एनआरएनको नयाँ अभियान, ह्यासट्याग “नेपाल होप्स”


काठमाडौं । गैरआवासीय नेपाली संघले नाकाबन्दीका कारण नेपालमा उत्पन्न मानवीय संकटबारे बिश्व जगतलाई जानकारी दिन र सहयोगका लागि घच्घच्याउन प्रचार अभियान थालेको छ । मंगलबारदेखि सुरु यो अभियानमा एनआरएनले नाकाबन्दीका कारण सिर्जना भएको मानवीय संकटका बिभिन्न पक्षबारे उजागर गरेको छ ।

‘नेपाल होप्स दीस डजनट हेपेन टु यु’ अर्थात नेपाल चाहान्छ हामीलाई जस्तो (बिपत) तिमीलाई नपरोस्’ शीर्षकको यो अभियानमा शिक्षा, स्वास्थ्य, यातायात, आर्थिक गतिबिधि, पुनःनिर्माण र रोजगारीका क्षेत्रमा कसरी नाकाबन्दीले असर गरेकेा छ भन्ने सन्देश अन्तराष्ट्रिय जगतलाई दिन खोजिएको छ ।

‘नेपालमा यति ठूलो बिपत पर्दा पनि अपेक्षाकृत अन्तराष्ट्रिय समुदाय सक्रिय बन्न सकेको छैन’ अध्यक्ष घलेले क्याम्पेनको उदेश्यबारे भने-‘नेपालीहरु यस्तो बिपतमा छन, तिमीहरु बोल, सहयोग गर र नाकाबन्दी खुलाउन दबाब देउ भन्ने सन्देश दिन यो क्याम्पेन थालिएको हो ।’

संघले बिभिन्न देशमा आयोजना बिरोध र्‍यालीमा यी पोष्टरहरु प्रयोग गरिने छन् । यसैगरी संसारभरी छरिएर रहेका गैरआवासीय नेपालीहरुले सामाजिक संजालमार्फत् मानवीय संकट र दुरावस्थाबारे बिश्व समुदायलाई जानकारी दिनेछन् ।
यो अभियानमा सहभागी हुन #Nepalhopes ह्यासट्यागमा बिभिन्न तस्वीर, पोष्टर र सन्देशहरु लेखेर आवाज उठाउन सकिने छ ।

भूकम्पका बेला नेपालका भत्किाएका घरका दर्दनाक तस्वीर छाप्ने अन्तराष्ट्रिय मिडियाहरुले नाकाबन्दीका कारण त्योभन्दा ठूलो संकट उत्पन्न हुँदा पनि नेपालको संकटबारे खुलेर बोल्न सकिरहेका छैनन् ।

‘हामीले अन्तराष्ट्रिय मानवीय सहायत संस्थाहरुलाई नेपालतिर आँखा लगाउन प्रेरित गर्ने उदेश्यले यो अभियान सुरु गरेका हौं’ अध्यक्ष घलेले भने-‘नाकाबन्दी खेप्न बाध्य निर्दोष नेपाली जनताको दुःख र कष्टलाई अन्तराष्ट्रियस्तरमा पुर्‍याउन बैकल्पिका बाटो अपनाउन खोजेका हौं ।’-onlinekhabar