पेरिस बन्दैछ नेपालमय


– हरिहर अर्याल, पेरिस

फ्रान्सको राजधानी पेरिसमा १३ औ नेपाल महोत्सवको तयारी पुरा भएको छ।  हरेक बर्षको जुनमा हुने नेपाल महोत्सव एवं मेलाको सम्पूर्ण तयारी पुरा भएको हो।  यस बर्ष आगामी जुनको ४ र ५ तारिख नेपाल महोत्सव हुँदैछ।। सन् २००२ मा स्थापना  भएको नेपाली सांस्कृतिक गृह नामक नेपाली मैत्री संघले मेलाको आयोजना गर्न लागेको हो।

बुद्धको जन्म भूमि र सगरमाथाको देश नेपाललाई चिनाउनुका साथै, विभिन्न कला कौशल र सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गर्दै नेपाललाई चिनाउनु कार्यक्रमको उदेश्य रहेको छ। यस्तै नेपालको बिबिध कला र संस्कृतिको पहिचान गराउनु, नेपालवाट झिकाएका हस्तकला, मूर्तिकला  तथा पोशाकहरु बिक्रि गरेर नेपाली घरेलु उद्योगलाई बढवा दिने,,मेला स्थलमा नेपाली दाल भात सहित विभिन्न नेपाली परिकारहरु तयार गरेर बिक्रि गरेर नेपालको खानाको स्वाद चखाउने जस्ता कार्यक्रमहरु तय भएका छन्।

नेपालको कला, संस्कृति, पर्यटन , पुरातत्व आदिका ज्ञाताहरुद्वारा बिबिध बिषयमा प्रवचन गराई नेपालमा पर्यटन प्रबर्धन गर्न सहयोगी भूमिका निर्बाह गरिने भएको छ। यस्तै कार्यक्रमबाट आर्थिक कोष खडा गरेर पेरिसमा आफ्नै नेपाली घर किन्ने संघको योजना रहेको छ।

नेपाल महोत्सव पेरिस महानगरको १२ औ वडामा अवस्थीत रमणिय भाँसेन बगैचा भित्र हुँदै छ। झन्डै ३/४ हेक्टर जमिन क्षेत्रफल भएको गुम्वा परिसर आफैमा ठूलो छ भने गुम्वा (मन्दिर) मा संभवत युरोपकै भीमकाय बुद्ध भगवानको ध्यान मुद्राको सुनौला मूर्ति स्थापना भएको छ ।

फ्रान्सका बौध मार्गीकोलागि यो गुम्वा महत्वपूर्ण तिर्थ स्थल हो । यो परिसरमा हप्रान्तरमा प्राय: सधै एक न एक मेला तथा मेलाको आयोजना भइरहेको हुन्छ । पेरिस भित्रको यति सुन्दर र महत्वपूर्ण तीर्थ स्थलमा नेपाली मेला आयोजना गर्न पाउनु हामी नेपालीको लागि गौरबको बिषय रहेको छ।

मेलामा नेपाली राजदूतावास लगायत फ्रान्सका नेपाली मैत्रीसंघहरु र अन्य तीसौ संघ संस्थाले आ-आफ्नो स्टल राखेर पेरिसको ठूलो जनसमुदाय आगन्तुकलाई आ-आफ्नो संघ संस्थाको कृयाकलापको जानकारी दिदै संघ संस्थाको कोष वृद्धिकोलागि राखिएको सर-सामान बिक्री गर्नेछन्।

आयोजक संघले मेला स्थलमै नेपाली खानको साथै जिलेवी , सेल , पकौडा, मम आदि तयार गरेर बिक्री गर्ने परम्परा बनेको छ । मन्दिर परिसर भित्र भव्य मञ्चमा नेपालको हिमाल, पहाड, उपत्यका र तराईका बिभिन्न नेपाली लोक सांस्कृतिक नृत्यहरु अटुटरुपमा संचालन भइरहेको हुन्छन् भने नेपाली पुरातत्व, कला, संस्कृति, प्राकृतिक सम्पदा र प्रयटनका विज्ञहरुद्वारा दशौ विषयमा प्रवचन पनि गरिनेछ ।

नेपाली ध्वजा पतका र झन्डाले सिंगारिएको मेला स्थलमा नेपाली विविध संगीतका स्वर र धूनले जो कोही पदयात्रीलाई  पनि प्रवेश गर्न आकर्षक पार्दछ । दुई दिने मेलालाई करिब पाँच हजार दर्शकहरुले अबलोकन गर्ने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया