डा.बद्रि केसीको एनआरएनए महासचिवमा उम्मेदवारी घोषणा


मस्को / गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिको महासचिव पदमा वर्तमान कार्यसमितिका कोषाध्यक्ष डा. बद्रि केसीले उम्मेदवारी दिने घोषणा गरेका छन् । हालै मस्कोमा भएको गैरआवासीय नेपालीहरुको भेलामा उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

‘गैरआवासीय नेपाली अभियान सुरु भएको दिनदेखि नै म यसमा सक्रियतापूर्वक लागिरहेको छु’ केसीले भने- बिभिन्न समयमा मैले एनआरएनए भित्र रहेर गरेको योगदान र कोषाध्यषका पछिल्ला दुई बर्षदेखिको सक्रियताको मूल्याङ्कन गर्दै मेरो उम्मेदवारीलाई समर्थन गर्नुहुनेछ भन्ने मैले अपेक्षा लिएको छु ।’

हाल रसियामा बसोबास गर्दै आएका डा. केसीले आफु कुनै पनि प्यानलको उम्मेदवार नभई संस्थालाई राजनीतिक हस्तक्षेपमुक्त र सामाजिक दायित्वमा अग्रसर बनाउने लक्ष्यसहित चुनावी मैदानमा भिड्न लागेको बताए ।

डा. केसी सन् २००७ देखि ०९ सम्म एनआरएन रसियाको महासचिव थिए भने सन् २००९ देखि ०१३ सम्म लगातार दुई कार्यकाल रसियाको प्रतिनिधित्व गर्दै आईसीसी सदस्य रहेका थिए । यी चार बर्ष नै उनी नेपाली बस्तुको बिदेशमा प्रर्बद्धन गर्ने समितिको अध्यक्षसमेत थिए ।

साथै उनले सन् २०११ मा रसियामा भएको छैटौं क्षेत्रीय सम्मेलन र मस्कोमा निर्मित नेपाल हाउसको निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

सन् २०१३ मा भएको निर्वाचनबाट एनआरएनए आईसीसी कोषाध्यक्ष चुनिएका उनी संस्थाको आर्थिक दिगोविकाश समितिका अध्यक्षसमेत हुन् । नेपालमा भूकम्प गएपछि एनआरएन अध्यक्ष शेष घलेको नेतृत्वमा संचालित राहत अभियानमा उनी पनि सक्रिय रुपमा सहभागि थिए ।
अक्टोबरमा हुन लागेको अधिवेशनको मिति नजिकिदै जाँदा मुख्य पदहरुमा पनि उम्मेदवारी घोषणा हुन थालेको छ । बर्तमान अध्यक्ष शेष घलेमाथि एक कार्यकाल दोहोर्‍याउन दबाब परिरहेको भए पनि उनले अहिलेसम्म केही बोलेका छैनन् ।