जीवन र विकासको आधार पानी: के हो पानी अभियान ?


– डा. विनय श्रेष्ठ, स्विटजरल्याण्ड

पानी जीवनको आधार हो । जीवन र जगतको उत्पत्ति नै पानीबाट भएको वैज्ञानिकहरु बताउँछन् । हरेक जीवको शरीरको अधिकांश भाग पानीले नै ओगटेको हुन्छ । पानीमा कुनै पोषण तत्व नभए पनि बाँच्नका लागि पानी अत्यावश्यक छ । पृथ्वीको दुई तिहाई भन्दा बढि क्षेत्रफल पानीले ढाकेको छ । तैपनि विश्वको लगभग एक बिलियन जनसंख्या सफा पिउने पानीबाट बञ्चित छन् । विगतका बर्षहरुमा नेपालीहरुको पिउने पानीमा पहुँच बढेको भएपनि संयुक्त्त राष्ट्र संघको विकास लक्ष्य अनुसारको सन २०१७ सम्ममा सबैलाई सफा र स्वच्छ पिउने पानी उपलब्ध गराउन नेपाल सरकार आशातीत सफल हुने देखिंदैन । नेपाल जलश्रोतका लागि विश्व कै धनि राष्ट्र हो, तर लाखौं नेपालीहरुको अझै पनि सफा पिउने पानीमा पहुँच छैन । त्यसैगरी सिंचाईको अभावले कृषि उत्पादनमा प्रत्यक्ष प्रभाव पारेको छ ।

कुनै पनि राष्ट्रमा रहेको पिउने पानीको उपलब्धता र उक्त्त राष्ट्रको प्रति ब्यक्त्ति कुल ग्राह्यस्थ उत्पादनका बीच प्रत्यक्ष सम्बन्ध रहेको अन्तर्राष्ट्रिय अध्ययनहरुले देखाएका छन् । त्यसैले पानी जीवनका लागिमात्र नभई देश विकासको लागि पुर्वाधार पनि हो । पानी विना जीवन र कुनैपनि राष्ट्रको विकासको परिकल्पना गर्न सकिंदैन ।

यसै सन्दर्भमा पानीको समस्याबाट पीडित दाङ जिल्लाको सुनपुर गाउँमा खानेपानीका लागि ‘हरेक घरमा धारो होस्, हरेक गाउँमा सिंचाई होस्’ भन्ने मूलमन्त्रका साथ एक अभियानको संचालन भएको छ । सुनपुरका स्थानिय बासिन्दाहरु र गैर-आवासीय नेपाली संघ, पोल्याण्डका वर्तमान वरिष्ठ उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका उपाध्यक्ष मित्रलाल पार्दे जीको अभियानमा नेतृत्वकारी भूमिका रहेको मैले पाएको छु ।

सुनपुर गाउँको लागि पानी अभियान र उपभोक्त्ता समिति

विक्रम संवत २०७२ फाल्गुन १७ तदअनुसार सन २०१६ फेब्रुवरी २९ मा सुनपुर गाउँको लागि पानी अभियानको सुरूवात भएको हो । सन २०१६ फेब्रुवरी २९ तारीखका दिन आफ्नो जन्मदिनको अबसर पारेर सुनपुर गाउँबाट आई हाल पोल्याण्डमा बसोबास गर्ने समाजसेवी मित्रलाल पार्देले पचास हजार नेपाली रुपैंया अभियानका लागि छुट्टयाई सबैलाई सहयोग गर्न अनुरोध गर्दै अभियानको आरम्भ गरेका हुन् ।

अंग्रेजी पात्रो अनुसार हरेक चार वर्षमा आउने फेब्रुवरी २९ का दिन उनले समाजिक सञ्जाल फेसबुकमा ‘पानी अभियान सुनपुर’ को सुरु गर्ने घोषणा गरेका थिए । फेसबुकमा उनले , “पानी अभियानका लागि झण्डै १ करोड नेपाली रुपैयाँको आवश्यकता पर्छ । थोपा थोपा मिलेर नदि बन्दछ । संघ-संस्था र सबैमा अबको चार वर्षमा आउने फेब्रुवरी २९ सम्म पानी अभियानलाई सहयोग गरी सफल बनाईदिन हार्दिक अनुरोध गर्दछु“, भनि लेखेका थिए ।

सामाजिक सञ्जालका माध्यमबाट अभियानको घोषणा भएको झन्डै २ सप्ताह पश्चात विक्रम संवत २०७२, चैत्र ३ मा अभियानको स्थानिय ब्यवस्थापन र कार्यान्वयनका लागि सुनपुरका बासिन्दाहरुको ब्यापक सहभागिता र छलफलबाट एक सुनपुर खानेपानी तथा सरसफाई उपभोक्त्ता समिति गठन गरिएको छ । स्थानिय बासिन्दा प्रेम के. सी. को अध्यक्षतामा गठित उक्त्त समितिमा एक उपाध्यक्ष, एक सचिव, एक कोषाध्यक्ष र पाँच जना सदस्यहरु रहेका छन् । समितिले अभियानको हरहिसाब चुस्तदुरूस्त राख्न नेपाल बैंक लिमिटेड, घोराई शाखामा एक बैंक खाता पनि खोलेको छ । यसले स्थानिय बासिन्दाहरु आर्थिक मामिलामा संवेदनशील रहेको स्पष्ट पार्दछ ।

