दूताबास मागेको देशमा,पर्यटन दूतको भिंड,किन सस्ता भए दूतहरु ?


बसन्त रानाभाट

– वसन्त रानाभाट

अहिले प्रबासमा दिनहुँ जसो समाचारको बिषय बनेको छ पर्यटन दूतको नियुक्ति। युरोपेली मुलुकमा प्राय: हप्ता दिनमा नै एक न एक जना पर्यटन दूत नियुक्तिको बिषयले बहस नै चुलिएको छ।

पर्यटन दूत के का लागि ? यसको काम कर्तब्य र अधिकारको बिषयमा नै धेरै अनबिज्ञ छन्। विदेशको नेपाली समुदायमा कति सम्मको भ्रम वा जिज्ञासा छ भने, “यो सरकारले दिएको एउटा पद हो, मासिक रुपमा तलव पनि आउँछ।”

प्रथमत: दूत बनिसकेकाहरुले पनि आँफूले के काम गर्ने ? समाजमा दूत बारे फैलिएका भ्रमलाई कसरी चिर्ने वा नेपाली समुदायलाई कसरी बुझाउँने भन्ने बारे केन्द्रित गरेको पाईदैन। अब बिदेशी समुदायलाई नै केन्द्रित गरेर नेपालको पर्यटन बिकासलाई कसरी सघाउँलान् ? यो त झनै चासोको बिषय बनेको छ।

राजनीतिक आडमा,दूत नियुक्ति

सर्बप्रथम: दूत नियुक्तिको बिषयलाई नै जोडौ। यसलाई राजनीतिक भागबण्डाको एक अंशको रुपमा बुझ्दा फरक पर्दैन। केहिँ महिना अघि नेकपा एमालेको नेतृत्वमा सरकार हुँदा बेल्जियम,डेनमार्क,फ्रान्स,स्पेनमा गरी एकै चोटी पर्यटन दूतहरु नियुक्ति भए। एमाले कै विदेश स्थित भातृसँस्था प्रबासी नेपाली मञ्च निकटहरुले दूतको नियुक्ति पाए।

फेरि एमाले नेतृत्वको सरकार ढल्यो, सरकार ढले झैँ गरी पासा पनि पल्टियो। मुख्यत: माओवादी केन्द्र  र नेपाली  काँगेस अहिले सरकारका छन् । यिनै दल निकटहरुलाई नै अबसर मिलेको छ त्यसैले फेरि दूतहरु भटाभट बनिरहेका छन्। पछिल्लो क्रममा काँगेसको भातृ संस्था नेपाली जनसम्पर्क समिति निकटहरु दूतमा नियुक्ति भएका छन्। नेपालमा सरकार बदलिएर धेरैले मन्त्री बन्ने अबसर पाए जस्तै प्रबासमा भने राजनीतिक आडमा दूत बन्ने मौका मिल्यो। सरकार बन्ने र ढल्ने खेल हुँदा यता धेरैले दूत बन्ने मौका पाए। नेपालमा सरकार ढले पछि मन्त्रीको आयु सक्कियो तर यता एक पटक दूत नियुक्त भए पछि दुई बर्ष समय समय हुने हुँदा संख्या थपिदै गएको देखियो।

नियुक्ति पाएका दूतहरु बिदेशी नागरिकहरु बाहेक अन्य प्राय: सबै दलहरु निकट नै छन्। प्रबासमा रहेर प्रर्यटनको क्षेत्रमा काम गरेका,अध्ययन गरेका,बिज्ञ वा जानकार नेपालीहरुले भने दूत बन्ने मौका पाएनन् वा त्यसको कुनै खोजि नै भएन। अर्को तर्फ निकै थोरैको संख्यामा मात्र काम गर्ने क्षमता भएकाहरुले अबसर पाएका छन्।

दिनहुँ दूतहरु थपिदै जाँदा साञ्चिकै काम गर्ने जोश भएकाहरुलाई पनि अहिले मन खिन्न बनाएका छन्। केहिँ महिना अघिमात्र नियुक्त भएका एक दूतले आफ्नो नाम नखुलाईदिने सर्तमा भने,” यस्तो जात्रा नै हुन्छ भन्ने थाहा पाएको भए म बन्ने नै थिईन। नियुक्ति नै अति धेरै भयो, यो बारे सम्बन्धित निकायले बेलैमा सोच्नु पर्छ,कम्तिमा काम गर्ने मन भएकाहरुलाई बाताबरण त बनाईदिनु पर्यो।”

राजदूत मागेको देशमा,पर्यटन दूतको भिंड

करिव एक दशक अगाडि देखि नेपाली दूताबासको माग गर्दै आएको युरोपेली मुलुक स्पेनमा भने पर्यटन दूतहरुको भिड नै लागेको छ। राजदूताबाससँगै राजदूत पनि आउँलान् भनेर बाटो हेरी बसेका यहाँका नेपालीहरुलाई भने प्रर्यटन दूत गन्न भ्याईनभ्याई छ।

यसै महिनामात्र दूतमा नियुक्त भएका एकराज गिरी र चिन्तामणी सापकोटा समेत गरी हाल स्पेनमा पर्यटन दूतको संख्या चार पुगिसकेको छ। पर्यटन बोर्डले आफ्नो अफिसियल साईटमा अपडेड गरे अनुसार  एक जना स्पेनिस नागरिक मार्कोस फर्नान्डेज पनि दूत रहेका छन्। उनलाई सन् २०१८ को  अक्टोबर सम्मका लागि जिम्मेबारी तोकिएको छ। यसै गरी २०१८ जुलाई सम्मका दीपक खरेललाई यस अघि बोर्डले नियुक्त गरेको थियो।फर्नान्डेजलाई म्याड्रिड तथा खरेललाई बार्सिलोना क्षेत्रका लागि तोकिएको बोर्डको साईटबाट नै थाहा हुन्छ।

