११ मत नपुग्दा देउवा सभापति बन्न चुके,दोश्रो चरणमा पौडेल सँग प्रतिस्पर्धा गर्दै


कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पार्टी सभापति जित्नका लागि आवश्यक बहुमत (५० प्रतिशत भन्दा बढी मत) प्राप्त गर्न नसकेपछि पुन: दोस्रोपटक सोमबार चुनाव हुने भएको छ ।

देउवालाई जित्नका लागि ११ मत पुगेन ।  देउवाले १ हजार ५६४ मत ल्याए भने कार्यबाहक सभापति समेत रहेका पौडेलले १ हजार १५४ मत ल्याएकमा छन् । अर्का उम्मेदवार कृष्ण सिटौलाले भने ३२४ मत मात्र ल्याएका छन् । १०७ मत भने बदर भएको छ ।

दोस्रो चरणको चुनावमा बढी मत ल्याउने दुई उम्मेद्वार देउवा र पौडेलबीच प्रतिस्पर्धा हुनेछ । तेस्रो स्थानमा रहेका सिटौला प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।

दोस्रो चरणको चुनावमा तेस्रो हुने सिटौला पक्षको मत जसले तान्न सक्छ त्यो उम्मेद्वार विजयी हुने संभावना रहन्छ । कांग्रेसको विधानमा सभापति पदमा ५० प्रतिशत बढी मत ल्याउनुपर्ने प्रावधान छ । अन्य पदमा भने साधारण बहुमत भए पुग्छ ।

बढी मत ल्याएर पनि देउवाले आवश्यक मत नपुर्‍याउदा सभापति पद हासिल गर्न सकेनन् । देउवा १० औ र १२ औ महाधिवेशनमा सभापतिमा पराजित भएका थिए । पौडेल र सिटौला भने पहिलो पटक सभापति पदको प्रतिस्पर्धामा उत्रिएका हुन् । पोखरामा भएको १० औं महाधिवेशनमा देउवा गिरिजाप्रसाद कोइराला र काठमाडौमा भएको १२ औ महाधिवेशनमा सुशील कोइरालासंग पराजित भएका थिए ।

संसदीय निर्वाचनमा अपराजित यात्रा जारी राखेका देउवालाई पार्टी नेतृत्वको आन्तरिक प्रतिस्पर्धामा भने पटक पटक हारेको इतिहास यसपाली पनि तोड्न हम्मे हम्मे परेको छ । यसपटक जसरी पनि निर्वाचन जित्ने योजनाका साथ सुरुदेखि नै रणनीति बनाईरहेका देउवालाई संस्थापन पक्षबाट दुई उम्मेद्वार खडा भएपछि अनुकुल परिस्थिति बनेको थियो ।

07032016053151np-1000x0पार्टी भित्र स(साना उपगुट बोकेर बस्ने खुमबहाुदर खडा, कुलबहादुर गुरुङ, गोविन्दराज जोशी, पूर्वसभामुख तरानाथ रानाभाट लगायतका नेताहरुलाई समेत आफ्नो पक्षमा ल्याएका थिए । संस्थापन पक्षमै रहेका अर्जुननरसिंह केसीलाई आफ्नो प्यानलमा ल्याएर महामन्त्रीमा अघि सार्ने निर्णय पनि देउवाका लागि सभापति जित्न अनुकुल परिस्थिति थियो । तर देउवाले यी सबै परिस्थितिका वावजुद पनि पहिलो चरणमा जित हासिल गर्न सकेनन् ।

पौडेलका लागि भने आफ्नै पक्षका महामन्त्री सिटौला उम्मेद्वार बनेपछि परिस्थिति प्रतिकुल बनेको थियो । तर अब दोस्रो चरणको चुनावमा भने पौडेलका लागि अनुकुल अवस्था बनेको छ । किन भने सिटौलालाई गएको अधिकांस मत पौडेललाई आउनसक्ने मध्येको हो । सिटौलाले घोषित रुपमा कसलाई समर्थन गर्छन् त्यसले केही प्रभाव पार्न सक्छ ।