टुर दि पोखराका लागि एनआरएनको चासो बढोस्


– बसन्त रानाभाट

फराकिला सडकहरुमा सरर गुडेका गाडीहरुले मात्र हैन, सुरुङमुनि हुइँकिने मेट्रो ट्रेन र रेन्फेहरुले विदेशमा बस्ने नेपालीहरुको मन लोभ्याएको छ । धेरैको मुखबाट सुनिन्छ, हाम्रो देशमा पनि यस्तै व्यवस्था भइदिए ! अझ सडकहरुमा साइकल गुड्ने छुट्टै लेन देख्दा नेपालीहरु झनै चकित पर्छन् । प्राय: युरोपेली मुलुकहरुको यो विकसित रुप देख्दा सबै नेपालीलाई एक पटक सोच्न बाध्य गराइदिन्छ ।

सर्वसुलभ रुपमा जनताको पहुँचमा हुने गरी सरकारले ल्याएको नीतिका कारण युरोपेली मुलुकहरुमा धेरैले साइकल प्रयोग गरेको पाइन्छ । ती मुलुकमा साइकल चढ्नेहरुका लागि व्यवस्थित र सुरक्षित छुट्टै मार्ग मात्र हैन, ठाउँठाउँमा २४ सै घण्टा साइकल उपलब्ध हुने गरी राखिएका स्टेशनहरुले यसको महत्व झनै चुलिएको छ । धुलोधुवाँरहित हुने भएकाले वातावरणमैत्री साइकलको लोकप्रियता युरोपमा बढ्दै गएको छ । यसका साथै साइकल चढ्नेहरु तन्दुरुस्त पनि हुने भएकाले सबै उमेरसमूहले रुचाएको पाइन्छ ।

साइकल चढ्नेलाई हेर्ने मानसिकता

विकसित मुलुकमा जतिसुकै सम्पन्न परिवारको भए पनि साइकल चढेर हिँडेको देख्न सकिन्छ ।  सरकारी कर्मचारीदेखि उच्चपदस्थ व्यक्तिहरुले समेत सार्वजनिक रुपमा साइकलमा यात्रा गरेको पाइन्छ । तर, हामीकहाँ खोक्रा आर्दशका गफ धेरै सुनिए पनि व्यावहारिक रुपमा साइकलको प्रयोग गरिएको पाइँदैन ।

सम्पन्न वर्गले व्यावहारिक र सार्वजनिक रुपमा साइकलमा यात्रा नगरी सौखको रुपमा मात्र चलाउँछन् ।

सरकारी उच्चपदस्थ अधिकारी, कर्मचारी, शिक्षक, विद्यार्थी, व्यवसायीदेखि पत्रकारसम्मले साइकललाई खासै यात्राको साथी बनाएको पाइँदैन । पहुँच भएसम्म मोटरसाइकल, स्कुटर तथा महँगा गाडीसम्म रोजाइका साधन बन्ने गरेका छन् । तर, बाध्यताले साइकल चढ्नेहरुको व्यथा भने प्रशस्त पाइन्छ।

नेपाली समाजमा साइकल चढ्नेलाई हेयको दृष्टिले हेर्ने दृष्टिकोण छ । साइकल चढ्नेलाई गरिब सोच्ने र आयस्रोत नभएकाले बाध्यताले प्रयोग गरेको भनी व्याख्या गर्ने प्रवृत्ति छ । एउटा सफल व्यवसायीले साइकलको प्रसंगबाट सुरु गरेर आफ्नो सफलताको कथा सुनाउँछन् । ‘मैले साइकल चढेर पहिले यसो गर्थेँ, उसो गर्थेँ ।’ मानौं साइकल चलाउनु भनेको संघर्ष गर्दाको दुःखिया बेलाको तुच्छ कहानी हो । मानौं सफल बनेपछि साइकल चाहिँदैन । संघर्ष गर्दा हरपलको साथी बन्ने साइकल सम्पन्न बनेपछि त्याग्न लायक ठानिन्छ ।

पहिले साइकल चढेर हिँड्नुपर्ने अवस्था थियो भनेर नेपाली समाजमा साइकललाई तुच्छ रुपमा हेरिएको पाइन्छ । आर्थिक रुपमा कमजोर भएकाहरुले मात्र प्रयोग गर्ने साधन भनेर व्याख्या गरेको देखिन्छ ।

अर्कातिर, नेपालका सडकहरु साइकल गुडाउन सक्ने गरी सुरक्षित पनि छैनन् । ठूला सवारीसाधनले साइकलयात्रीलाई प्राथमिकता दिएको पाइँदैन । तर, युरोपेली मुलुकमा साइकलयात्रीलाई प्राथमिकता दिनुका साथै छुट्टै लेनको पनि व्यवस्था गरिएको पाइन्छ । नेपालमा साइकल लेन त परको कुरा, फुटपाथ समेत अझै व्यवस्थित हुन सकेको पाइँदैन । कतिपय ठाउँमा साइकल लेन जस्तो बनाइए पनि जथाभावी पार्किङ गर्ने, निर्माण सामग्री थुपार्ने र पसलहरुले सामान राखेर अतिक्रमण गरेको पाइन्छ ।

नेपाली समाजमा साइकलले स्थान नपाइरहँदा यसलाई बदल्ने प्रयास नभएका भने होइनन् । साइकल प्रयोगमा जोड दिने अभियानमा लागेका संघसंस्थाहरु भेटिन्छन् । पछिल्लो समय साइकल सिटी पोखराले ‘टुर दि पोखरा’ को अवधारणा ल्याएर सकारात्मक सोच बढाउने प्रयास गरेको छ ।

के हो टुर दि पोखरा ?

