छैटौ नेपाल लिटरेचर फेस्टिभल २०१७ भव्यताका साथ सम्पन्न


पोखरा- छैटौ नेपाल लिटरेचर फेस्टिभल २०१७ भव्यताका साथ सम्पन्न भएको छ । शब्दप्रेमीहरुलाई लोभ्याएर र फेवा ताल किनारको नेपाल पर्यटन बोर्डको प्रांगणमा चार दिन सम्म विभिन्न छलफल, चिन्तन, अन्र्तक्रिया, सांगितिक प्रस्तुतिमा केन्द्रित थियो । कार्यक्रम नेमाघ १४ देखि प्रत्येक दिन ११ बजे देखि ६ बजेसम्म सञ्चालन भयो ।

अन्तिम दिन चौरमा रहेको पहिलो सत्रमा अत्यन्त सफल साझेदारीका लागि परिचित कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आफ्ना आरोह अवरोहहरु सम्पादक गुणराज लुइँटेलसँग बाडे । यसपछिको सत्रमा लेखकहरु बुद्धीसागर र अमर न्यौपानेले आफूले कृतिहरुमा आँसुको व्यापार गरे नगरेको बारे चर्चा गरे । यस सत्रका प्रस्तोता साहित्यकार राजेन्द्र पराजुली थिए । उता हलमा भने संचारकर्मी समृद्धि राईले लोकप्रिय भारतीय लेखक दुर्जोय दत्तसँग जीवनमा प्रणयको आवश्यकताबारे कुराकानी गरे ।

चौरमा यसपछिको सत्र थियो “एन्टी शोसल मिडिया” । सामाजिक सञ्जाल असामाजिक बन्दै गएको र विभिन्न किसिमका द्वेश फैलाउँदै गएर आरोप आफ्नो जीवमा लागु भएको नभएको चर्चा गरे भुटानी पत्रकार नाम्गे जाम, लेखक सुबिन भट्टराई र चिकित्सक तथा अभियन्ता जीवन क्षत्रीले । यसकी संयोजक लेखक तथा संचारकर्मी ऋचा भट्टराई थिइन् । हलमा भने “बागी विचार” र जीवन एवं साहित्य बारे यसमा पर्ने प्रभावबारे कवि सरस्वती प्रतिक्षार लेखकहरु सरस्वती प्रतिक्षा र खगेन्द्र संग्रौला गफिए। यसका संयोजक लेखक गनेश पौडेल थिए ।

त्यसपछिको सत्रमा लेखक नारायण ढकाल तथा कविहरु सरिता तिवारी र भूपाल राईले साहित्यमा आवश्यक समयचेत र समयबोधबारे टिकाप्पिणी गरे । यस सत्रको संयोजक कवि शकुन्तला जोशी थिइन् । यति नै खेर हलको अन्तिम सत्रमा पेशा लेखकहरुको लागि बाधा बन्ने वा खुराक बन्ने विषयमा आफ्ना अनुभव सुनाउन लेखक नयनराज पाण्डे, रवीन्द्र समीर र रामलाल जोशी उपस्थित थिए। प्रस्तोता थिए भाषा सम्पादक विमल आचार्य । चौरको पाँचौ सत्र अत्यन्त विशेष रह्यो । नेपाली समाज र विशेषगरी सरकारमा देखिन थालेका चाँदीका घेराबारे नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङ र माननीय स्वास्थ्य मन्त्रीले आफ्ना विचार बाँडे । पत्रकार अमित ढकालले संयोजन गरेको उक्त सत्रमा व्यक्तिगत प्रयासले मात्र विशेष परिवर्तन गर्न निकै गाह्रो भएपनि असम्भव नभएको निष्कर्ष निस्कियो । त्यसपछिको सत्रमा जनगायक रामेशले हिमाल एशोसिएसनका प्रमुख वसन्त थापासँग कुराकानी गर्दै सबैलाई देश बनाउनका लागि आफ्नो तर्फबाट उठ्न र जुट्न आह्वान गरे ।

कार्यक्रममा पोखरा र सम्पूर्ण दर्शक, प्रायोजक र सहयोगीहरुप्रति आभार प्रकट गर्दै फेस्टिभलका कार्यकारी निर्देशक निरज भारीले भने “हाम्रो सपना साहित्यको उत्थान र विस्तार बाहेक केही होइन । हाम्रो सपनालाई साझा बनाएर आफ्नो तर्फबाट पनि सहयोग गर्न तत्पर रहने हरेक हातहरुलाई धन्यवाद भन्न चाहन्छौँ । अर्को वर्ष पनि महोत्सव यहीँ आयोजना गर्ने वाचाका साथ साहित्य, कला र संस्कृतिको समृद्धिका लागि छुट्टिन भन्दा जुट्न विनम्र अनुरोध गर्दछु ।

नेपाल लिटरेचर फेस्टिभल २०१७ को अन्तिम दिनको अन्तिम सत्रका रुपमा कविता वाचनको सत्र थियो । सरस्वती प्रतिक्षाले संयोजन गर्नुभएको उक्त सत्रमा १० जना कविले आफ्ना शक्तिशाली कविताहरुद्वारा दर्शकहरुलाई मन्त्रमुग्ध बनाए । सयौँ दर्शकहरुको भीडले आगामी वर्ष पनि यस्तै महोत्सव हुनुपर्ने माग राख्दै गर्दा नेपाल साहित्य महोत्सवको समापन भयो ।