पुनःनिर्माण र लगानीमा केन्द्रित छौं – एनआरएन उपाध्यक्ष पन्त


विदेशमा रहेका नेपालीको लगानी कसरी नेपालमा भित्र्याउन सकिन्छ भन्ने विषयमा इन्डोनेसियाको बालीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। एशिया प्यासिफिक क्षेत्रमा रहेका गैरआवासीय नेपालीले आयोजना गरेको बाली समिटमा विभिन्न मुलुकमा रहेर व्यवसाय गर्दै आएका नेपालीहरु सहभागी भएका छन्।

बैंकिङ, लगानी र उद्यमशीलता शीर्षकमा विभाजन गराएर प्यानल छलफल गराइएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल राष्ट्र बैंकको वैदेशिक विनिमय व्यवस्थापन विभागका निर्देशक भीष्मराज ढुंगाना सहभागी थिए।

‘नेपालको विकासका लागि’ भन्ने अवधारणा केन्द्रित सो कार्यक्रममा सहभागी हुँदै गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष तथा जर्मनी केन्द्रित व्यवसायी कुमार पन्तले विश्वभरि छरिएर रहेका नेपालीले लगानी नेपाल लगानी लानसक्ने औंल्याए ।

एनआरएनएको उद्देश्य सुरुदेखि नै लगानी नेपाल भित्र्याउने रहेको उल्लेख गर्दै उनले भूकम्पका कारण लगानीको विषय छायाँमा परेको उल्लेख गरे। ‘भूकम्पका कारण हामी राहात र पुनःनिर्माण केन्द्रित भएपनि अब फेरि लगानी केन्द्रित छौं’, उनले भने, ‘विदेशमा रहेका साना नेपाली लगानीकर्ता समेट्दै हामी नेपाल लगानी लैजाने योजना बनाइरहेका छौं।’

कार्यक्रममा एनआरएनएका विभिन्न पदमा रहेका नेपाली व्यवसायीले आ आफ्नो अनुभवका आधारमा बैंकिङ र उद्यमशीलता विषयमा धारणा राखेका थिए।