विश्वव्यापी रुपमा चर्चित ‘टुर दि फ्रान्स’ बाट प्रभावित भएर गत वर्षदेखि पर्यटकीय नगरी पोखरामा ‘टुर दि पोखरा’ कार्यक्रम थालिएको हो । साइकल सिटी पोखराले स्वास्थ्य, वातावरण र पर्यटन प्रवर्द्धनको उद्देश्य राखेर यस वर्ष पनि सो कार्यक्रम आयोजना गरेको छ । गत वर्ष १२ असोज २०७२ मा साइकल र्‍याली निकाल्दै पहिलो पटक ‘टुर दि पोखरा’ सफलतापूर्वक सम्पन्न भएपछि यसको चर्चा चुलिएको थियो ।

Basanta-Ranabhat

यसपटक आँउदो असोज ८ गते (सेप्टेम्बर २४) ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नाराका साथ टुर दि पोखरा २०१६ आयोजना हुँदै छ । पर्यटन प्रवर्द्धनका विभिन्न गतिविधि भइरहेको पोखरामा स्वदेशी तथा विदेशी पर्यटकको संख्या बढाउने आयोजकको लक्ष्य छ ।

स्वस्थ रहन व्यायाम आवश्यक छ, यसको लागि साइक्लिङ उपयुक्त हुने भन्दै गत चेतनामूलक र्‍यालीको आयोजना गरिएको थियो । यस वर्ष पनि वातावरण स्वच्छ राख्न र पर्यटन प्रवर्द्धनको लागि साइक्लिङ अति उपयुक्त छ भन्ने जनचेतना फैलाउने उद्देश्य राखिएको आयोजकले जनाएको  छ । यस वर्षको साइकल यात्रा २८.३  किलोमिटर हुनेछ । पोखराको फेवातालबाट सुरु हुने साइकल यात्रा लेखनाथको बेगनास तालमा पुगेर समापन गरिने कार्यक्रम संयोजक निरज थापाले जनाएका छन् ।

सबै उमेरसमूहका लागि साइकल निकै उपयुक्त साधन रहेकाले सबै क्षेत्र, पेशाका व्यक्तिहरुका साथै सर्वसाधारणको उल्लेख्य सहभागिता रहने आयोजकको अपेक्षा छ ।

साइकल सिटी कस्तो संस्था हो ?

विकसित राष्ट्रहरुको बढ्दो औद्योगीकरण, शहरीकरण र बढ्दो सवारी चापका कारण कार्बन उत्सर्जनका कारण वातावरण विनाश भई पृथ्वीको तापमान बढिरहेको अवस्था छ । त्यसैले बढ्दो सवारी चापलाई न्यूनीकरण गर्दै साइकल प्रयोगलाई सकेसम्म बढाउँदै यसको महत्वबारे प्रचार गरी प्रदुषण हटाउन टेवा दिने र जलवायु परिवर्तन रोकथाममा थोरै भए पनि योगदान पुगोस् भन्दै साइकल सिटीको स्थापना गरिएको संस्थाले आफ्नो उद्देश्यमा प्रकाश पारेको छ ।

यस संस्थाले नेपालका विभिन्न पर्यटकीय क्षेत्रहरु सिरुबारी, पञ्चासे, सिकलेस, रारा, मुक्तिनाथ, अन्नपूर्ण राउण्ड, मिलिनियम, लुम्बिनी जस्ता ठाउँ साइकल मार्फत पुगेर तिनको प्रचारप्रसार गर्ने पनि उद्देश्य बोकेको छ । साइकलमैत्री पर्यटकीय शहरको अवधारणा समेत यसले ल्याएको छ । जस अन्तर्गत पोखरामा शान्ति स्तुपादेखि रानीवनको बाटोमा साइकल ट्रयाक खोल्ने र पोखराका सबै पर्यटकीय गन्तव्यमा साइकल स्ट्याण्ड निर्माण गर्ने जस्ता कार्य गर्ने उद्देश्य संस्थाले राख्दै आएको जनाएको छ ।

टुर दि पोखरा आयोजना गर्न खर्च कति ?

