डेनमार्कस्थित नेपाली दूतावास बन्द हुने,स्पेन वा नर्वेमा सार्ने तयारी


सरकारले विभिन्न मुलुकमा रहेका दूतावासलाई पुनरावलोकन गर्ने भएको छ । आवश्यक नभएका स्थानमा दूतावास बन्द गरिने र अब अध्ययन गरेर मात्र दूतावास खोलिने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयमा मंगलबार पत्रकारहरूसँग भएको अन्तक्र्रियामा परराष्ट्रमन्त्री प्रकाशशरण महतले डेनमार्कको दूतावास बन्द गर्ने जानकारी दिए ।

यो दूतावास आवश्यक भन्दै सन् २००७ मा स्थापना भएको थियो । त्यहाँ विजयकान्तलाल कर्ण र मुक्तिनाथ भट्ट गरी दुई राजदूतले मात्र कार्यकाल पूरा गरेका छन् । डेनमार्कले पनि नेपालमा रहेको दूतावास सन् २०१७ को अन्त्यमा बन्द गर्ने भन्दै सार्जे (उपप्रमुख) स्तरमा झारेको छ । त्यहाँको दूतावासलाई नर्वे वा स्पेनमध्ये एक मुलुकमा सार्न लागिएको परराष्ट्रका अधिकारीहरूले जनाएका छन् ।

मन्त्री महतले डेनमार्कबाहेक अन्य मुलुकमा छिट्टै राजदूत नियुक्त हुने पनि जानकारी दिए । ‘डेनमार्क दूतावास बन्द गर्दै त्यसलाई अर्को मुलुकमा सार्ने वा बन्द नै राख्ने भन्नेमा छलफल भइरहेको छ,’ उनले भने । सरकारले अघिल्लो सरकारले सिफारिस गरेका २२ मध्ये परराष्ट्रका ८ कर्मचारीलाई मात्र राजदुत नियुक्त गरी अन्य १४ को सिफारिस उल्टाएको थियो । तिनै १४ मुलुकमध्ये डेनमार्कमा भने राजदूत नियुक्त हुने छैन । ‘अन्य १३ स्थानमा छिट्टै राजदूत नियुक्तिको सिफारिस हुनेछ । भ्रमण र बैठकले यसमा ध्यान दिन नपाएको हो । अब लगातार काम अघि बढ्नेछ,’ महतले भने ।

मन्त्री महतले पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले व्यक्तिगत रूपमा पनि भारतीय प्रधानमन्त्रीसँग भेटघाट गर्न पाउने बताए । भारत भ्रमणमा रहेका देउवाले मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका थिए । भेटमा देउवा पत्नी आरजु पनि सहभागी थिइन् । भारतका तर्फबाट मोदीका साथमा साउथ ब्लकका अधिकारीहरू सहभागी थिए । महतले देउवाको भ्रमणको पनि नेपालमा अनर्गल प्रचार गरिएको दाबी गरे ।

देउवा इन्डिया फाउन्डेसनको कार्यक्रममा सहभागी हुन गएको र त्यहाँ को आए, कस्तो भाषण गरे भन्ने कुराले अर्थ नराख्ने दाबी महतले गरे । उनले भने, ‘चीनले कांग्रेस र सभापति देउवालाई राम्ररी बुझेको छ । यसमा समस्या छैन । एक चीन नीतिमा देउवा अडिग रहेको विषय स्पष्ट छ । कार्यक्रममा जाँदैमा यस्तो हल्ला गर्नु वाहियात हो ।’

चीनले गरेको आपत्तिका बारेमा आएको समाचारलाई समेत सत्यता नभएको बताए । चीनले यस्ता विषयमा कुनै जानकारी नरहेको बताउँदै आफूहरूले यस्तो कुनै पत्राचार वा चासो व्यक्त नगरेको जानकारी परराष्ट्र सचिवलाई दिएको पनि महतले बताए ।

परराष्ट्र स्रोतका अनुसार सिद्धार्थ आर्ट ग्यालरीमा ताइवानको झन्डा राखिएको विषयमा चीनले जानकारी गराएपछि सरकारले तत्काल हटाउन लगाएको थियो । महतले मुखर्जीको नेपाल भ्रमण निकै सफल रहेको बताउँदै यसले नेपाल–भारत सम्बन्धलाई उचाइमा पुर्‍याएको दाबी गरे । चीनसित समेत राम्रो सम्बन्ध रहेको उनको भनाइ थियो भनी ईकान्तिपुरले समाचारमा लेखेको छ।