सुनपुर गाउँ
सुनपुर गाउँ

अभियानको घोषणा भएको झन्डै सात महिनाको बीचमा पानी अभियानले विश्वभरी फैलिएर रहेका प्रबासी नेपाली लगायत धेरैको ध्यानाकर्षण गर्न सफल भएको छ । यसबीच अभियानको बारेमा विद्धुतिय एवं छापाका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संचार माध्यमहरुले महत्वका साथ लेख-रचनाहरु प्रकाशित गरेका छन् । अभियान अर्थपूर्ण त छ नै, थप ब्यापक मिडिया कभरेजका कारण अभियानमा ब्यापक जनचासो बढेको पाईन्छ । हाल देखिएको ब्यापक जनचासो, सहयोग र समर्थनमा रुपान्तरित हुनसके पानी अभियानले छिट्टै नै मूर्त रुप लिने पक्का छ ।

पानीको खोजमा सुनपुर गाउँ

पानी अभियानको लक्षित गाउँको नाम सुनपुर हो । अभियानका अभियन्ता मित्रलाल पार्देका अनुसार दाङ जिल्लाको लक्ष्मीपुर गाविसमा पर्ने सुनपुर गाउँ काठमाण्डौंबाट लगभग ४१० किलोमिटरको दुरीमा अवस्थित छ । सुनपुर गाउँको जनसंख्या लगभग ३११५ छ । जसमध्येपिउने पानीको असुबिधाबाट २५०० जना प्रभावित छन् भने पुरै सुनपुर गाउँमासिँचाइको अभाव रहेको छ । गाउँको निकट रहेका सिम्सार क्षेत्रहरु (सुके दह, रोहनी दह, सरेदह आदि) मा बाँध बाधेर पानी संकलन गर्न सकिने तथा भूमिगत श्रोतबाट सिंचाई व्यवस्था गर्न सकिने पार्दे बताउँछन् ।

२० देशबाट १५ लाख सहयोग घोषणा

पानी अभियानको आरम्भ मित्रलाल पार्देबाट भएको भएपनि समयसंगै यो एक सामुहिक अभियान बनेको छ । अभियान सुरु भएको सात महिनामै २० राष्ट्रका ९१ ब्यक्तिहरुबाट लगभग पन्ध्र लाख नेपाली रुपैयाँ सहयोगको घोषणा भै सकेको पार्दे बताउँछन् । घोषित सहयोग रकम मध्ये छ लाख नेपाली रुपैंया संकलन पनि भैसकेको छ भने विभिन्न राष्ट्रबाट सहयोगको घोषणा हुने क्रम उत्साहजनक रुपमा अघि बढिरहेको छ ।

सुनपुर गाउँ उपभोक्ता समिती छलफल गर्दै
सुनपुर गाउँ उपभोक्ता समिती छलफल गर्दै

यस अभियानलाई गैर-आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष कुमार पन्त, सचिव अर्जुन कुमार श्रेष्ठ, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका ग्लोबल वरिष्ठ उपाध्यक्ष कमला दाहाल, समाजकै यूरोप सह-संयोजक गुणराज शर्मा, मिडिया संयोजक प्रकाश तिवारी, एनआरएनए अष्ट्रेलियाका कोषाध्यक्ष दिला खरेल र परिचित गायक हेमन्त शर्मा लगायत अन्य धेरै ब्यक्तित्वहरुको सहयोग र समर्थन प्राप्त भएको छ । त्यसैगरी लोकप्रिय नेपाली गायक राजेश पायल राईले आभियानका लागि विशेष सहयोग गर्ने भएका छन् । म आफैंले पनि यस परोपकारी अभियानको महत्वलाई मनन गरी एक साङ्केतिक सहयोग गरेको छु, अभियानलाई सबैको सहयोगको खाँचो छ ।

निष्कर्ष

कुनै पनि विकासे एवं परोपकारी योजनाका लागि अर्थ संकलन गर्नु सहज छैन । साथै योजनाको कार्यान्वयनका चुनौतिहरु सहज हुँदैनन् । तर पनि यो अभियान राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी ढंगले अघि बढिरहेको देखिन्छ । पानीको अभावबाट पीडित गाउँको तिर्खा मेटन संचालित अभियानका लागि गैर-आवासीय नेपाली संघ, अन्य नेपाली संध-संस्थाहरु लगायत सबैको अझै बृहद सहयोगको आवश्यकता छ । यस प्रकारका अर्थपूर्ण योजनाहरुको सफल कार्यान्वयनले प्रभावित गाउँमा विकास र सद्भाव बृढिको अपेक्षा गर्न सकिन्छ । पानी जीवन र विकासको आधार हो, महनीय पानी अभियानलाई सबैले सहयोग गरौं ।

(लेखक गैर-आवासिय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य र पेशाले स्विटजरल्याण्डमा कार्यरत एक ‌‍र्‍याडिएसन अंकोलोजिष्ट हुन्।)