कैलालीमा प्रहरीले गोली नचलाउँनु कारण के थियो ? भाग्यले बाँचेका एसपीको भनाई ….


भाग्यले बाँचेका सशस्त्रका एसपी भन्छन्- आन्दोलनकारी छापामार शैलीमा आएका थिए
काठमाडौं । सोमबार टीकापुरमा भएको हिंसात्मक झडपमा अञ्चल प्रहरी प्रमुख लक्ष्मण न्यौपानेसहित ७ सुरक्षाकर्मीले ज्यान गुमाए । शान्तिपूर्ण भनिएको आन्दोलनमा उच्च पदस्थ प्रहरी अधिकारी मारिएको सम्भवत यो नै पहिलो घटना हो ।

आखिर त्यहाँ के भएको थियो जसले गर्दा प्रहरीका उच्च अधिकारी नै मारिए ?
सोही घटनामा मुस्किलले बाँचेका सशस्त्र प्रहरीका एसपी लक्ष्मण बहादुर सिंहले घटनाबारे यसरी सुनाए-

एसएसपी लक्ष्मण न्यौपाने र म एउटै गाडीमा घटनास्थल गएका थियौं । उहाँको गाडी अगाडि नै गइसकेकाले ‘आज भाइकै गाडीमा जाउँ’ भन्नु भयो । हामी चोकमा पुग्दा झडप सुरु भइसकेको थियो ।

झडपलाई रोक्न सुरक्षाकर्मीले पहिले अश्रुग्यास हानेको थियो । तर, आन्दोलनकारीले एकैचोटी चारैतिरबाट घेरे र हामी बिचमा पर्‍यौं । आन्दोलनकारीको भिड ठूलो थियो । त्यो भिडमा हामी आधाआधा भयौं । एसएसपी साबले भाइहरु केही नगर भनेर सम्झाउँदै हुनुहुन्थ्यो । तर, भिडले सुनेन् र दुःख घटना हुनपुग्यो ।

आन्दोलनकारी छापामार शैलीमा आएका थिए । झडपका क्रममा उनीहरुले ढुंगा धेरै हाने । बढी सुरक्षाकर्मी ढुंगा लागेर घाइते भएका छन् । म आफैं पनि दुई पटक ढुंगाले लागेर ढलेँ । सञ्चार सेटमा कुरा गरिरहँदा ढलेपछि अंगरक्षकले तानेर बचाए । तर, मेरो अंगरक्षक हवल्दार रामबिहारी थारुले ज्यान गुमाए । उनलाई आगो लगाएर मारेका रहेछन् ।

चारैतिरबाट ढुंगा हानेपछि घाइते भएका सुरक्षाकर्मीको उद्धार गर्न खोज्यौं । तर, उनीहरुले चारैतिरबाट घेेरेकाले हामी निस्कन सकेनौं । दुई ठाउँबाट निस्कने प्रयास गरेका थियौं । हामीले त्यसका लागि अश्रुग्यास र हवाइ फायर गरेका थियौं । अश्रुग्यास हान्दा हावाले हामीतिर ल्याइदियो, त्यसले झन् गाह्रो भयो ।

सुरक्षाकर्मीहरुले किन गोली नचलाएको भन्ने पनि प्रश्न गरेको सुनियो । तर, भिडमा संयमता अपनाएर ‘ट्याक्टिकल्ली’ हृयाण्डल नगरेको भए ठूलो मानवीय क्षति हुन सक्थ्यो।

आन्दोलनकारीले केही दिनअघिदेखि नै गुलेली प्रयोग गर्दै आएका थिए । हिजो भने केहीसँग घरेलु हतियार भाला लगायत पनि थिए । एक दुई ठाउँमा भरुवा बन्दुक प्रयोग भएको भन्ने खबर आएको छ ।

तर, यो सबै थरुहट पक्षले नै गरेको हुन भन्न सक्ने अवस्था छैन् । यसमा घुसपेठ भएको देखिन्छ । माओवादी पूर्व लडाकूहरु आन्दोलनमा प्रयोग भएका छन् । उनीहरुलाई ल्याइएको भन्ने हामीलाई रिपोर्ट आएको छ । बर्दियादेखिका मानिसहरु आएको पाइएको छ ।

अघिल्लो दिन मात्र शान्तिपूर्ण आन्दोलन गर्ने भनेर सर्वपक्षीय सहमति भएको थियो । हामी त्यही अनुसार अघि बढेका थियौं, यस्तो हिंसात्मक घटना हुन्छ भनेेर सोचेका थिएनौ ।  हाम्रा सहकर्मीहरुले ज्यान गुमाए तर हामीले हामीले भिडमाथि गोली बर्साएनौं ।

घटनामा दुई वर्षको बालक टेकेन्द्र साउदको मृत्यु भएको छ । उनी सशस्त्र प्रहरीका सहायक हवल्दार नेत्र साउदका छोरा भएको खुलेको छ । अहिलेसम्म नेपाल प्रहरीका एसएसपीसहित पाँच र सशस्त्र प्रहरीका दुई सुरक्षाकर्मीको मृत्यु भएको छ ।
(अनलाइनखबरसँगको कुराकानीमा आधारित)