एनआरएन अध्यक्ष शेष घले पुन: युरोप आउँदै


बार्सिलोना/ गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष शेष घले पुन: युरोप आउँने भएका छन्। संघको आगामी अक्टोबरमा हुने ग्लोबल सम्मेलन नजिकिदै गर्दा घलेले पुन: युरोपको भ्रमण गर्न लागेका हुन्।

देशमा भूकम्प जाँदा गैर आबासीयहरुले पुर्याएको योगदान स्वरूप,यस अघिको जस्तै धन्यबाद तथा आभार प्रकट कार्यक्रमका लागि अध्यक्ष घले आउँन लागेको एनआरएन युरोपले जनाएको छ। अध्यक्ष घले अमेरिकामा रहेका गैर आबासीयहरु सँग छलफल गरी सेक्टेम्बर १५ तारिक ईटाली आउँने भएका हुन्।

यसैबीच गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ईटालीले सूचना जारी गर्दै अध्यक्ष घलेको उपस्थितिमा धन्यबाद तथा आभारका लागि कार्यक्रम तय गरिसकेको छ। संघले सेक्टेम्बर १५ मंगलबारनै अपरान्ह ४ बजे देखि कार्यक्रम तय गर्दै उपस्थित हुन ईटालीबासी गैर आबासीय नेपालीहरुलाई अनुरोध समेत गरेको छ। सोहि दिन अध्यक्ष घले अमेरिका हुँदै ईटली आउँने भएका छन्।

आधिकारिक रुपमा अहिले सम्म ईटालीको लागि मात्र कार्यक्रम तय भए पनि अध्यक्ष घलेले पोर्चुगल र बेलायतको पनि भ्रमण गर्ने बताईएको छ। गत महिना मात्र युरोपको भ्रमण गरेका घलेले जर्मनी,नेदरल्यान्ड्स, बेल्जियम,लक्जम्बर्ग,फ्रान्सका र स्पेनका एनआरएनहरु सँग छलफल गरेका थिए।

भूकम्पमा सहयोग पुर्याएको भन्दै घलेले गैर आबासीयहरुलाई धन्यबाद र आभार प्रकट गर्ने कार्यक्रम भएता पनि युरोपका एनआरएनहरुले पुन : नेतृत्व लिन उनलाई दबाब दिएका थिए।

अध्यक्ष घलेले कतार,युएईका एनआरएनहरु सँग पनि छलफल गरिसकेका छन्। घलेले अब संयुक्त राज्य अमेरिकाबासी गैर आबासीयहरुसँग छलफल गर्दै पुन: युरोप आएर भ्रमण टुंगाउँने भएका हुन् ।

युरोपको भ्रमण पछि भने गैर आबासीयहरुको सुझावलाई मध्यनजर गर्दै घलेले पुन: नेपाल पुगेर अध्यक्षमा उम्मेद्वारी घोषणा गर्ने अपेक्षा एनआरएन वृतमा चलेको छ।