नेपाली संस्कारमा सुधार ल्याउन सहयोग गर्नुहोस्


-डिक कार्की

धर्म मनले गर्ने हो, संस्कार व्यवहारले देखाउने हो। यसो भन्दैमा धर्म विरुद्व लागौं भन्न खोजेको होइन तर केहि संस्कार हाम्रो समाजमा सुधार्न सकेमा सबैलाई फाइदा होला भन्ने आशाले यो लेखमा आफ्ना बिचारहरु पोख्न लागको छु, यदि मन परेमा सक्दो शेयर गरौँ, ब्यबहारमा उतारौं अनि हाम्रो समाज र देश बनाऔ !! यस सम्बन्धि केहि बुदाहरु :

मान्छे मर्दा १३ दिन बार्नु नपर्ने
मानिसको मृत्यु निश्चित छ। यो सत्य हो तत्पश्चात के गर्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ आफ्नो मान्छे मर्दा दुखः लागिरहेको हुन्छ, मानसिक तनाव, चिन्ता लागिरहेको हुन्छ भने अर्को आर्थिक भार खप्नु पर्ने हुन्छ, त्यही भएर अवका दिनहरुमा सरलीकरण गरौँ। सकिन्छ भने शवलाई सुरक्षित र ठाउँमा नबिग्रने गरी १, २ दिन राख्ने ता कि टाढा बस्ने परिवारका सदस्यहरु आफन्तहरु र छिमेकि साथी भाइहरुले अन्तिम बिदाइ र चिर शान्तिको कामना-प्रार्थना गरेर बिदाइ गर्ने। यदि त्यसरी राख्न नमिल्ने र मृत्यु भएकै दिन दाहा संस्कार गर्नुपर्ने त्यही दिन आफ्नो धर्म अनुसार शवलाई मलामी सहित घाटमा जलाउने वा गाड्ने र पुरोहितलाई कर्म काण्ड गरि दिए बापत दक्षिणा न्युनतम दिने वा यस कर्मकाण्डको लागि यति भनेर ज्याला दरको सुचि बनाई दिने जसले गर्दा पुरोहितलाई पनि मर्का नपरोस तर सबै कर्म काण्ड सहज र सरल तरिकाले त्यही दिन, त्यही ठाउँमा सक्ने र भोलि देखि सबै परिवारका सदस्यहरु आ-आफ्नो काम धन्दा, खेतिपाती, रोजगार, घरव्यवहार, दिनक कार्य सधैं झैं गर्न पाउने। यदि कसैलाई पुरोहितको आवश्यक नपर्ने लागेमा परिवारकै सदस्यहरुमा सल्लाह गरि फुलमाला र भित्रि आत्माले प्रार्थना गरि आफ्नै तरिकाले दाहसंस्कार गर्ने। बरु सकिन्छ भने मृत्यु भएको मान्छेको नाममा दान गर्ने, मृतकको नाममा, पाटी, स्कुल, चौतारा, सार्वजनिक शौचालय, सामुदायिक भवन, बाटो निर्माण, अस्पताल, चौकी, हेल्थपोष्ट, पानीका धारा आदिको निर्माण गरौँ, जुन सबैले देख्न र उपभोग गर्न सकौं, त्यही मात्र होइन गरिवका छोराछोरीहरुलाई स्कुल पढाईदिनुस, यसो गर्दा कम्तिमा १ गरिव बालकको भविश्य बन्छ। सुकुम्बासी वा बृद्वा आश्रममा खाना वा लुगाफाटा फलफूल वितरण गर्नुस यो भन्दा ठुलो धर्म अरु हुन् सक्दैन।

श्राद्व र महिनै पिच्छे पिण्ड चढाउनु नपर्ने
सकिन्छ भने व्यक्तिलाई बाचुन्जेल सेवा गर्नुस, जे जे सकिन्छ र इच्छा छ दिनुस तर मरेर गए पछि प्रार्थना र सम्झना गर्नुस अनि उनले दिएका आशिर्वाद, उपदेश, शिक्षा, ज्ञानलाई सम्झनुस र ब्यबहारमा उतार्नुस अनि बर्षमा १ पटक बत्ति बालेर उनको फोटो, तस्बिर वा मुर्तिमा सम्भव भए सबै परिवारका सदस्यहरु भेला भई फूलमाला चढाएर सम्झना गर्नुहोस, यो अति नै सहज, सरल र उत्तम बिधि।

