रहेनन् हाँस्य कलाकार आर.पी भट्टराई


चर्चित हास्यकलाकार आर.पी भट्टराईको निधन भएको छ । तीतो–सत्यमा ‘लादालाम’ को भूमिका निर्वाहा गरेपछि एकाएक चर्चामा आएका आर.पीको शुक्रबार बिहान विराटनगरमा निधन भएको थियो। 

४ दिन अगाडि उनी काठमाडौंबाट आफ्नो घर विराटनगर गएका थिए । बिहिबार बेलुकी फूपूको घरमा गएका आर.पी बिहान मृत अवस्थामा भेटिएका थिए । बेलुकी खाना खाएर  सुतेका आरपी बिहान मृत भेटिएको खबर उनको फूपूको परिवारले दिएको छ ।’ ४२ बर्षका आरपी प्रेेसर र सुगर रोगबाट पीडित थिए । उनी आफ्नो मोटो शरीरका कारण चिन्तित थिए ।

पछिल्लो समय उनले अभिनय गरेको चलचित्र ‘छक्का पन्जा’ अहिले हलमा चलिरहेको छ । उनले चलचित्र ‘वडा नम्बर ६’ लगायतका केहि सफल चलचित्रमा काम गरेका छन् । 

उनको श्रीमति र २ छोरा छन् । उनले केहि समय अगाडि आफ्नै आवाजमा एल्बम पनि सार्वजनिक गरेका थिए । उनको आवाजमा समावेश ‘कालो रैछु म पनि’ बोलको गीतको भिडियो केहि हप्ता अगाडि मात्र युटुबमा सार्वजनिक भएको थियो ।

शुक्रबार बिहान विराटनगरमा निधन भएका कलाकार रुद्र प्रसाद (आरपी) भट्टराई ‘लादाराम’को शनिबार मात्रै दाह संस्कार हुने भएको छ । उनका दुई छोरा तथा आमा काठमाडौंमा रहेको तथा भाई दिल्लीमा रहेको कारण आउन ढिला हुनेभएकोले भोलीमात्रै दाह संस्कार हुने पारिवारिक श्रोतले जनाएको छ।