नेपाललाई भारतले पेल्दा चीन कुन हदसम्म आउँला ?


– डा. विनय श्रेष्ठ, स्विटजरल्याण्ड

नेपाल र भारतको द्वीपक्षिय सम्बन्धमा चिसो बढेदेखि नै मिडिया र सामाजिक सञ्जालहरुमा नेपालको भारत र चीनसँगको सम्बन्धका बारेमा धेरै लेख-रचना र विचारहरु प्रकाशित भई रहेका छन्। नेपाल-भारत सम्बन्धले भविष्यमा कस्तो रुप लेला र आउँदा दिनहरुमा चीनको के कस्तो प्रतिकृया रहला भन्नेमा ब्यापक चासो रहेको पाईन्छ।

पछिल्लो समयमा चीनसंगको हाम्रो सम्बन्धलाई देखाएर भारतसंग बदला लिने भावका अभिव्यक्तिहरु पनि प्रकाशमा आएका छन्। चीनले भारत र अमेरिकालाई स्वाद चखाउन यस्तो हतियार विकसित ग-यो भन्नेदेखि चीनले काठमाण्डौसम्म यो र त्यो ल्याईदिने सम्मका समाचारहरु प्रकाशमा आएका छन्।

कुनै पनि राष्ट्रले नेपाललाई सहयोग गर्ने कुरा स्वागतयोग्य हो, ति सहयोगहरु अवश्य पनि राष्ट्र निर्माणमा प्रयोग गर्न सक्नु पर्छ। यसै सन्दर्भमा चीनले भारतका विरुद्धमा नेपाललाई के-कस्तो सहयोग गर्ला नगर्ला भन्ने बुझ्न नेपाल र चीनबीचको सम्बन्ध मात्र होईन भारत-चीन सम्बन्ध र आजको एकध्रुविय विश्वमा भारत र चीनको भूमिकाका बारेमा यहाँ चर्चा गर्ने जमर्को गरेको छु।

भारत-चीन सम्बन्ध

भारत र चीन नेपालका दुई अत्यधिक ठूला छिमेकी राष्ट्रहरु हुन्। यी दुवै राष्ट्रहरुसंग नेपालको परापूर्व कालदेखि अन्योन्याश्रित सम्बन्ध रही आएको छ। तर नेपालको संविधान २०७२ अनुमोदन भएपश्चात् नेपाल र भारत बीचको सम्बन्ध नाटकीय ढंगले चिसिएको छ। यसै परिप्रेक्ष्यमा नेपालको आन्तरिक मामिलामा दबाब दिन भारतले नेपालमाथि अघोषित नाकाबन्दि समेत लगायो। भारत वा चीनले नेपालको आन्तरिक मामिलामा दबाब दिई रहँदा नेपालको भारत र चीनसंगको दूरी र घनिष्टताको मात्र होईन भारत र चीनबीचको सम्बन्धको चर्चा गर्नु सान्दर्भिक हुन आउँछ।

भारत र चीनबीच सन १९५० मा कुटनीतिक सम्बन्ध स्थापित भएपछि भारतका तत्कालिन प्रधानमन्त्री नेहरुले सन १९५४ मा चीन भ्रमण गरेका थिए। सन १९६२ को सीमा विवादले भारत-चीन सम्बन्धमा ठूलो धक्का लागे पनि सन १९८८ को तत्कालिन प्रधानमन्त्री राजिव गान्धीको चीन भ्रमणपश्चात् यी दुई देशबीचको सम्बन्ध सामान्यीकरण र सुधार हुन सुरु भएको हो।

त्यसपश्चात् सन २००० देखि २०१६ सम्म भारत र चीनबीच राष्ट्र र सरकार प्रमुख स्तरमा ८-१० पटक औपचारिक भ्रमणहरु सम्पन्न भइ सकेका छन्। दक्षिण एसियामा चीन र भारतका राष्ट्र र सरकार प्रमुखहरुले सायदै यो आवृतिमा औपचारिक भ्रमणहरु गरेका होलान्। ति भ्रमणहरुमा यी देशहरुका बीच दूरगामी प्रभाव राख्ने बहुसंख्यक सन्धि र सम्झौताहरु भएका छन्।

यसले ति दुई देशहरुले सम्बन्ध सामान्यिकरण र सुधारमा उच्च प्राथमिकता दिएको देखिन्छ। पटक पटक भएका भ्रमणहरुमा भारत र चीनबीच विश्वास अभिवृद्धि गर्ने, सीमा क्षेत्रमा शान्ति कायम गर्ने, एक आपसका राष्ट्रिय हितहरुको सम्मान गर्ने लगायत ब्यापार र लगानीका क्षेत्रमा पनि दूरगामी प्रभावका सम्झौताहरु भएका छन्।