दशैं तिहार 
दशैं तिहार हाम्रा राष्ट्रिय पर्व हुन् यसलाई महत्व दिएर मान्नै पर्छ तर सरल र सहज तरिकाले, आर्थिक अवस्था क्षमता र आफ्नो स्वास्थ्यको र अन्य परिस्थितिको ख्याल गरेर मनाउनु पर्छ।

चाडपर्व र भगवानको नाममा बलि हुनु हुदैन
अर्काको ज्यान मारेर, कसैको आत्मा मारेर कुनै देवी देवता, खुशी हुदैनन्, यो केवल मासु खाने निहुँ मात्र हो। तपाई देबी देवतालाई  खुशी पार्न चाहनुहुन्छ भने अबिर र फूलले खुशी पारी दिनुस तर रगतले होइन। तपाइलाई मासु खान मन पर्छ भने काट्नुस, मार्नुस, खानुस, खुवाउनुस तर भगवानको नाममा होइन यो केवल तपाइको लागि हो।  निर्धक्क हुनुस मासु पोलेर, साँधेर पकाएर, उसिनेर, भुटेर खानुस खुवाउनुस तर भगवानलाई नचढाउनुस, भगवान सफा छन् , मन्दिर सफा राख्नु पर्छ मुर्ति सफा राख्नुपर्छ, मन्दिर जानुस एउटा कुनै निश्चित सुरक्षित ठाउँमा फूल चढाउनुस, जथाभावी नफ्याक्नुस, टिका वा अबिर प्रार्थाना र संकल्प गरेर भगवानको अगाडी आफैं लगाउनुस बरदान माग्नुस, आशिर्वाद लिनुस तपाईको पूजा पनि भयो मन्दिर पनि सफा भयो। दशैंमा आफन्त साथीभाई परिवार सबै भेला हुनुस, रमाउनुस, नाच्नुस, गाउनुस, मिठा मिठा खानाका परिकारहरु बनाउनुस सक्नु हुन्छ भने भेजिटेरीयन बन्नुस सादा खाना र फलफूलमा रमाउनुस, बर्षमा १ पटक त हो नि भनेर मासु चिउरा अपज हुने गरि खानु भयो भने चाड पर्व होइन पखाला लागेर हस्पिटल इमर्जेन्सी लानु पर्ने हुन्छ त्यसको ख्याल गर्नु होला।

टिका लागउनु पर्ने नै हो भन सानो सुहाउँदो निधारमा चटक्क लगाउने, सस्ता चामल र ठेकिको मिठो दहि खेर नफालौं साधारण र सफा लुगा लगाउनुस नयाँ लुगा लगाउनै पर्छ भन्ने धारणा हटाउँ, लुगा जहिले किने पनि हुन्छ, यहि महँगो बेला किन्नु पर्छ भन्ने होइन।  जमरा राखेर अन्नको दुरुपयोग गर्नु भन्दा फूलको प्रयोग गर्ने बानि बसाल्नुस ।  दक्षिणा दिने र लिने चलन बन्द गरौँ, जसले गर्दा छिमेकि गरिब परिवारलाई असर नपरोस मादक पदार्थ सेवन नगर्नुस। जुवा, तास भन्दा साहित्य र साँस्कृतिक भजन, कृतन, नाचगान गरेर, शुभकामना आदान प्रदान गर्नुस यो नै उत्तम दशैं हुनेछ।

