सङ्घर्षमा कलमद्वारा श्रेष्ठ र ज्ञवाली सम्मानित


पोखरा । साहित्यकार शान्ति नारायण श्रेष्ठ र कृष्ण अन्जान ज्ञवाली सङ्घर्षमा कलम वर्षसम्मानबाट पुरस्कृत भएका छन् । कार्यक्रमका प्रमुख अतिथि साहित्यकार तथा नेपाल सरकारका उपसचिव तिलक पौडेलले सम्मानित स्रष्टालाई सम्मान अर्पण गरे ।

वर्षसम्मान अन्तर्गत पर्वतका साहित्यकार शान्तिनारायण श्रेष्ठ बाबा साहित्य साधकबाट सम्मानित भएका छन् । उनलाई संस्थाले पाँच हजार पाँच सय ५५ नगद, ताम्रपत्र र दोसल्लासहित सम्मान गरेको हो । यस्तै गुल्मी १ रुरुका साहित्यकार कृष्ण अन्ज्ञान ज्ञवाली ऋषिराम रानाभाट सम्मान वर्ष सम्मानबाट सम्मानित भएका छन् । उनलाई पाँच हजार पाँच नगदसहित दोसल्ला र सम्मानपत्रसहित सम्मान अर्पण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि साहित्यकार तथा नेपाल सरकारका उपसचिव तिलक पौडेल स्यार्कोटेले सके सपारौं नगके नबिगारौंको भाव राखेर काम गर्नुपर्ने बताए ।
सम्मानित स्रष्टा शान्ति नारायण श्रेष्ठले पोखरामा आएर सम्मान ग्रहण गर्न पाउँदा गर्व लागेको बताए ।
अर्का सम्मानित स्रष्टा कृष्ण अन्जान ज्ञवालीले साहित्यिक यात्रालाई क्लाइमेक्समा पु¥याउन पुरस्कारले प्रेरणा मिलेको धारणा राखे ।

सोही समारोहबीच सम्मानित स्रष्टा ज्ञवालीको परिचय समाजसेवी सविन जिसी र श्रेष्ठको परिचय साहित्यकार शंकर गिरीले प्रस्तुत गरेका थिए । समाजसेवी सविन जिसीले ज्ञवालीले लामाचौरका बारेमा तयार पारेको गीतको छयाङ्कनका लागि ४० हजार सहयोग घोषणा गरे । यस्तै सम्मानित स्रष्टा कृष्ण अन्जान ज्ञवालीले ऋषिराम रानाभाट स्मृति कोषको स्तरोन्नतिका लागि आफूले पाएको पुरस्कारमा पाँच हजार थपेर १० हजार कोषका संरक्षक असफल गौतमलाई हस्तान्तरण गरेका थिए ।

शुक्ला साहित्य प्रतिष्ठानको भजन उपसमितिले भजनसमेत प्रस्तुत गरेको कार्यक्रममा भूपनिधि पन्त, दिलीप दोषी, दुर्गाबहादुर शाह बाबा, नेत्रबहादुर बानियाँ, कृष्ण रानाभाट सारथि, असफल गौतम, पूर्ण नेपाली, ओमकार लामिछाने, पूर्व सम्मानित स्रष्टा रुपिन्द्र प्रभावी कटु, अम्बिका भण्डारीलगायतले बोलेका थिए ।