चौथो ईनास अवार्ड सिक्किममा, बलिउड कलाकार डेनीलाई सम्मान गरिदैं।


नोभेम्बर २, अन्तराष्ट्रिय नेपाली कलाकार समाज ईनासको चौथो फिल्म अवार्ड यसपटक सिक्किमको गान्तोकमा हुने भएको छ। नोभेम्बर ९ तारिख हुने अवार्ड समारोहमा बलिउडमा आफ्नो छुट्टै पहिचान बनाएका कलाकार डेनी डेङ्जोङ्पालाई लाईफटाइम अचिभमेन्टको अवार्डद्वारा सम्मानित गरिने भएको छ।

नेपाली कला, साहित्य र संस्कृतिको प्रवर्द्धन, चलचित्रको प्रवर्द्धन तथा अन्तराष्ट्रिय बजार बिस्तार, कलाकार तथा साहित्यकारहरुको सम्मान तथा उनीहरुको वृहत हितमा कार्य गर्नका लागि ईनासले अवार्ड वितरण गर्दै आएको ईनासका ग्लोबल अध्यक्ष पुष्प बरुवालले बताउँदै आएका छन् । बरुवालका अनुसार अवार्ड समारोहमा यस पटक लाईफटाइम अचिभमेन्ट मात्रै नभई नेपाली भाषा, कला, साहित्य र सांस्कृतिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने व्यक्तित्व सिक्किमका पवन चाम्लिङ्गलाई ‘ईनास बिश्व सम्मान’ द्वारा समेत सम्मानित गरिने जनाएका छन्। 

अवार्ड कार्यक्रममा सहभागी हुनका लागि ईनासका बिभिन्न पदाधिकारी सहित करिब एक सय ५० जना भन्दा बढी कलाकर्मीको टोली सिक्किम जाने भएको छ । उत्कृष्ट चलचित्र, नायक, नायिका, गायक, गायिका सहित १९ विधामा उत्कृष्ट तीन भित्र पर्ने कलाकर्मीसमेत सहभागी हुने आयोजकले जनाएको छ ।

सिक्किमको कार्यक्रम भव्य बनाउन ईनासको सिक्किम तथा सिक्किम चलचित्र बिकास बोर्डका अध्यक्ष कलाकार उत्तम प्रधान सहितका पदाधिकारी, नेपालीभाषी कलाकार, सिक्किम सरकारसमेत सक्रियतासाथ लागिरहेको ग्लोबल अध्यक्ष बरुवालले बताए । कार्यक्रममा बलिउडका चर्चित कलाकारहरु मनिषा कोइराला, डेनी डेन्जोम्पा लगायतका नेपालबाट नायक राजेश हमालसहित दर्जनौं कलाकर्मी त्यसतर्फ जाने तयारीमा रहेका छन् ।

ईनासको चौथो अवार्ड कार्यक्रमको ब्यबस्थापनको जिम्मेवारी अन्तरा इन्टरनेसनलले पाएको छ। अन्तरा इन्टरनेशनलका अध्यक्ष सुदीप रेग्मीका अनुसार कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको र कार्यक्रम अत्यन्तै भव्य हुने जनाएका छन्।  चलचित्रको अवार्डका लागि बरिष्ट निर्देशक तुलसी घिमिरेको संयोजकत्वमा रहेको जुरीले छनोट गरेको छ। नेपाली चलचित्र क्षेत्रमा एउटा विशिष्ट अवार्डको रुपमा प्रसिद्वी कमाउदै आएको ईनास अवार्डको प्रथम संस्करण नेदरल्याण्ड दोश्रो संस्करण ह्यामबर्ग जर्मनी, तेश्रो अवार्ड काठमाण्डौमा सफलता पुर्वक सम्पन्न गर्दै चौथो संस्करणका लागि सिक्किम चुनिएको हो।