सन २००० मा जम्मा २.९२ बिलियन अमेरिकी डलरको दुईपक्षिय ब्यापार गरेका यी देशहरुले सन २०१४ मा ७०.६५ बिलियन अमेरिकी डलरको ब्यापार गरे। समयसंगै यसलाई वार्षिक १०० बिलियन अमेरिकी डलर पुर्याउनेमा भारत र चीन सहमत भएका छन्, जुन नेपालको वार्षिक बजेट र नेपाल-चीनबीचको वार्षिक ब्यापार भन्दा धेरै गुणा अधिक छ। साथै, भारत र चीनबीच विभिन्न अन्तर्राष्ट्रिय फोरम र संस्थाहरुमा जस्तै ब्रिक्स् (BRICS), जि-२० (G-20) आदिमा गहिरो र अन्तर्राष्ट्रिय स्तरमा प्रभाव पार्ने गरी सहकार्य र समन्वय भईरहेको छ।

भारत र चीनबीच भएका नियमित भ्रमण, द्रुत गतिमा बढ्दो बन्दब्यापार र लगानी तथा अन्तर्राष्ट्रिय फोरमहरुमा भएका सहकार्यहरुले ति दुई देशहरुले एकअर्कासंगको सम्बन्धलाई दिएको महत्त्व छर्लङग हुन्छ। यी दुई देशहरु बीचको सहकार्य र समन्वय यस क्षेत्रको क्षेत्रिय सुरक्षा, स्थायीत्व र विकासका लागि अनिवार्य सर्त हुन भन्ने भारत र चीन दुवैले राम्ररी बुझेका छन्। त्यसैले भारत वा चीनको नेपालसंगको विवादका कारणले मात्र ति दुई देशहरु बीचको सम्बन्ध प्रभावित हुने देखिंदैन।

एक ध्रुविय विश्वमा नेपाल, भारत र चीन

सोभियत संघको विघटन पश्चात् संयुक्त राज्य अमेरिका विश्वको एकमात्र महाशक्ति राष्ट्र बनेको छ। प्रशस्त बजेट र प्रविधि लगाएर अमेरिकाले जुन उच्च कोटीको सैन्य शक्ति निर्माण गरेको छ त्यसलाई चुनौति दिन मुस्किल छ। विज्ञहरुले पहिल्यैदेखि एकध्रुविय विश्व प्रणालीको शिध्र पतन हुने भविष्यवाणी नगरेका होईनन्। रसिया र चीन मिलेर अमेरिकालाई चुनौति दिन नखोजेका पनि होईनन्। तर पनि एकध्रुविय विश्व प्रणाली कायम छ। यो अवस्था निकट भविष्य मै धरासायी हुने संकेतहरु देखिएका छैनन्।

एकध्रुविय विश्व प्रणालीमा एक मात्र महाशक्ति राष्ट्र हुन्छ र त्यसभन्दा निम्न शक्तिका अन्य प्रमुख शक्ति राष्ट्रहरु वा क्षेत्रिय शक्ति राष्ट्रहरु हुन्छन्। प्रमुख शक्ति राष्ट्रहरुको रुपमा आणविक शक्ति सम्पन्न राष्ट्रहरु जस्तै रसिया, फ्रान्स, चीन, भारत, यु.के. लाई लिन सकिन्छ। प्रमुख शक्तिहरुले महाशक्तिलाई पराजित गर्न सक्दैनन्, त्यसैले यी राष्ट्रहरु महाशक्तिसंग सम्भावित कुनै पनि सैन्य मुठभेडबाट बच्ने प्रयास गर्छन्। त्यसो नभएको खण्डमा तिनीहरुले नराम्रो पराजय भोग्नु पर्छ।

त्यसैगरी महाशक्ति राष्ट्रले पनि संसारका सबै कुनामा समान रुपले आफ्नो दबदबा कायम राख्न सक्छ भन्न सकिंदैन। महाशक्तिका प्रत्यक्ष स्वार्थ र प्रभाव कम रहेका ती क्षेत्रहरुमा प्रमुख शक्ति राष्ट्रहरुले शक्ति सन्तुलन कायम राख्छन्। महाशक्तिले पनि ती प्रमुख शक्ति राष्ट्रहरुको क्षेत्रिय प्रभावलाई स्विकारेर रणनीति अपनाउँछ । स-साना मतभिन्नता र विवादमा महाशक्तिले प्रमुख शक्तिसँग सैन्य टकराव गर्दैन। त्यस्ता विवादबाट हुनसक्ने विनासबाट उ बँच्न चाहन्छ।

उदाहरणका लागि, एक प्रमुख शक्ति राष्ट्र रसियाले सन २००८ मा जर्जिया र सन २०१४ मा युरोपियन युनियनको दैलो मानिने युक्रेनमा सैन्य हस्तक्षेप गर्दा न त नाटोले, न अमेरिकाले रसियामाथि सैन्य आक्रमण ग-यो। महाशक्ति र प्रमुख शक्तिहरु बीच अन्तर्राष्ट्रिय सुरक्षा र सम्बन्धका लागि शक्ति सन्तुलन यथासम्भव कायम रहने देखिन्छ।