त्यसैगरी तिहार बिशेषत् दिदी बहिनि दाजु भाई बिचको भेटघाट नै तिहारको महत्व हो। ओखर फोर्दैमा यमराज नाश हुन्छन, शत्रु नाश हुन्छन भन्ने धराणा त्याग्नुस ओखर फाल्नु भन्दा खान उपयुक्त स्वास्थ्यको लागि। त्यसैले दिदि भाई, बहिनीको सुख दुखको साथ भावना, माया, सम्बन्ध कसो गर्दा राम्रो हुन्छ यसको बाताबरण सिर्जना गर्न, साधारण टिकाटाला र फूलमालाले सजिएर हँसिलो अनुहार नै तिहारको महत्व हो। महँगो गहना र लुगाफाटाले भन्दा सरल स्वभावमा नाचगान, बत्ति झिलिमिली रमाइलोपन, जनावर पशुपंक्षी, चरा आदि समेत सम्झिने यो पर्वले प्रकृतिलाई संरक्षण र माया गर्नु पर्छ भन्ने संदेश दिएको छ। यसलाई सधैं कायम राख्नु पर्छ। यो पर्वको अर्को राम्रो पक्ष देउसी भैलो हो।  देउसी भैलो खेलौं, जसले जति सक्छ दक्षिणा दिने र लिने र थाप्ने हुनुपर्छ। कसैको घरमा खेल्नु मिल्दैन भने जवर्जस्ती नगरौं, जुवा-तास र कौडा खेल्ने भन्दा देउसी भैलो र अन्य रमाइलो कार्यक्रम गर्ने प्रति लागौं र उक्त देउसी भैलो बाट संकलन भएको रकमले कुनै सामाजिक कार्यमा लगाउँ र समाज निर्माण गरौँ।

तिज 
मेरो बिचारमा यस पर्वलाई महिला दिवस वा महिला पर्व भन्दा राम्रो होला। यस पर्वमा ब्रत बस्दैमा श्रीमानको पुन्य हुने कुरामा म बिश्वास गर्न सक्दिन । यो श्रीमान/श्रीमती, चेली र माइती बिचको सम्बन्ध, माया र ब्यबहारले देखाउने कुरा हो।  फेरि ब्रत बसेर अल्सर, ग्यास्ट्रिक जस्ता रोगको शिकार हुनु भन्दा सादा खाना फलफूल, विभिन्न परिकार बनाउनुहोस, खानुहोस अनि खुवाउनुहोस। साधारण पोशाकमा धेरै नाचेर मनोरंजन गरेर दिन बिताउनुस तर तपाइको महँगो गहना र महँगो साडीको फेशनले गरिव छिमेकि दिदीलाई अशर पर्दछ। त्यसैले पर्व साधारण र रमाइलो हुनुपर्छ, महँगो हुनु हुदैन।

न्वारन 
यो अनावश्यक देखि रहेको छु।  यो कसैले कसैको भविश्य लेखि दिएर, जूराएर हुने होइन, यो प्रत्येकको परिस्थिति, संयोग, मेहनत र पौरखको कुरा हो।  त्यसैले यसका लागि सजिलो उपाय देशको नीति नियम अनुसार आमा बाबुलाई जे नाम राख्दा उत्तम र चित्त बुझ्छ त्यही राखे हुन्छ। संसारमा न्वान नगरेकै मानिस उत्तम खेलाडी, बैज्ञानिक र विद्वान बनेका छन्।

ब्रतबन्ध 
यो पनि आवश्यकता छैन।  हुन त आफ्नो छोरा वा छोरी जन्मेको खुशियाली बिभिन्न देखावटी मनोरंजन गर्ने रहर त पक्कै होला। यसको निहुँले भात खुवाउने निहुँ, जन्मदिनको उत्सव मनाए हुन्छ तर ब्रतबन्धको आवश्यकता र महत्व चाँही त्यति ठुलो हो जस्तो लाग्दैन। बरु त्यसको साटो अरु कुनै राम्रो शिक्षा बच्चाहरुलाई दिए राम्रो।

यी भए केहि सामान्य चाडपर्व र रितिरिवाजका सम्बन्धि मेरा नितान्त आफ्ना टिपणीहरु आगामी दिनहरुमा अन्य बिभिन्न विषयका टिप्पणी सहित आउने कोशिष गर्नेछु, सबै जनाले पढौं, बुझौं, बुझाउँ र नयाँ समाज निर्माण गरौँ । लेखनमा केहि गल्ति भएमा क्षमा चाहन्छु।

(स्पेनको बार्सिलोना निवासी लेखकका नितान्त आफ्ना बिचार हुन्)