समस्यासँग जुधेर भए पनि मुलुकमा लगानी गर्नु पर्छ :- प्रमुख संरक्षक लामिछाने (अन्तरबार्ता)


कोपेनहेगन/ गैर आबासीय नेपाली संघ (एनआरएनए) का प्रमुख संरक्षक जीवा लामिछानेले मुलुक भित्र धेरै क्षेत्रमा लगानी गर्ने अवसर रहेको भन्दै गैर आबासीयहरुलाई लगानी गर्न आग्रह गरेका छन्। संघका पुर्ब अध्यक्ष समेत रहेका लामिछानेले नेपालमा प्रशस्त लगानीको अबसर रहेको भन्दै यस्तो आग्रह गरेका हुन्।

प्रमुख संरक्षण लामिछानेले गैर आबासीय नेपाली संघको नवौ युरोपेली क्षेत्रीय बैठकमा सहभागी बन्ने क्रममा कुराकानी गर्दै भने,” लगानी गर्न देशमा ‘केही समस्याहरु छन् तर ती समाधान नै गर्न नसक्ने खालका छैनन् । मेरो लगानीका अनुभवले पनि भन्न सक्छु नेपालमा प्रसस्त लगानीको अवसर छ।”

देशमा राम्रो बाताबरण बन्ला अनि मात्र लगानी गरौला भनेर पर्खने हो भने धेरै ढिलो भईसक्ने लामिछानेले बताए। उनले भने,” लगानी गर्नको लागि राम्रो बाताबरण बनी हाले त्यो बेला हामी प्रतिस्पर्धा गर्न नसक्ने हुन सक्छौ। त्यसैले केहि समस्याहरुसँग जुध्दै आजै मुलुकमा लगानी भित्राउँनु पर्छ।”

पुर्ब अध्यक्ष लामिछानेले देशमा राजनीतिक अस्थिरता,बन्द हड्तालजस्ता आदि ईत्यादी समस्याहरु देखिए पनि गैर आबासीयहरुले तिनको सामाना गरेर अगाडी बढ्नु पर्नेमा जोड दिए। केहि परियोजनाहरु गर्दा स्थानीय स्तरमा पनि समस्या हुन सक्ने बताउँदै तर बुझाउनु सकेको खण्डमा स्थानीय तहबाट नै ठुलो सहयोग मिल्ने लामिछानेले बताए।

कोपेनहेगनको युरोपेली बैठकमा बारे बोल्दै उनले राष्ट्रिय समन्वय परिषदहरुका आन्तरिक छलफलमा यसपटक  प्रशस्त समय उपलब्ध भएकोमा खुशी ब्यक्त गरे। लामिछानेले भने,” बिगतमा क्षेत्रीय बैठकहरुको औचित्य छैन भन्ने गुनासो सुन्दै आएका थियौ तर यस पटकको कार्यक्रममा राष्ट्रिय समन्वय परिषदहरुलाई समय दिने र क्षेत्रीय मुद्दामा केन्द्रिय हुने पुर्ब योजनाले सबै जना उत्साहित बने र सहभागिता पनि बढ्यो।”

जुलाई ३० र ३१ तारिख डेनमार्कमा सम्पन्न नवौ युरोपियन बैठकमा युरोप क्षेत्रका २७ राष्ट्रिय समन्वय परिषदहरु मध्ये २० बटा देशबाट प्रतिनिधित्व भएको थियो भने करिब ३ सय गैर आबासीयहरु सहभागी बनेका थिए।

एनआरएनए प्रमुख संरक्षक तथा पुर्ब अध्यक्ष जीवा लामिछानेसँग बसन्त रानाभाटले बैठक चलिरहँदा लिएको भिडियो अन्तरबार्ता हेर्नुहोस्।