बडादशैंमा युरोप दोहोरीमय हुँदै


शिब सुबेदी/पेरिस

नेपालीहरुको महान पर्ब विजयदशमीको अबसरमा युरोप लोक दोहोरी मय हुने भएको छ। फ्रान्स, बेल्जियम, फिनल्याण्ड, स्पेन, पोर्तुगल लगायतका देशका विभिन्न शहरहरुमा ‘बडादशैं लोक दोहोरी धमाका-२०१६’ कार्यक्रम हुने भए पछि युरोप दोहोरी मय हुन लागेको हो।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युरोप शाखाले स्थापना गरेको परोपकारी संगीत कोषको विकासको लागि कार्यक्रम आयोजना गर्न लागेको हो।

आगामी अक्टोबर ९ देखि १६ सम्म लोक दोहोरी कलाकारहरुको साथमा कार्यक्रम हुने तय भएको आयोजकले जनाएको छ। चर्चित गायक पुरुषोत्तम न्यौपानेको साथमा युरोपमा रहेका कलाकारहरु सुमी घिमिरे, बिनिता लामिछाने, जे बि ओली, इमान मगर, सुबास पुन, दिपक बुढाथोकी, भगवान भुजेल, नबिन भट्टराईले प्रत्यक्ष दोहोरी प्रस्तुत गर्ने भएका छन्। पछिल्लो समयमा धेरै सांस्कृतिक कार्यक्रमहरु ट्रयाकबाट संचालन भैरहेको अबस्थामा युरोप शाखाले सबै बाजा प्रत्यक्ष बजाएर गर्न लागेको कार्यक्रम पृथक हुने हुँदा दर्शकको मन जित्नेमा आयोजक बिश्वस्त रहेको छ।

नेपाली एकता समाज फ्रान्ससँगको संयुक्त आयोजनामा अक्टोबर ९ मा पेरिसमा, अक्टोबर १० मा बेल्जियमको लुभेनमा, फिनिश नेपाली समाजसंगको संयुक्त आयोजनामा अक्टोबर ११ मा फिनल्याण्डमा, एनआरएन स्पेनसँग को संयुक्त आयोजनामा अक्टोबर १६ मा बार्सिलोना लगायतका ठाउँमा मिति तय गर्दै कार्यक्रमको तयारी भैरहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युरोप शाखाकी अध्यक्ष सुमी घिमिरे सापकोटाले जानकारी दिईन्।

कार्यक्रमबाट उठेको रकम परोपकारी संगीत कोषमा जम्मा गरिने भएको हुँदा सहभागी भई सफल पारिदिन परोपकारी संगीत कोष संचालक समितिका संयोजक नबिन भट्टराईले यूरोपबासी नेपाली समुदायलाई अनुरोध गरेका छन्।