तर प्रमुख शक्ति राष्ट्रहरुले आफूभन्दा कमजोर राष्ट्रहरुलाई समस्या पारेको भने देखिन्छ। यसको उदाहरणका रुपमा रसियाले युक्रेन र जर्जियामा पारेको समस्या, भारतले भुटानमा पारेको समस्या, चीनले प्रशान्त महासागरीय क्षेत्रमा पारेको समस्या र ईजरायलले पेलिस्टाईनमा पारेको समस्याहरुलाई लिन सकिन्छ।

भारतले हालै नेपाललाई पारेको समस्यालाई यसै सिद्धान्त अनुसार विश्लेषण गर्न सकिन्छ। अन्तर्राष्ट्रिय घटनाक्रमहरु विश्लेषण गर्दा एक प्रमुख शक्ति राष्ट्रले आफूभन्दा सैन्य शक्तिमा कमजोर राष्ट्रलाई समस्या पार्दा त्यसलाई रोक्न महाशक्त्ति वा अर्को प्रमुख शक्ति राष्ट्रले खासै प्रभावकारी भूमिका खेल्न सकेको देखिन्न, उसको प्रत्यक्ष स्वार्थमा दखल नपुग्दासम्म ।

वर्तमान अवस्थामा चीन र भारत अन्तर्राष्ट्रिय मञ्चमा सशक्त पहुँच भएका राष्ट्रहरु भएकाले एक अर्कालाई सिध्याउने हिसाबले विवाद सृजना गर्ने वा हुने अवस्था देखिंदैन। चीनको भारतमा क्षेत्रिय सुरक्षा, लगानी र ब्यापारको क्षेत्रमा बृहद चासो छ। त्यसका विपरित नेपाल सैन्य शक्ति र अर्थतन्त्रका हिसाबले एक निर्बल राष्ट्र हो।  आफ्नो राष्ट्रिय हितको सुरक्षार्थ नेपाललाई प्रयोग गर्नु परे वा नेपाललाई समस्या पार्नु परे यी दुवै राष्ट्र पछि पर्ने छैनन्। त्यसैले भारतले नेपाललाई पेल्दा नेपालका लागि चीनले भारतसंग पंगा लिन्छ भन्नेमा विश्वास गरि हाल्न सकिन्न।

अर्को तर्फ, चीनले सन २००८ – २०१० पश्चात् अन्तर्राष्ट्रिय मञ्चमा प्रदर्शन गरेको दबाबपूर्ण कुटनीति आफ्नो छिमेकी राष्ट्रहरुका लागि नभई नितान्तै चीनको सुरक्षा र राष्ट्रिय हितसंग सम्बन्धित भएको देखिन्छ । तिब्बत, ताईवान, दलाई लामा र प्रशान्त महासागरीय क्षेत्रका टापुहरुका बारेमा चीन दबाबपूर्ण रुपमा प्रस्तुत भएको पाईन्छ। तर छिमेकी राष्ट्रहरुको राष्ट्रिय हित रक्षार्थ दबाबपूर्ण रुपमा चीन प्रस्तुत भएको देखिएको छैन।

निष्कर्ष

भारत र चीनका राष्ट्रिय हितका केही न केही मुद्धाहरुसंग नेपाल प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जोडिएको छ। यी दुवै राष्ट्रहरुसंग नेपालले समदूरी र सहअस्तित्वमा आधारित मित्रवत सम्बन्ध कायम राख्नु नेपाल र नेपालीहरुका लागि हितकर हुने देखिन्छ। एक वा अर्को छिमेकी देखाएर एक वा अर्को छिमेकीलाई तह लगाउन सकिन्छ भन्ने भ्रमबाट हामी मुक्त हुनु पर्छ।

भारतले अनावश्यक रुपमा नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने प्रयास गरेकै हो, नेपालीहरुलाई दुष्कर कष्ट पनि दिएकै हो । त्यति हुँदाहुँदै पनि अमेरिका र रसियाले लगाम लगाउन नसकेको भारतलाई अरु कसैले लगाम लगाई देला भनेर सोच्नु ब्यर्थ छ । हाम्रो राष्ट्रिय हितको पहिचान र सुरक्षा आफ्नै पहलमा हामी आफैंले गर्नु पर्ने देखिन्छ। देशले एकै पटक आन्तरिक र बाह्य दुवै फ्रन्टमा टकराव धान्न सक्दैन ।

हाम्रो लागि एउटा मात्र नेपाल छ, अन्य शक्तिसम्पन्न राष्ट्रहरुले खेल्न र खेलाउनका लागि धेरै देशहरु हुन सक्छन्। कुनै पनि राष्ट्रको सत्तोसराप गरेर मात्र हाम्रो राष्ट्रिय हितको संरक्षण हुन सक्दैन । सजक रहौं, परिस्थितिको वस्तुगत विश्लेषण गरौं, यथासम्भव वार्ता र समझदारीबाट शिध्र समस्याको समाधान खोजौं।