नेपालमा भूकम्प गएको सम्झनामा आयरल्याण्डमा सम्मेलन हुने


आयरल्याण्ड–नेपालमा विनाशकारी भूकम्प गएको १ वर्ष पूरा भएको सम्झनामा आगामी अप्रिल ३० मा आयरल्याण्डको राजधानी डब्लिनमा सम्मेलन हुने भएको छ ।
लण्डन स्थित नेपाली दुतावास, नेपाल आयरल्याण्ड सोसाइटि, एक्सन एड र इन्जिनियर्स विदाउट बोर्डरर्सले संयुक्त रुपमा आयोजना गर्न लागेको सम्मेलन नेपालमा भूकम्प पछिको पुननिर्माणमा केन्द्रित रहने आयोजकले जनाएको छ ।

कार्यक्रममा पुननिर्माणमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गरिरहेका संस्थाहरुबीच सहकार्यका साथै सञ्जाल निर्माणको पहल समेत गरिनेछ । सम्मेलनका लागि आइरिश रेड क्रस, कन्सर्न वर्ल्डवाइड, ह्याविट्याट आयरल्याण्ड, माउन्टेनियरिङ आयरल्याण्ड, ट्रिनिटि कलेज, डब्लिन इन्सटिच्युड अफ टेक्नोलोजि, इन्सटिच्युड अफ टेक्नोलोजि स्लिगो, प्लान इन्टरनेशनल सहितका बिभिन्न १९ वटा संस्थाले सहयोग गरेका छन् ।

‘यो सम्मेलन आयरल्याण्डमा मात्र नभइ समग्र युरोपभरि नेपालको सामाजिक अर्थिक विकाशमा रणनीतिक योजना र समझदार निर्णयहरु लिनका लागि बृहत्तर सहयोग गरिरहेका बिभिन्न संस्थाहरुबाट स्रोत, ज्ञान र अनुभवहरु जुटाउन महत्वपूर्ण कदम हुनेछ,’ आयरल्याण्ड समेत हेर्दै अएका लण्डनस्थित नेपाली दुतावासका कार्यवाहक राजदुत तेजबहादुर क्षेत्रीले भने ।

आयरल्याण्डमा रहेर नेपालमा काम गरिरहेका र चासो राख्ने अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुबीच अन्तरक्रिया, सञ्जाल निर्माण र सूचना आदानप्रदानका लागि सम्मेलन उपयोगि हुने विश्वास आयोजकको छ ।

सम्मेलन आयरल्याण्डमा रहेका नेपालमा चासो राख्नेहरुको महाभेला हुनेछ । ‘नेपालको पुनरुत्थान प्रकृयामा आइरिस जनताले उत्साहबर्धक योगदान पुर्याएका छन् र हरेक बर्ष नेपाल आउने आइरिस पर्यटकको संख्या पनि ठूलो छ । कार्यक्रमले यो सम्वन्धलाइ मज्बुत बनाउने छ’, नेपाल आयरल्याण्ड सोसाइटिका अध्यक्ष तथा आयरल्याण्डका लागि नेपाल पर्यटन बोर्डका मानर्थ जनसम्पर्क प्रतिनिधि दीपेश मान शाक्यले भने ।

सम्मेलन सर्वसाधारणका लागि समेत खुला रहने र नेपाल भ्रमण गर्न चाहानेहरुका लागि स्रूचना र परामर्शका लागि उपयोगि हुने आयोजकले जनाएको छ । नेपाल र आयरल्याण्डबीच ब्यापार, पर्यतन प्रबर्धन, लगानी बढाउन प्रविधि हस्तान्तरणको संभाब्यता पहिचान गर्न र आयरल्याण्डलाइ नेपाली विद्यार्थीहरुको उच्च शिक्षाको गन्तब्यको रुपमा प्रवद्र्धन समेत सम्मेलनलाइ उपयोग गरिने जनाइएको छ ।

गतसाल भाद्र महिनामा पनि नेपाल आयरल्याण्ड सोसाइटिले नेपाल भूकम्प सम्मेलन आयोजना गरेको थियो । जसबाट नेपाल आयरल्याण्ड एलाएन्स बनेको थियो ।