अस्ट्रेलिया ब्यापी उद्यमीहरुको राष्ट्रिय सम्मेलन सम्पन्न


एनआरएनए अस्ट्रेलियाको आयोजनामा अस्ट्रेलिया ब्यापी उद्यमीहरुको राष्ट्रिय सम्मेलन फेब्रवरी ५ आइतबारको दिन सिड्नीमा सम्पन्न भएको छ । अस्ट्रेलिया-नेपाल बिजिनेस काउनसिल सहआयोजक रहेको उक्त ब्यबसायीहरुको सम्मेलनको उदघाटन नेपाल सरकारका तर्फबाट न्यूसाउथवेल्स राज्यका लागि अवैतनिक महावाणिज्यदूत दिपक खड्का, एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल, एनआरएन संरक्षक ईन्द्रा वन, अष्ट्रेलिया-नेपाल विजनेस काउन्सिलका अध्यक्ष मन केसी, एनआरएन ओसियाना क्षेत्रीय संयोजक महेन्द्र लम्साल, एनआरएनका पूर्वअध्यक्ष गोवा कटवाल र कार्यक्रम संयोजक डिला खरेलले संयुक्त रुपमा गरेका थिए।

अस्ट्रेलियामा पहिलो पटक सम्पन्न ब्यबसायीहरुको आजको सम्मेलनमा अस्ट्रेलिया भरि कै ब्यबसायीहरुको उपस्थीत थियो । करिब ३०० सहभागीहरु बीच सम्पन्न उक्त कार्यक्रममा सहभागी ब्यबसायीहरुले बिभिन्न बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। बैदेशिक लगानी, एक्सपोर्ट/इम्पोर्ट, आइटी ,पर्यटन, शिक्षा, कृषि, विज्ञान प्रविधि, शैक्षिक व्यवसाय, रियल स्टेट,टेलिकम्युनिकेसन, उर्जा लागायतका क्षेत्रमा यस क्षेत्र सँग सम्बन्धित युबा उद्यमीहरुले कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसै गरि व्यावसायिक सफलताका बारेमा पनि उपस्थित बिज्ञ र उत्प्रेरक विचारकहरुले आ-आफ्नो विचार राखेका थिए ।

कार्यक्रममा न्यूसाउथवेल्स राज्यका लागि अवैतनिक महावाणिज्यदूत दिपक खड्काले नेपाल देखि हंगकंग र फेरि हंगकंग देखि अस्ट्रेलिया सम्मको आफ्नो ब्यबसायीक यात्रालाई निक्कै रोचक ढंगले सहभागी सामु व्यक्त गरेका थिए ।
नेपालको लाप्राकमा हुदै गरेको पुनर्निर्माण कार्यक्रमबाट आजै अस्ट्रेलिया आइपुग्नु भएका एनआरएनएका अध्यक्ष शेष घले कार्यक्रमको उद्घाटनको केहि पछि मात्र कार्यक्रममा सहभागी हुनु भएको थियो। लाप्राकको कार्य विवरण र बस्तु स्थित जान्न चाहने सबै सहभगीहरुको चाहनालाई सम्बोधन गर्दै उँहाले हाल सम्मका प्रगति विवरणका बारेमा आफ्नो मन्तब्य ब्यक्त गर्नु भएको थियो ।IMG_2696अस्ट्रेलियाका सफल ब्यबसायी समेत रहनु भएका अध्यक्ष घले अस्ट्रेलियामा बढेका युवा ब्यबसायीहरु संख्याले आफुलाई निक्कै खुशी लागेको ब्यक्त गर्दै नयाँ पुराना ब्यबसायीहरुले समेत ब्यबसायको धर्मबाट कहिले पनि चुक्न नहुने बताउनु भयो। मन्तब्यका क्रममा अध्यक्ष घलेले व्यवसायमा जोखिम छ, जोखिम उठाउनु पनि पर्दछ, अरु जे जोखिम ऊठाए पनि नैतिकताको जोखिम भने कहिल्यै नउठाउन अनुरोध गर्नु भयो।

एनआरएनए अष्ट्रेलियाका पुर्ब अध्यक्ष मन केसीको स्वागत मन्तब्य, बर्तमान अध्यक्ष सुरेन्द्र सिग्देलको धन्यवाद एबम समापन मन्तव्य सहित सम्पन्न उक्त कार्यक्रममा एनआरएनएअष्ट्रेलियाको तर्फबाट लाप्राक बस्ती पुनर्निर्माणका लागि ६१ हजार अष्ट्रेलियन डलरको सहयोगको चेक एनआरएनए अस्ट्रेलियाका उपस्थित पदाधिकारीहरुले अध्यक्ष घलेलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा प्रस्तुतु सबै कार्यपत्रहरुमा कार्यक्रमको सहजकर्ता रहेका डा. राजु अधिकारी सहित डा. समशेरसिंह थापा, डा. केशव शर्मा, डा. भरतराज पौडेलले सम्मेलनको निचोड प्रस्तुत गरेका थिए।