आयोजकका अनुसार कार्यक्रममा साढे ११ लाख रुपैयाँ खर्च हुने अनुमान छ । खासगरी साइकल यात्राको क्रममा प्रयोग हुने ज्याकेटले खर्चको मुख्य हिस्सा ओगटेको छ । पाँच लाख रुपैयाँभन्दा बढी यसैमा खर्च हुने आयोजकले जनाएको छ । अन्य खर्च स्टेज सजावट, ब्यानर, प्रचारप्रसार, पानी, औषधि, प्रेस मिट लगायत पूर्वतयारीमा लाग्ने जनाइएको छ ।

सहयोगदाता तथा प्रायोजकहरुबाट रकम संकलन गर्ने उद्देश्य बोकेको संस्थाले यस वर्षदेखि गैरआवासीय नेपालीहरुसँग सम्बन्ध प्रगाढ गर्ने लक्ष्य लिएको छ। एनआरएन तथा प्रवासको नेपाली समुदायबाट सुझाव तथा आर्थिक सहयोगको समेत अपेक्षा राख्दै साइकल सिटीले आफ्ना प्रतिनिधिलाई युरोप पठाएको छ ।

एनआरएनहरुसँग सम्बन्ध प्रगाढको प्रयास

विदेशको बिकसित रुपलाई देखेर आफ्नो देशलाई सम्झने एनआरएनहरुले आफ्नो मुलुकमा साईकलमैत्री बाताबरण बनाउँन भएको प्रयासलाई सबै तबरले साथ दिन जरुरी छ। परिबर्तन गर्न देशमा नै कस्सिएका युवाहरुलाई विदेशबाट हौसला बढाउँन जरुरी छ।

कार्यवाहक राजदूत खड्का, पर्यटन दूत सापकोटाको साथमा प्रतिनिधि ढकाल
कार्यवाहक राजदूत खड्का, पर्यटन दूत सापकोटाको साथमा प्रतिनिधि ढकाल

साईकल सिटी पोखराले आँफै गैर आबासीय नेपाली संघ (एनआरएनए) सँग यस्ता कार्यक्रमहरुका लागि सहकार्य गरेर अगाडि बढ्ने प्रयास गरिरहेको छ। यसका लागि संस्थाकी सदस्य करुणा ढकाल हाल युरोप यात्रामा नै छन्। टुर दि पोखराको बारेमा अभियान चलाउँदै प्रबासमा रहेको नेपाली समुदायलाई सहयोगको अपिल समेत गरेकी छन्। उनले युरोप स्थित बिभिन्न राष्ट्रिय समन्वय परिषदहरुसँग छलफल र भेटबार्ता गर्दै छन्।

विदेशमा रहेका नेपाली दूताबासहरु देखि लिएर पर्यटन दूतहरुलाई यो अभियान बारे जानकारी दिने क्रम जारी रहेको छ। यसै बीच बुधबार डेनमार्क स्थित नेपाली दूताबासमा ढकालले टुर दि पोखराको बारेमा जानकारी गराएकी छन्। भेट बार्ताको क्रममा डेनमार्कस्थित नेपाली दुतावासका कार्यबाहक राजदुत रामकाजी खड्का,डेनमार्क स्थित पर्यटन दूत सोम सापकोटाले “टुर दि पोखरा” महत्व पूर्ण कार्यक्रम रहेको भन्दै आफ्नो तबरबाट सक्दो सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गरेका छन् । यस्तै स्विटजरल्याण्डमा समेत “टुर दि पोखराको” अभियान बारे छलफल तथा अन्तरक्रिया हुने निश्चित भएको छ।

कार्यक्रम सफल पार्ने सबैको दायित्व

यस्तै प्रयासहरुबाट नै मुलुकको परिबर्तन सम्भव छ। बिशेष त सोचमा परिबर्तन आउँन सकेन भने हामीले समृद् नेपाल कहिँल्यै देख्न सक्दैनौ। सकारात्मक सोचका आयोजना गरिएको “टुर दि पोखरा” पोखरेलीहरुको मात्र कार्यक्रम हैन सम्पूर्ण नेपालीहरुको कार्यक्रम हो। मुलुक भित्र रहने नेपालीहरु मात्र हैन प्रबासमा रहेका ५० लाख भन्दा बढी गैर आबासीय नेपालीहरुको समेत कार्यक्रम हो। अत: यस्ता कार्यक्रमको लागि गैर आबासीय नेपाली संघले चासो देखाउँदै सहयोग र समर्थन गर्न जरुरी छ।

शुरुवात जहाँ जुन क्षेत्रबाट भए पनि हुन्छ ,यसलाई साथ समर्थन र सहयोग दिन सकियो भने चौतर्फी सिको गर्न सकिन्छ। फरक फरक भिजनका सकारात्मक सोच ल्याउँने यस्तै कार्यक्रमहरुले मात्र हाम्रो मानसिकतालाई परिबर्तन गर्न  सक्छ।

अन्तत: आर्थिक तथा भौतिक रुपमा सहयोग गरेर कार्यक्रमलाई सफल पार्न सबैलाई अनुरोध। “टुर दि पोखरा” सफल बन्दै आउँदा दिनमा अझ बृहत रुपमा “दुर दि नेपालको” रुप लिन सकोस् धेरै- धेरै शुभकामाना।