युरोपका चर्चित गायक सुभाषले ‘आधा गाग्रो पानी’ लिएर आए (म्यूजिक भिडियो)



बार्सिलोना- नेपालको हिमाली क्षेत्र लुक्ला, सोलुखुम्बुमा जन्मेर हाल स्विटजरल्याण्डमा बस्दै आएका चर्चित गायक सुभाष सुन्दासले आफ्नो नयाँ गीत “आधा गाग्रो पानी” सार्वजनिक गरेका छन्। सुन्दासले यस गीतलाई आफ्नो “उड्न देउ” एल्वममा समावेश गरेका छन्।

प्रकाश क्षणिकको शब्द, कल्याण सिंहको संगीत र सुभाष सुन्दासको मिठो आवजमा रहेको गितको म्यूजिक भिडियो इमेज च्यानल मार्फत प्रथम पटक सार्वजनिक गरिएको हो। मोहन राज अधिकारीको निर्देशनमा तयार भएको म्यूजिक भिडियोमा गायक सुन्दास साथमा रेनुका सिंह ठकुरीको अभिनय रहेको छ। अत्यन्तै सुन्दर लोकेशनमा खिचिएको म्यूजिक भिडियोमा अमृत सुनुवारको छायांकन, माधव बेलबासेको सम्पादन र कमल साउदको कोरियोग्राफी रहेको छ।

आँफुलाई गीत संगीतमा नै समर्पित गर्दै आएका सुन्दासले यस अगाडी पनि थुप्रै गित बजारमा ल्याई सकेका छन् र उनका प्राय सबै गीतले दर्शक तथा श्रोताहरुको माया पाईरहेका छन् । यस अघि सुन्दासले बजारमा ल्याएका गीतहरु ‘नाच्यो झिल्के’, ‘नक्कली’ र ‘माया हो’ हुन् उनको ‘माया हो’ बोलको गीत १८औं इमेज अवार्ड २०१६ मा उत्कृष्ट गायन विधाको मनोनयनमा समेत समावेश भएको थियो। 

देश तथा बिदेशमा आफ्नो प्रस्तुति दिदैं संगीत प्रेमीहरुमाझ आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक सुन्दास यति खेर युरोपमा रहेका नेपालीहरुमाझ लोकप्रिय बन्दै आएका छन्। आकर्षक जिउ, लामो घुम्रे कपाल अनि उस्तै खाले पोशाकमा सजिने सुन्दास युरोपका बिभिन्न देशमा हुने कार्यक्रममा पहिलो रोजाई बन्ने गरेका छन्। अहिले सम्म स्विजरल्याण्ड, स्पेन, इटाली, जर्मनी, डेनमार्क र साईप्रस लगायत अन्य थुप्रै देशहरुमा आफ्नो प्रस्तुतिद्वारा नेपालीहरुको मन जित्तै आएका सुन्दासले आफ्ना मात्र गीत गाउने नभई अन्य बिभिन्न नयाँ पुराना गायकहरुले गाएका गीतहरुलाई पनि उत्तिकै बेजोड़का साथ गाउने गर्दछन।