सिक्किममा सम्पन्न चौथों ईनास अवार्डमा ‘क्लासिक’ र पशुपति प्रसाद’ नै हावी


सिक्किम, अन्तराष्ट्रिय नेपाली कलाकार समाज ईनासले सिक्किमको गान्तोकमा आयोजना गरेको चौथों फिल्म अवार्ड कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको छ। बुधवार राती सिक्किमको गान्तोकमा सम्पन्न अवार्ड कार्यक्रममा चलचित्र ‘क्लासिक’ बिभिन्न पाँच विधामा अवार्ड हात पारेको छ। जसअनुसार उत्कृष्ट अभिनेतामा आर्यन सिग्देल, अभिनेत्रीमा नम्रता श्रेष्ठ, सम्पादक सुरेन्द पौडेल, उत्कृष्ट गीतकार डा. कृष्णहरि बराल र गायकमा युवराज चौलागार्इंले अवार्ड प्राप्त गरे भने निर्देशक दिनेश राउतले क्लासिक बाट जुरी अवार्ड जितेका छन्। त्यसैगरी चलचित्र ‘पशुपति प्रसाद’ ले उत्कृष्ट फिल्म निर्देशन, पटकथा लेखन र खलपात्रको अवार्ड जित्यो । जसमा निर्देशक दीपेन्द्र के खनाल, पटकथा लेखन खगेन्द्र लामिछाने र खलपात्रमा विपीन कार्कीले अवार्ड जितेका हुन् ।4th-inas-award

१९ विधा सहित पपुलर र जुरी अवार्ड वितरण गरिएको थियो जसमा नवअभिनेता तथा नवअभिनेत्रीतर्फ क्रमश: ‘होस्टेल रिटर्नस्’ बाट सुशील सिटौला र साम्राज्ञी राज्यलक्ष्मी शाहले अवार्ड हात पारे भने सह अभिनेता र सह अभिनेत्रीको अवार्ड होस्टेल रिटर्नसबाट  नाजिर हुसेन ‘सुन्तली’ बाट सूर्यमाला खनालले अवार्ड हात पारिन। 

अवार्डमा गीततर्फ भने फिल्म ‘वडा नम्बर ६’ को ‘सुर्केथैली खै’ ले प्राप्त गर्यो भने सोही गीतबाट संगीतकार राजनराज सिवाकोटीले पपुलर अवार्ड हात पारेका थिए। ईनास अवार्डको संगीतकारको अवार्ड प्रेमगीत चलचित्रका लागि अर्जुन पोखरेलले प्राप्त गरे।

4th-inas-2चौथों इनास अवार्डमा लाइफ टाईम अचिभमेन्टको अवार्ड बलिउडमा आफ्नो छुट्टै पहिचान बनाएका चर्चित कलाकार डेनी डेङ्जोङ्पालाई प्रदान गरेको छ। अस्वस्थताका कारण कार्यक्रममा उपस्थित हुन् नसकेका कलाकार डेनीको सम्मान उनका भान्जा निर्देशक उगेन छोपेलले ग्रहण गरेका थिए । सोही कार्यक्रममा ईनासले प्रथम पटक सिक्किमका मुख्यमन्त्री तथा साहित्यकार पवन चाम्लिङलाई ‘विश्व व्यक्तित्व’ सम्मान प्रदान गरेको थियो ।  

सिक्किममा नेपाली कलाकारको बृहत् उपस्थितिमा पहिलोपटक यस किसिमको कार्यक्रम आयोजना गरिएको सिक्किम फिल्म बोर्डका अध्यक्ष तथा अभिनेता उत्तम प्रधानले बताएका थिए। अवार्ड कार्यक्रममा फिल्मकर्मीहरू तुलसी घिमिरे, टीका पहारी, रमेश बुढाथोकी, नीर शाह, राजेश हमाल, करिश्मा मानन्धर, सञ्चिता लुइँटेल, आर्यन सिग्देल, मनीषा कोइराला, निरुता सिंह सहित रञ्जित गजमेर, विनोद प्रधान, सनी रौनियार पनि इनास अवार्डका सहभागी भएका थिए। अवार्ड समारोहमा सिन्धुपाल्चोकको गिरानचौरमा नमुना बस्ती निर्माण गरेर उदारणीय काम गरेका कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरेको ‘सुन्तली’ लाई विशेष सम्मानद्वारा सम्मानित गरिएको थियो । सिक्किम र नेपालका कलाकारहरु द्वारा बिभिन्न साँस्कृतिक प्रस्तुतिहरु सहित सम्पन्न कार्यक्रममा मनीषा कोइराला, विनोद प्रधान, रञ्जित गजमेर, उगेन छोपेल, करिश्मा मानन्धर, राजेश हमाल समेतलाई सम्मान गरिएको थियो ।

भारतकै पहिलो अर्गानिक राज्यको परिचय पाएको सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङले सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै सिक्किममा आएर फिल्म निर्माण गर्न नेपाली फिल्मकर्मीलाई अनुरोध गरेका थिए । चाम्लिङले सिक्किममा निर्माण हुने चलचित्रको आधा खर्च उठाइदिने पनि उल्लेख गरेका थिए ।