मध्यपूर्वमा महिलाहरूको पिडा ,एनआरएनए महिला फोरमको सक्रियता


-डा. विनय श्रेष्ठ

विश्वभरी नै अल्पविकसित राष्ट्रहरुमा महिलाहरुका शिक्षा, स्वास्थ्य, रोजगारीदेखि लैंगिक समानतासम्मका बहुआयामिक समस्याहरु विद्यमान छन् । नेपाल पनि यी महिला समस्याहरुबाट अछुतो छैन । प्रवासी नेपालीहरुको हकहितको संरक्षण गर्ने र नेपालको चौतर्फी विकासमा सहयोगीको भूमिका निर्वाह गर्ने उद्देश्य बोकेको गैर-आवासीय नेपाली संघ नेपालमा वा नेपालबाहिर बसोबास गर्ने नेपाली महिलाहरुका मुद्दाहरुबाट पृथक रहन सक्दैन ।

गैर-आवासीय नेपालीहरुको एक ठूलो अंश महिलाहरुले ओगटेका छन्, विशेषत: मध्यपूर्व क्षेत्रमा वैदेशिक रोजगारीका लागि ठूलो संख्यामा महिलाहरु जाने गरेका छन् । महिला मुद्दाहरुको आयतन र घनत्वलाई आत्मसात गर्दै गैर-आवासीय नेपाली संघले ति मुद्दाहरुलाई सम्बोधन गर्न महिला फोरमको गठन गरेको छ ।

फोरमको हालसम्मको उपलब्धिहरुलाई हेर्दा महिला फोरमले महिला मुद्दाहरुको समाधान खोज्ने क्रममा दिर्घकालिन महत्वका सांगठनिक एवं नीतिगत पूर्वाधारहरु तयार पारेको देखिन्छ । फोरम गठन भएको केही वर्षपश्चात् नै ६१ वटा राष्ट्रिय समन्वय परिषदहरुले महिला संयोजकहरु नियुक्त गरिसकेका छन् ।

केही समय यता संघको क्षेत्रीय बैठक, सभा तथा सम्मेलनहरुमा महिलाहरुको उल्लेख्य उपस्थिति रहने गरेको छ । ति बैठक र भेलाहरुमा महिलाका मुद्दाहरुमा यथोचित महत्त्वका साथ छलफल हुन थालेको पाईन्छ । त्यसैगरी संघमा महिला सहभागिता र नेतृत्वलाई प्रतोत्साहित गर्न सन २०१७ देखि लागू हुने गरी उपाध्यक्षको पद संख्यामा बृद्धि गरी एउटा उपाध्यक्षको पद महिलाहरुको लागि छुट्याइएको छ ।

यसले सघंभित्रको महिला सहभागिता, गतिशिलता र सक्रियताको पुष्टि गर्दछ । यसै सन्दर्भमा गत २१ र २२ जुलाईमा कतारमा सम्पन्न गैर-आवासीय नेपाली संघको पाँचौं मध्यपूर्व क्षेत्रीय बैठकमा महिला मुद्दाहरुमा परिणाममूखि छलफलहरु भई गरिएका ठोस निर्णयहरुका बारेमा यहाँ विमर्श गर्ने जमर्को गरेको छु ।

मध्यपूर्वमा दुई लाख नेपाली महिला समस्यामा, श्रम सम्झौता र कानुनी सुरक्षाको आवश्यकता

मध्यपूर्वका ९ राष्ट्रिय परिषदहरुमध्ये ७ राष्ट्रका महिला प्रतिनिधिहरुले कतारमा सम्पन्न संघको पाँचौं मध्यपूर्व क्षेत्रीय बैठकमा सहभागिता जनाएको महिला संयोजक सपिला राजभण्डारीको प्रतिवेदनमा उल्लेख छ । मध्यपूर्व क्षेत्रका महिला प्रतिनिधिहरु मीना खड्का (कतार), उषा के.सी. (साउदी अरेबिया), पवित्रा दाहाल (ओमान), कल्पना राई (यूएई), लक्ष्मी गिरी (बहराईन), ईश्वरा अर्याल आचार्य (कुबेत), सुशिला राना (लेबनान) र पाहुना वक्ता मना थापा (नाईजेरीया)  ले महिला बैठकमा आ-आफ्नो देशका महिलाहरुका समस्याहरु प्रस्तुत गरेका थिए ।

