प्रहरीले फोटो पत्रकारमाथि कुटपिट गरेको घटनाप्रति चौतर्फी भत्सना


काठमाडौं । समाचार संकलनको क्रममा प्रहरीले अनलाइनखबरका फोटो पत्रकार कविन अधिकारीमाथि कुटपिट गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघ र फोटो पत्रकार क्लबले भ्रत्सना गरेका छन् ।

आइतबार विज्ञप्ति निकालेर पत्रकारिता पेशाको सम्मान गर्न सरकार र सबै सुरक्षा निकायलाई सचेत गराइएको छ । सिंहदरबारस्थित सामान्य प्रशासन मन्त्रालयमा कर्मचारीहरूद्वारा भैरहेको आन्दोलनको फोटो खिच्ने क्रममा पत्रकार अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिई लाठी प्रहार गरी घाइते बनाएका थिए ।

आइतबार महासंघका महासचिव उजीर मगरले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘नागरिकलाई सुसूचित गराउने धर्म निर्वाह गरिरहेका पत्रकारमाथि प्रहरीबाट भएको यो आक्रमण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हमला हो । महासंघ पत्रकार अधिकारीमाथि भएको प्रहरी ज्यादतीको कडा शब्दमा भर्त्सना गर्दछ ।’ महासंघले घटनामा संलग्न प्रहरीमाथि कारबाही गरी पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग मागसमेत गरेको छ ।

प्रेस स्वतन्त्रतामाथिको आक्रमणः फोटो पत्रकार क्लब

यसैगरी फोटो पत्रकार क्लबका महासचिव विकास कार्कीले विज्ञप्ति निकालेर देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमै भएको यो घटनाले गृहप्रशासनको वास्तविक अनुहार उदांगो भएको उल्लेख छ ।

‘परिचयपत्र र क्यामरा देखाउँदा देखाउँदै प्रहरीले गरेको दमनको ढाकछोप गर्न बर्दीधारीहरू गुण्डागर्दी शैलीमा खनिएका थिए,’ महासचिव कार्कीले निकालेको विज्ञप्तिमा लेखिएको छ, ‘पटक-पटक पत्रकारहरुमाथिको आक्रमण जनताको सूचनाको हक, प्रेस स्वतन्त्रतामाथिको आक्रमण हो । अपराधमा संलग्नलाई कारवाहीको माग गर्दछौं ।’

फोटो पत्रकार क्लबका सदस्य समेत रहेका अधिकारीलाई फोटो खिचेको आरोपमा लाठी र बुट बर्साउनु लोकतन्त्र, विधिको शासन विपरित भएको विज्ञप्तिमा उल्लेख छ ।

सुरक्षा निकायप्रतिको विश्वासमा प्रश्न खडाः रिपोर्टर्स क्लब

रिपोर्टर्स क्लबले पनि विज्ञप्ति निकालेर सञ्चारकर्मी माथि आक्रमणको यो घटना सिङ्गो पत्रकारिता माथिको आक्रमण भएको भन्दै घोर निन्दा एवम भ्रत्सना गरेको छ ।
रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले विज्ञप्ति निकालेर नेपाली जनताको सूचनाको हकलाई कार्यान्वयन गर्न प्रतिबद्ध भई दिन दिनरात नभनी लाग्ने पत्रकारमाथिको आक्रमणले फेरि एकपटक नेपालमा प्रेस स्वतन्त्रताको अवस्था अत्यन्तै दयनीय रहेको स्पष्ट पारेको बताएका छन् ।

‘यो घटनाले सम्पूर्ण पत्रकारिता क्षेत्रले आफूलाई असुरक्षित महसुस गरेको छ । यस्तो अवस्थाले प्रेस स्वतन्त्रताको उपभोग गर्दै नेपाली जनतालाई सुुुसुचित गराउने नै प्रेस जगतको धर्म पूरा हुन असम्भव भएको छ,’ धमलाले भनेका छन्, ‘सुरक्षा दिनु पर्ने सुरक्षा निकायले नै पत्रकार माथि आक्रमण गर्नुले संविधानले सुनिश्चित गरेको अधिकारको हनन मात्रै भएको छैन संरक्षण गर्ने सुरक्षा निकायप्रतिको विश्वासमा प्रश्न खडा भएको छ ।’

एउटा सञ्चारकर्मीको बाँच्न पाउने अधिकार नै हनन गर्न खोजिएको, सूचनाको हकको अपहरण गर्न खोजेको यो घटनामा संलग्न माथि तत्काल कडा भन्दा कडा कारवाही गर्न माग समेत गरिएको छ ।

सरकारी संयन्त्र र प्रहरी प्रशासनको कुनियतः प्रेस युनियन

यसैबीच नेपाल प्रेस युनियन काठमाडौं शाखाले पनि बिज्ञप्ति प्रकाशित गरी आनलाइनखवरकर्मी अधिकारीमाथि प्रहरी आक्रमणको भर्त्सना गरेको छ ।
प्रेस युनियन काठमाडौं शाखाका अध्यक्ष नकुल अर्यालले जारी गरेको बिज्ञप्तिमा भनिएको छ,- ‘पछिल्लो समय पत्रकारलाई लक्षित गरेर सिंहदरबार प्रवेशमा अवरोध गर्ने तथा सुरक्षाका नाममा पत्रकारलाई मानसिक रुपमा त्रसित बनाउने सरकारी संयन्त्र र प्रहरी प्रशासनको कुनियतकै निरन्तरता फोटो पत्रकार अधिकारीमाथिको आक्रमण हो ।’
बिज्ञप्तिमा भनिएको छ ‘देशको प्रमुख प्रशासनिक केन्द्रमा पत्रकारमाथि कुटपिट गर्ने प्रहरी कर्मचारी तथा उच्च अधिकारिलाई तत्काल कारवाही गर्न र पिडितलाई क्षतिपूर्ति उपलब्ध गराउन प्रेस युनियन काठमाडौं शाखा जोडदार माग गर्दछ ।’

यसैबीच नेपाल प्रेस युनियन काठमाडौं शाखाले पनि बिज्ञप्ति प्रकाशित गरी आनलाइनखवरकर्मी अधिकारीमाथि प्रहरी आक्रमणको भत्र्सना गरेको छ ।
संघका अध्यक्ष प्रकाश सुवेदीले जारी गरेको बिज्ञप्तिमा कार्यक्षेत्रमा खटिएको पत्रकारमाथि मुलुकको प्रशासनिक केन्द्रमै देखिएको प्रहरीको यस्तो हर्कतको निन्दा गर्दै दोषिमाथि तत्काल कारबाही गर्न माग गरिएको छ ।- onlinekhabar