एनआरएनको भवन र भूकम्प पिडितलाई घर बनाएर नै छाड्छौ – अध्यक्ष घले


वसन्त रानाभाट/कोपेनहेगन

गैर-आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष शेष घलेले एनआरएनले आफ्नै भवन तथा भूकम्प पिडितका लागि संकल्प गरेको एक हजार घर निर्माण गरी छाड्ने प्रतिबद्दता ब्यक्त गरेका छन्। गैर आबासीय नेपाली संघको नवौ युरोपेली क्षेत्रीय बैठकलाई आईतबार डेनमार्कको कोपेनहेगनमा सम्बोधन गर्दै अध्यक्ष घलेले यस्तो बताएका हुन्।

अध्यक्ष घलेले सहभागीहरुका जिज्ञासालाई सम्बोधन गर्दै भने, “धेरैलाई लागेको होला घलेको कार्यकालमा एनआरएन भवन र भूकम्प पिडितका लागि एक हजार घर निर्माण हुन्छ कि हुँदैन भनेर ?  म दावाका साथ भन्न सक्छु,एनआरएनले दुवै काम पुरा गरेर नै छाड्छ। तर मेरै कार्यकालमा हुन्छ वा हुँदैन यो महत्वपूर्ण हैन।”

अध्यक्ष घलेले गत बर्षको ग्लोबल सम्मेलनमा “पुन.निर्माणको सच्चा साझेदार गैर-आवासीय नेपाली संघ” भन्ने नारा राखिएको हुँदा यस्तो प्रतिबद्दतालाई पुरा गरी बताए। उनले भने, “जबसम्म हामीले गरेको प्रतिबद्धता पुरा गर्न सक्दैनौं, तबसम्म पुन:निर्माणको सच्चा साझेदार भनेर दाबी गर्न मिल्दैन। हामीले प्रतिबद्धता गरेको कार्य पुरा गर्न सके गैर-आवासीय नेपाली संघ सामाजिक र आर्थिक दुवै क्षेत्रमा नेपाल सरकार र नेपाली समाजको सच्चा साझेदार बन्नेछ।”

अध्यक्ष घलेले संघको प्रतिबद्धता वास्तविक रुपमा काम गरेर देखाउनका लागि एउटा चुनौति र अवसर रहेको समेत स्मरण गराए। उनले भने, “एनआरएनको भवन निर्माणका काममा संकल्पित छौं,भवन निर्णको बजेट करीब १९ करोडको रहेको र त्यसका लागि लगभग रकम संकलन भईसकेको छ।”

अध्यक्ष घलेले भवन निर्माणका लागि डिजाईन तयार गरेर टेन्डर आह्वान गरिएको बताउँदै अब करिब दुई हप्ताभित्रमा भवन निर्माणका लागि सम्झौता पत्रमा हस्ताक्षर हुने काम सुरु हुने प्रतिबद्धता समेत ब्यक्त गरेका छन्।उनले एनसीसीले प्रतिबद्दता गरेको रकम पठाई दिए भवन निर्माण प्रकृया सहज हुने समेत बताएका छन्। IMG_9297-1024x682गैर-आवासीय नेपाली संघले विनाशकारी भूकम्पको राहत र उद्दारकार्य पश्चात १ हजार घर निर्माणको घोषणा गरेको बताउँदै त्यसैमा आँफुहरु केन्द्रित भएको अध्यक्ष घलेले बताए। क्षतिग्रस्त घरको पुन.निर्माणको कुरा गर्दै उनले आफुहरु पिडितका लागि घर नै बनाईदिने तर्फ आँफुहरु लडिरहेको समेत बताएका छन्। अध्यक्ष घलेले थपे,” यदि हामीले घर नभनेर स्कुल वा हेल्थपोष्ट बनाउँछौं भनेको भए सायद निर्माण गरिसकेका हुने थियौं। सार्वजनिक संरचनाको पुन:निर्माण कार्य निजि स्वामित्वको भवन बनाउनु भन्दा सहज हुँदो रहेछ भन्ने अनुभव रहेको छ।”

गैर-आवासीय नेपाली संघले पुन:निर्माणका लागि गुरु योजना तयार गर्न लागेको समेत अध्यक्ष घलेले बताएका छन्।  उनले भने,” पुनर्निमाणको गुरू योजना तयार गर्नको लागि करीब २ महिना लाग्ने भएको छ ।”

उनले लाप्राकमा घरमात्र बनाउने नभई गाउँमा खानेपानी लगायतका अन्य संरचना बनाउन बिभिन्न संघ संस्थाहरुले सहकार्य र सहयोग गरिरहेको बताएका छन्। अध्यक्ष घलेले भने, “आगामी अक्टोबर सम्म गाउँमा जानेछौं, निर्माण कार्यमा सहयोगी बन्न स्वयंसेबक बन्न गाउँमा अनुरोध समेत गर्ने छौ।”

यसैबिच गैर आबासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्रो महतोले संघको प्रतिबद्दतालाई जसरी पनि पुरा गरी छाड्ने बताएका छन्। पत्रकारहरुको जिज्ञासालाई सम्बोधन गर्दै संस्थापक अध्यक्ष घलेले एक हजार घर निर्माण प्रकिया लगायत संघका योजनालाई कुनै पनि हालतमा पुरा गरी छाड्ने प्रतिबद्दता ब्यक्त गरेका हुन्।