च्याम्पियन्स लिगमा रियल मड्रिडको शानदार जित, आज बार्सिलोना र सिटीको महाभिडन्त



स्पेन – च्याम्पियन्स लिग अन्तर्गत डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले च्याम्पियन्स लिगको समूह चरणमा दोस्रो जित हाँसिल गरेको छ। मंगलबार राति भएको खेलमा रियल मड्रिडले पोल्याण्डको लेगिया वार्सालाई ५–१ पराजित गर्न सफल भएको हो ।

रियललाई जिताउन ग्यारेथ बेल, मर्सेलो, मार्को एसेनसिओ, लुकास भाजक्वेज र अल्भारो मोराटाले गोल गरेका थिए। रियलका तर्फ बाट पहिलो गोल खेलको १६ औं मिनेटमा ग्यारेथ बेलले गरेका थिए। 

च्याम्पियन्स लिगमा सन् २०१४ पछि बेलले पहिलो पटक गोल गरेका हुन् । ५-१ ले बिजयी मड्रिडलाई वार्साका खेलाडी राडोविचले एक गोल गरेका थिए । च्याम्पियन्स लिग अन्तर्गत समुह चरणको पहिलो खेलमा रियलले स्पोर्टिङलाई २–१ ले हराएको थियो भने बोरुसिया डर्टमुण्डसँग २–२ को बराबरीमा गरेको थियो।यस संगै समूह ‘एफ’मा रहेको रियल मड्रिड तीन खेलबाट सात अंक बटुल्दै दोस्रो स्थानमा पुगेको छ । 

त्यसैगरी च्याम्पियन्स लिगको समुह सी अन्तर्गत आज बार्सिलोना र म्यानचेस्टर सिटीको महा भिडन्त हुदैछ। बार्सिलोनाका पुर्व खेलाडी तथा प्रशिक्षक पेप ग्वार्डीओला यति बेला म्यानचेस्टर सिटीका प्रशिक्षक भएकै कारण पनि आजको खेललाई निकै महत्वका साथ हेरिएको छ।

ग्वार्डीओलाले २०१२ मा बार्सिलोना छाडे पछि प्रशिक्षकको रुपमा दोश्रो पटक बुधवार बार्सिलोनाको क्याम्प नउ स्टेडियममा फर्कदैछन्। यस अघि २०१४ को च्याम्पियन्स लिगको सेमिफाइनलखेल्न बायर्नमुनिखको प्रशिक्षक भएर आएका थिए त्यति बेला बार्सिलोना संग ३-० ले पराजित हुँदै फर्केका थिए।