चलचित्र ‘दर्पण छायाँ-२’ को पोस्टर तथा टिजर सार्वजनिक


१६ नोभेम्बर, नेपाली कथानक चलचित्र दर्पण छायाँ -२ को पोस्टर तथा टिजर सार्वजनिक भएको छ। बरिष्ट निर्देशक तुलसी घिमिरेको लेखन तथा निर्देशन रहेको चलचित्रको मंगलबार राजधानीमा एक बिशेष समारोहका बीच चलचित्रको पोस्टर तथा टिजर सार्वजनिक गरिएको हो। 

चलचित्रका केहि दृष्य र गीत समावेश गरि बनाइएको टीजर बाहेक ‘दर्पणमा छायाँ कति राम्रो..’ बोलको गीत समेत रिलिज गरिएको छ। 

नेपाली चलचित्रको इतिहासमा नै सर्वाधिक हिट चलचित्र निर्देशन गरेका घिमिरेले चिनो, देउता, लाहुरे, दक्षिणा, बलिदान र दर्पण छायाँ लगायतका चलचित्रको निर्देशन गरेका थिए। 

नेपाली चलचित्र क्षेत्रमा केहि बर्ष यता नयाँ धारका चलचित्र बनि रहेका छन् र सफलता पनि पाई रहेका छन् तर यसै सेरोफेरोमा पुरानो धारका चलचित्रमा सर्वाधिक सफल निर्देशकका रुपमा चिनिएका घिमिरेले निर्देशन गरेका पछिल्ला चलचित्रले भने सफलता पाउन सकेका छैनन्। 

यतिबेला नयाँ जोस र जाँगर लिएर पुन चलचित्र निर्देशनमा फर्किएका घिमिरेले आफ्नो पुरानो बल्कबस्टर चलचित्र दर्पण छायाँ कै नाममा दर्पण छायाँ -२ लिएर आएका छन्। चलचित्रको फस्ट लुक सार्वजनिक समारोहमा बोल्दै चलचित्र दर्पण छायाँ-२ पहिलो चलचित्रको सिक्वेल नभएको समेत बताएका छन्।  

म्युजिकल लभस्टोरी भनेर ब्याख्या गरिएको चलचित्र ‘दर्पण छाया २’ मा पुष्पल खड्का, सहारा कार्की, श्रद्धा प्रसाईं, फिरोज तिमिल्सिना, सुमन घिमिरे, जीवन आचार्य, तुफान घले, सरिना पौडेल, रोसनी केसी सहित बिशेष भूमिकामा अन्य कलाकारहरु सरोज खनाल, बि.एस राणा, शेर बहादुर गुरुङ लगायतको अभिनय रहेको छ । 

काठमाडौं र भारतका सिक्किम, दार्जिलिङमा छायांकन गरिएको चलचित्रलाई सहारा फिल्मस प्रोडक्सनको ब्यानरमा डा. लोपसाङ लामाले प्रस्तुत गरेका छन् भने यस चलचित्रको प्रमुख निर्माता सबु गदाल कार्की र रबि कार्की रहेका छन्। 

फाल्गुनको अन्तिम सातातिर रिलिज गर्ने लक्ष्य राखिएको चलचित्रमा स्विजरल्याण्डमा सम्पन्न चौथों ईनास युरोप स्तरीय नृत्य प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हाँसिल गर्ने सरिना पौडेल, रोशनी केसी र तुफान घलेलाई दर्पण छायाँ-२ मा काम गर्ने अवसर दिईएको छ।  

चलचित्रको टिजर यस्तो रहेको छ।