महजोडीको प्रस्तुती स्पेनका दुई शहरमा,कोस्टा ब्लान्कामा पनि महजात्रा हुँदै


– प्रकाश तिवारी,कोस्टाब्लान्का

युरोप भरका नेपालीहरु महजात्रा हेर्ने अबसर पाईरहेका बेला स्पेनका नेपालीहरुले आँफूहरुलाई झनै भाग्यमानी सम्झेका छन्। चर्चित महजोडीको कार्यक्रम स्पेनका दुई शहरमा हुने भए पछि यहाँका नेपालीहरु भाग्यमानी ठानेका हुन्। आउँदो अप्रिल १७ तारिख बार्सिलोनामा र २० तारिख कोस्टा ब्लान्कामा महजोडी हरिबंश आचार्य र मदन कृष्ण श्रेष्ठको बिशेष प्रस्तुती हुने भएको छ।

गैर आवासीय नेपाली संघको आयोजनामा वुमेन वेलफेर च्यारिटीको लागि सहयोग जुटाउन नेपाल बाट आफ्नो प्रस्तुति लिएर युरोप भ्रमणमा आएका महजोडीको टोलिमा कलाकारहरु नरेन्द्र कंसाकार, यमन श्रेष्ठ, माण्डवी त्रिपाठी, मोहित आचार्य रहेका छन्।

नेपाल स्पेन समाज कोस्टाब्लान्काले नेपाली नयाँ बर्ष २०७३ को शुभ- अवसर पारेर शुभकामना आदान प्रदान तथा हाल युरोप भ्रमणमा रहेको मह जोडी तथा समुहको बिशेष प्रस्तुती सहितको साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको हो। उता बार्सिलोनामा नेपाली जनसम्पर्क समिति स्पेनले कार्यक्रमको आयोजना गर्दै छ।

समाजले हरेक बर्ष नेपाली नयाँ बर्षको कार्यक्रम गर्दै आएको छ भने यसपटक मह जोडी सहितका कलाकारको समुहलाई प्रथम पटक कोस्टा ब्लान्कामा उतार्न लागेको हो।उल्लेख्य मात्रामा नेपालीको बसोबास नभए पनि यस क्षेत्रमा बस्ने नेपालीहरुले आ आफ्नो क्षमता अनुसारको आर्थिक सहयोग गरेर भए पनि कार्यक्रम गर्ने इच्छा देखाएका कारण नेपाल स्पेन समाजले कार्यक्रमको आयोजना गर्न सफल भएको हो।

युरोप भ्रमणमा रहेका महजोडीको कार्यक्रम आगामी हप्ता २० अप्रिल बुधबारका दिन कोस्टाब्लान्को बेनिडर्म स्थित ४ तारे होटल मारिनामा हुने भएको छ। पहिलो पटक नेपालबाट आएका कलाकारको प्रस्तुति हेर्न पाउने अवसर जुटेको त्यसमा पनि महजोडीको कार्यक्रम हुने भने पछि यस क्षेत्रका नेपालीहरु निकै उत्साहित बनेका छन्।

समाजले कार्यक्रमलाई सफलतापुर्वक सम्पन्न गर्नका लागि समाजका सल्लाहकार केदार देवकोटाको संयोजकत्वमा कार्यक्रम तयारी समिति गठन गरेको छ भने कार्यक्रमलाई चुस्त र दुरुस्त बनाउनका लागि बिभिन्न ९ उप समिति बनाउदै जिम्मेबारी बाँडफाँड़ गरेको छ।

आवस्यकता अनुसार सदस्य थप गर्ने गरि बिभिन्न कार्य क्षेत्र बिभाजन गरि उपसमिति संयोजक तथा सदस्यहरु नियुक्त गरिएको छ, जस अन्तर्गत आर्थिक ब्यबस्थापनमा सुरेश बज्राचार्य, खाना ब्यबस्थापनमा मनिष पोखरेल, स्वागत तथा सत्कारका लागि शुष्मा ढुंगाना, मंच ब्यबस्थापनमा निराजन लुइँटेल, हौसला हमाल (पुनम) र शुष्मा ढुंगाना, टिकट ब्यबस्थापनमा झरना बास्तोला, स्वयंसेवक ब्यबस्थापनमा रोजिना श्रेष्ठ, अतिथि तथा कलाकार ब्यबस्थापनमा रितेश श्रेष्ठ, केदार देवकोटा, सुरेश बज्राचार्य, फोटो तथा भिडियो ब्यबस्थापनमा पुष्कर अधिकारी, कार्यक्रम संचालन तथा प्रचार प्रसारमा प्रकाश तिवारी रहेका छन्।

मिति : २० अप्रिल , २०१६ बुधबार
गेट खुल्ने : ९ बजे
कार्यक्रम शुरु हुने ११ बजे
स्थान : Hotel Marina
Avda. de Cuenca, 6
03503 Benidorm

टिकट शुल्क : २५ युरो (खाना सहित)

नोट: कार्यक्रम हेर्ने चाहना हुदाँ हुदै पनि आर्थिक अबस्था कमजोर भइ टिकट शुल्क तिर्ने क्षमता नभएका व्यक्तिलाई परिस्थिति वास्तविक भएमा कार्यक्रममा निशुल्क प्रवेश दिने ब्यबस्था गरिएको छ त्यसको लागि कार्यक्रम संयोजक तथा सदस्यहरुलाई सम्पर्क गर्न अनुरोध गरिएको छ।