डा. बिनय श्रेष्ठ
डा. बिनय श्रेष्ठ

एनआरएनएका महिला संयोजक सपिला राजभण्डारीका अनुसार साउदी अरेबियामा ७० देखि ९० हजार, कुबेतमा लगभग ५४ हजार र लेबनानमा लगभग १२ हजार महिलाहरु गैर-कानुनी रुपमा बैदेशिक रोजगार, विशेषत: घरेलु कामदारका हैसियतमा रहेका छन् । प्रतिवेदनका अनुसार, ति देशहरुमा गैर-कानुनी रुपमा बसोबास गर्ने महिलाहरू शारीरिक एवं मानसिक हिंसा, मानव तस्करी र दासता जस्ता समस्याहरुबाट प्रताडित छन् ।

कुबेत र साउदी अरेबियाबाट मात्र वर्षेनि १० हजार महिलाहरु उद्धार गरिन्छन् । यी समस्याहरुसँग जुध्न नेपाल सरकारले ति राष्ट्रका सरकारहरुसंग श्रम सम्झौता गरी कानुनी रुपमा नेपाली महिलाहरुलाई सुरक्षा प्रदान गर्नु पर्नेमा महिला संयोजक राजभण्डारीले जोड दिएकी छन् ।

नेपाली महिला उद्धार कोषको स्थापना

सोही बैठक मै छलफलबाट निर्णय गरी गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुबेतको अग्रसरता र महिला फोरमको समन्वयमा पीडित महिलाहरुको सहयोगार्थ एक “नेपाली महिला उद्धार कोष” स्थापना गरिएको छ । कोषका लागि गैर-आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष भवन भट्टले १० लाख रुपैयाँ, उपाध्यक्ष कुमार पन्तले ५ लाख रुपैयाँ र महासचिव डा. बद्रि के.सी.ले ५ लाख रुपैयाँ प्रदान गर्ने भएका छन् । यसरी संकलित रकम (२० लाख रुपैयाँ) नेपाली महिलाहरुको उद्धारमा मात्र खर्च गरिने निर्णय गरिएको संयोजक राजभण्डारी बताउँछिन् ।

पीडित नेपाली महिलाहरुका लागि “सुरक्षित घर” को आवश्यकता

गैर-आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको महिला कमिटिले गत २ वर्षदेखि एक हजार भन्दा बढी महिला कामदार भएको मध्यपूर्वको देशमा नेपाल सरकारले पीडित महिलाहरुका लागि एउटा “सुरक्षित घर” (Safe House) को व्यवस्था गर्नुपर्ने माग राख्दै आएको छ । महिला फोरमले यस मागका सम्बन्धमा कार्यक्रममा उपस्थित बैदेशिक रोजगार विभागका महाप्रबन्धक शत्रुघन प्रसाद पुडासैनीलाई जानकारी गराएको थियो ।13627179_10209788028481094_6079526082574085737_nमहिला फोरमको यो मागलाई पाँचौं एनआरएनए मध्यपूर्व क्षेत्रीय बैठकको घोषणा प्रत्रमा पनि उल्लेख गरिएको छ । त्यसैगरी पीडित महिलाहरुलाई आवश्यकता पर्दा छिटो-छरीतो सम्पर्क गर्न सकिने “स्थानिय सम्पर्क ठेगाना”को व्यवस्था गर्न सकिए पीडित नेपाली महिलाहरुलाई समय मै सहयोग पु‍र्‍याउन सहज हुने राजभण्डारी बताउँछिन् ।

