महजोडीले कोस्टाब्लान्काबाट भने,” देशका लागि जुट्नु पर्ने बेला हो”


प्रकाश तिवारी, कोस्टा ब्लान्का, स्पेन – नेपाल स्पेन समाज कोस्टाब्लान्काले नेपाली नयाँ बर्ष २०७३ को अबसरमा मह जात्रा सहित युरोप भ्रमणमा रहेका चर्चित राष्ट्रिय कलाकारहरु मह जोडी सहितका अन्य कलाकारहरु नरेन्द्र कंसाकार, माण्डवी त्रिपाठी, एमन श्रेष्ठ र मोहित आचार्यका साथमा नयाँ बर्ष धुमधामका साथ् मनाए।

गैर आवासीय नेपाली संघको आयोजनामा वुमेन वेलफेर च्यारिटीको सहयोगार्थ युरोप यात्रामा रहेका मह जोडी सहितका कलाकारहरुको बिशेष प्रस्तुति रहेको नयाँ बर्ष कार्यक्रममा कोस्टाब्लान्काबासी नेपालीहरुको उत्साहजनक उपस्थिति रहेको थियो।

नेपाल स्पेन समाजले आयोजना गरेको नयाँ बर्ष कार्यक्रमको पहिलो चरणको औपचारिक कार्यक्रम गैर आवासीय नेपाली संघकी महिला उप-संयोजक रजनी प्रधान प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने कार्यक्रमको सभापतित्त्व समाजका अध्यक्ष रितेश श्रेष्ठले गरेका थिए।

पहिलो चरणको औपचारिक कार्यक्रममा समाजका सम्पूर्ण सल्लाहकारहरुलाई अतिथिको रुपमा आषण ग्रहण गराईएको थियो भने कार्यक्रम संयोजक तथा सल्लाहकार केदार देबकोटाले स्वागत तथा शुभकामना मन्तव्य ब्यक्त गरेका थिए। कार्यक्रमकी प्रमुख अतिथि रजनी प्रधानले मन्तव्य दिदैं सबै महिलाहरुलाई गैर आवासीय नेपाली संघले महिलाका लागि लक्षित कार्यक्रमहरुको बारेमा प्रस्ट्याउनुका साथै यस अभियानमा साथ दिन पनि आग्रह गरिन।

प्रमुख अतिथिको  मन्तव्य पछि कार्यक्रम प्रस्तोता तथा समाजका सल्लाहकार प्रकाश तिवारीले समाजले अहिले सम्म गरेका गतिबिधिहरुको बारेमा संक्षिप्त जानकारी गराएका थिए भने कार्यक्रमका सभापति रितेश श्रेष्ठले नयाँ बर्षको शुभकामना साथै कार्यक्रममा सहभागी हुने तथा कार्यक्रममा सहयोग पुर्याउने सम्पूर्णमा धन्यवाद व्यक्त गर्दै पहिलो चरणको औपचारिक कार्यक्रम सकिएको घोषणा गरेका थिए ।

औपचारिक कार्यक्रमको समापन संगै दोश्रो चरणको सांस्कृतिक कार्यक्रमको शुरुवातमा स्थानीय कलाकारहरु अलिसा लामिछाने, अनुपा ढुंगाना र अपेक्षा ढुंगानाले अतिथि कलाकार तथा दर्शकहरुका लागि नेपाली राष्ट्रिय गीतमा स्वागत नृत्य प्रस्तुत गरेका थिए। स्थानीय कलाकारहरुको स्वागत नृत्य लगत्तै महजोडी मह जात्रा शुरु गरिएको थियो।