तर फेरि सोही क्षेत्रका लागि यसै महिना दुई जना नयाँ दूतहरु थपिए। हालै थपिएका दूतहरुको बिबरण भने बोर्डले आफ्नो अफिसियल साईटमा अपडेड गरिसकेको भने छैन। दूत नियुक्त हुने क्रम अझै नरोकिए पछि स्पेनका नेपालीहरुले सामाजिक संजालमा व्यङ्ग गर्दै लेखेका छन्,” राजदूत नै आउँलान् भनेको त स्पेनमा दूतहरु मात्र आए।” स्रोतका अनुसार स्पेनका लागि दूत बन्ने लविङ् अझै चलिरहेको छ।

युरोपमा कहाँ – कति दूतहरु ?

पर्यटन बोर्डले आफ्नो साईटबाट जानकारी गराए अनुसार रसियामा तिन जना,बेल्जियम,डेनमार्क,जर्मनी,नेदरल्याण्ड,र फ्रान्समा दुई-दुई जना दूतहरु नियुक्त भएका छन्। यस्तै फिनल्याण्ड,टर्की,नर्वे,स्विडेन,स्विट्जरल्याण्ड,पोल्याल्ड,पोर्चुगलमा लागि एक- एक जना पर्यटन दूत छन्।

युरोपेली मुलुकमा अहिले दूत बन्न तछाड -मछाड जस्तै छ। बिभिन्न औपचारिक कार्यक्रममा आसनग्रहण,खादा लगायत बोल्ने अबसर पनि मिल्ने हुँदा यसमा राम्रै मोह देखिन्छ। नेपाल पुगेर होस् वा यहिँवाट सम्पर्क गरेर होस् दूत बन्ने ईच्छा ब्यक्त गरेको पाईन्छ।बिशेष गरी गैर आबासीय नेपाली संघका आबद्द भई काम गरिसकेका तथा बिभिन्न राजनीतिक दलहरुको भातृ संघ सँस्थामा आबद्द भएकाहरुले नै दूतमा बर्चश्व जमाएका छन्।  हालको अबस्थालाई मुल्याङ्कन गर्दा अझै युरोपमा दूतहरुको संख्या थपिने आकलन गर्न सकिन्छ।

देशको प्रर्यटन बिकासका लागि योगदान दिने मौका :-

बिशुद्द सामाजिक भाबका साथ निशुल्क रुपमा आफ्नो देशको पर्यटन बिकासका काम गर्ने दूतको लागि एउटा राम्रो अबसर हो। तर यसलाई कतिले अबसरको रुपमा लिन सक्लान् ? पछिल्लो क्रममा बिभिन्न देशहरुमा भएको नियुक्ति प्रकरणले त्यस्तो कुनै संकेत दिदैन।

“घुम्नका लागि नेपाल एउटा उचित गन्तब्य हो” भनेर विदेशी समुदाय माँझ सूचना प्रबाह गर्न सक्नु अर्को दूतको दायित्व भित्र पर्दछ। यसका लागि बोर्डले अफिसियल लोगो,लेटरप्याड,भिजिटिङ् कार्ड लगायत बिभिन्न सामग्रीहरु उपलब्ध गराएको हुन्छ। अर्को तर्फ नेपाली दूताबास,कन्सुलर कार्यालय,बिभिन्न कुटनीतिक नियोगहरुमा सम्पर्क स्थापित गरी नेपालको पर्यटन बिकास र प्रर्यटन प्रवद्दनका लागि पहलकदमी चाल्नु दूतको अर्को जिम्मेबारी हो। तर यी जिम्मेबारीहरु पुरा गर्न संख्या बढाएर मात्र सम्भव छैन। भित्रि मन देखि समय निकालेर काम गर्न सक्नु पर्छ।

दूतको जिम्मेबारी पाईसकेकाहरुले के कस्तो काम गरे ? त्यसको मुल्याङ्कन नै नगरी दूतको पदलाई सस्तो बनाउनु कदापी राम्रो होईन। नेपाली समुदायले गर्ने केहि औपचारिक कार्यक्रमहरु मात्र सहभागी हुने खादा लगाई भाषण मात्र ठोक्ने मात्र दूतको जिम्मेबारी होईन। यो त पदको दुरुपयोग मात्र हो। त्यसैले जसले जिम्मेबारी बोकेको छ गम्भिर हुन जरुरी छ।

बरु दूत बन्नु अघि नै आँफू जिम्मेबारी निर्बाह गर्न सक्षम छु वा छैन भन्ने बारे मनन गर्दा उपयुक्त हुनेछ।सम्बन्धित देशको भाषामा दख्खल,बिदेशी समाजसँगको घुलमूल,कुटनितिक सम्बन्ध स्थापित गर्न सक्ने क्षमताहरु दूतमा हुनु पर्ने गुणहरु हुन्। औपचारिक कार्यक्रममा नै नेपालीमा भाषण ठोकेर मात्र बिदेशी पर्यटक कसरी नेपाल पुग्लान् ? त्यता तिर पनि सोच्ने कि ? यद्दपी बिभिन्न मुलुकका लागि नियुक्त भएका सबै प्रयर्टन दूतहरुलाई सफल कार्यकालको शुभकामना।