सिनेमामा कलम चलाउने पत्रकारमा धैर्यता र अध्ययनिशलता चाहिन्छ : राई


राजाराम पौडेल,पोखरा- चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले सिनेमामा कलम चलाउने पत्रकार धैर्यता र अध्ययनमा बढी जोड दिनुपर्ने खालको हुनुपर्ने बताएका छन् । उनले सिनेमामा कर्मथलो बनाउनेहरु बढी पूर्वाग्राही भएको बताए । उनले चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरिएको ३ दिने ‘चलचित्र पत्रकारिता कार्यशाला’ को समापन कार्यक्रममा सो कुरा बताएका हुन् ।
‘पहिला निर्देशक, निर्माता र कलाकारलाई बढी जोड दिइन्थ्यो,’ उनले भने, ‘अहिले सिनेमा प्रवद्र्धन बढी गर्नुपर्ने अवस्था आएको छ ।’ उनले ग्राउन्ड वेस नभईकन सिनेमा निर्माण गरे असफल हुने बताए । सिनेमालाई परिमार्जित र व्यवस्थित बनाउनको लागि छिट्टै बक्स अफिस ल्याउने तयारी भएको घोषणा गरे । ‘नेपाली सिनेमा पूर्णता नभएपनि अहिले आएर केही परिवर्तन आएको प्रस्ट देखिन्छ,’ उनले भने, ‘फरकधारका सिनेमाले विश्वबजारमा राम्रो गरेको छ ।’ कार्यशाला र सिक्ने कुराहरु अन्त्य सम्म सिकिरहन पर्ने उनले सबैलाई सुझाए ।
नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष बद्रीबिनोद प्रतिकले सहभागि संख्या जति भएपनि सिकाईमा महत्व दिने बताए । ‘कार्यशाला परिणाममूखी हुनुपर्छ,’ उनले भने । प्रशिक्षक कृष्ण भट्टराईले नयाँ पत्रकारलाई कार्यशालाले उर्जा दिने र इन्करेज गर्ने बताए । पत्रकारिता चौथो अंग भएपनि मनोरञ्जनलाई सातौं अंगमा हेरे पनि यसको दायरा फराकिलो हुँदै गएको उनले प्रस्टाए । प्रशिक्षार्थी श्रीभद्र पौडेलले कार्यशालाबाट सिनेमा सम्बन्धी लेखन र आचारसंहिताको बारेमा जानकारी भएको बताए ।
कार्यक्रममा गुरुङ फिल्म एसोसियसनका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम), पोखरा  फिल्मस सोसाइटीका अध्यक्ष घनश्याम लामिछाने, विग एफका अध्यक्ष महेश भण्डारीले बोलेका थिए । कार्यशालामा प्रकाश सायमी, डब्बु क्षेत्री र कृष्ण भट्टराईले सिनेमाको बारेमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा पोखरा, लेखनाथ, हेम्जा मिडियामा काम गर्ने पत्रकारहरुको सहभागिता थियो ।
चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष रेम बिकको अध्यक्षता भएको कार्यक्रममा उपाध्यक्ष राजाराम पौडेलले धन्यवाद ज्ञापन र सचिव सुशन घिमिरेले सञ्चालन गरेका थिए ।