नेपाली महिलाहरुको हितमा नेपाल प्रहरीसँग सहकार्य हुने

कतारमा सम्पन्न पाँचौं एनआरएनए मध्यपूर्व क्षेत्रीय बैठकमा नेपाल प्रहरीका एआईजी विज्ञानराज शर्माको महत्त्वपूर्ण उपस्थिति रह्यो । महिला सहभागीहरुसंग घनिभूत छलफल गरेपछि मध्यपूर्व क्षेत्रका पीडित नेपाली महिलाहरुको उद्धार कार्यका लागि नेपाल प्रहरीसंग सहकार्य गर्ने सहमति भएको छ । यसै सहमति अन्तर्गत लेबनानबाट तत्कालै ५ जना पीडित नेपाली महिलाहरुको उद्धार गर्न नेपाल प्रहरी सहमत भएको छ ।

महिलाहरू मध्यपूर्व आउनु पूर्व र नेपाल फिर्ता भएपछिका लागि कार्यक्रमको तर्जुमा गरिनु पर्ने

मध्यपूर्वमा कार्यरत अधिकांश नेपाली महिलाहरुमा स्थानिय भाषागत ज्ञान र पेशागत तालिमका कमीका कारण पनि समस्याहरु आइ परेको निर्क्योल गरी बैठकले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्नु अगावै नेपाली महिलाहरुलाई साधारण भाषागत र पेशागत तालिम नेपालमै प्रदान गर्न माग गरेको छ । त्यसैगरी बैदेशिक रोजगारबाट नेपाल फर्किएका महिलाहरुका रोजगारीका लागि विशेष कार्यक्रमको तर्जुमा गरिनु पर्नेमा महिला फोरमले जोड दिएको छ ।

निचोड

मध्यपूर्व क्षेत्रमा कार्यरत महिलाहरुका बहुआयामिक समस्याहरु छन् । विशेषत: नेपाली महिलाहरुका गैर-कानुनी बसाईका कारण शारीरिक एंव मानसिक हिंसा, दासता, मानवतस्करी, अन्यायपूर्ण भुक्तानीका कारण प्रताडित छन् । यी समस्याहरुको समाधानका लागि नेपाल सरकार र नेपाल सरकारका निकायहरुसंगको समन्वय र सहकार्यमा गैर-आवासीय नेपाली संघ र संघको महिला फोरमले संचालित योजनाहरुलाई थप प्रभावकारी बनाउनु पर्ने र थप परिणाममूखि योजनाहरु संचालन गर्नु पर्ने देखिन्छ । महिला फोरमको कृयाशिलता, क्रमिक विकास र महिला समस्या पहिचानमा फोरमले देखाएको सुझबुझपूर्ण दृष्टिका कारण आउँदा दिनहरूमा थप सक्रियता र सफलताको आशा गर्न सकिन्छ ।

पाँचौं एनआरएनए मध्यपूर्व क्षेत्रीय बैठकमा महिला समस्याहरुको समाधानका लागि परिणाममुखि निर्णयहरु लिन सफल महिला कार्यकर्ता एवं अभियन्ताहरु बधाईका पात्र हुन् । यसै सन्दर्भमा, यही जुलाई ३० र ३१ मा डेनमार्कको कोपेनगेहनमा आयोजना हुने नवौं एनआरएनए यूरोपेली क्षेत्रीय बैठक र सातौं एनआरएनए यूरोपेली महिला सम्मेलनको पूर्व सन्ध्यामा कतार बैठकका उपलब्धीहरू प्रासाङ्गीक बनेका छन् । यही श्रृंखलामा डेनमार्क सम्मेलनमा गैर-आवासीय नेपाली संघको महिला कमिटि र यूरोप क्षेत्रका कर्मठ महिला कार्यकर्ताहरुको प्रयासले थप सफलता पाउने आशा र प्रतिक्षा गर्न सकिन्छ ।

(लेखक गैर-आवासिय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य र पेशाले स्विटजरल्याण्डमा कार्यरत एक ‌‍र्‍यिडएसन अंकोलिजष्ट हुन ।)

 

तपाईको प्रतिक्रिया