महजोडीका विभिन्न गित तथा हास्यं ब्यंग्य प्रस्तुतिले दर्शकहरुलाई भरपुर मनोरंजनका साथमा बिभिन्न सन्देश दिएको थियो। मह जोडीका बिभिन्न प्रस्तुतिमा कलाकारहरु नरेन्द्र कंसाकार र मोहित आचार्यले साथ दिएका थिए। कार्यक्रममा अहिलेकी चर्चित तथा भर्सटाइल गायिका माण्डबी त्रिपाठीले आफ्ना चर्चित गीतहरु गाएर दर्शकहरुलाई आधा रात सम्म पनि जोसले उफ्री उफ्री नचाउन सफल भइन भने महजोडी संगै यूरोप यात्रामा आएका तथा मदन कृष्णकै आवाज लिएर पैदा भएका मदन पुत्र एमन श्रेष्ठले आफ्नै अन्दाजमा विभिन्न गीतहरु गाएर माहोल तताएका थिए। यसरी भरपुर मनोरन्जनले भरिपूर्ण भएको सम्पूर्ण कार्यक्रमको संचालन कलाकार तथा पत्रकार प्रकाश तिवारीले गरेका थिए।

२० अप्रिल बुधबार रातको साढे ११ बजे शुरु भएको कार्यक्रम बिहान ४ बजे सकिएको थियो। महजात्राको सम्पूर्ण कार्यक्रम सकिएपछि आयोजक सस्था नेपाल स्पेन समाजले सम्पूर्ण कलाकार टोलि लाई सम्मान सहित खादा तथा मायाको चिनो प्रदान गरेको थियो। कार्यक्रम समापन पछि बोल्दै महजोडीले सबै नेपालीहरुलाई जो जहाँ बसे पनि नेपाली भएर मिलेर बस्न अनुरोध गरे, नेपाललाई सबै तिरबाट थिचोमिचो गर्न खोजिएको छ फुटाउने, लडाउने पक्षहरु सक्रिय भएका छन् त्यसैले हामी सबै एक जुट्नु पर्ने बेला आएको बताएका थिए।

कोस्टाब्लान्का क्षेत्रमा नै पहिलो पटक नेपाल बाट आएका कलाकारहरुको यति ठुलो समुह त्यसमा पनि मह जोडी जस्तो चर्चित जोडी सहितका कलाकारहरुलाई कोस्टाब्लान्काबासीले आफ्नो क्षमताले भ्याए सम्म भव्य रुपले स्वागत गरेका थिए। कलाकारहरुको समूहलाई मह जात्रा पोस्टर अंकित गाडीको लस्कर लिएर रिसिभ गर्न जाँदा होस् या ३ दिन सम्म बस्दा कोस्टाब्लान्काका बिभिन्न ठाउँमा घुमाउनहोस कलाकारहरुको बसाई लाई सहज र अविस्मरणीय बनाउन कुनै कसर बाँकी राखेनन्।

कोस्टाब्लान्काका विभिन्न ठाउँमा रहेका नेपाली रेस्टुरेन्टमा कलाकारको समुहलाई खानाको लागि प्रबन्ध गरिएको थियो। कार्यक्रमलाई सफलतापुर्वक ब्यबस्थापन गर्न सुरेश बज्राचार्य, मनिष पोखरेल, कृष्ण खत्री, सन्देश महत, शुष्मा ढुंगाना, रमेश गिरि, निराजन लुइँटेल, हौसला हमाल (पुनम) सिद्वान्त गुरुङ, न्यारी सापकोटा, नमुना महत, झरना बास्तोला, धिरज पाण्डे, रोजिना श्रेष्ठ, पुष्कर अधिकारी, आभास लामिछाने, कृष्ण खत्री, चिरन्जीवी आचार्य, तरुण आचार्य लगायत कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरु खटेका थिए भने केहिले भने तयारी समितिमा संलग्न नभई व्यक्तिगतरुपमा पनि सहयोग पुर्याएका थिए ।

नेपाल स्पेन समाजले कार्यक्रमलाई सफल बनाउन प्रतक्ष तथा अप्रतक्ष सहयोग गर्ने सम्पूर्ण समाजका पदाधिकारी तथा स्वयंसेवकहरुलाई बिशेष धन्यवाद व्यक्त गरेको छ भने समाजले गर्ने आगामी कार्यक्रममा अहिले सम्म समाजका विभिन्न कार्यक्रमहरुमा सहयोग गरेर योगदान दिने सम्पूर्णलाई बिशेष कार्यक्रम गरि सम्मान गरिने पनि जनाइएको छ।