत्रको सो कार्यमा साथ दिन सापकोटाले गैर आबासीयहरुलाई अनुरोध समेत गरेका छन्।