“अमेरिकाको हल्ला” न्युयोर्कमा पानि दर्कदा,काठमाडौमा छाता नओढौ


- मोहनराज बराल

– मोहनराज वराल “मुन”/ टेक्सास

‘कि ‘यो हल्लै हल्लाको देश हो’
खनेर हेर्ने हो भने यहाँका प्रत्येक घरहरुका जगमा
त्यहाँ फगत हल्लै हल्ला थुप्रिएको पाइनेछ ।
त्यसैले यो हल्लै हल्लाको देश हो
यो हल्लै हल्लामाथि उभिएको देश हो
यो हल्लै हल्लामाथि उठेको देश हो
यो हल्लै हल्लाको देश हो ।’

वि.स.२०२४ सालमा रूपरेखामा छापिएको कवि भुपि शेरचनको बहुचर्चित कविता ‘हल्लैहल्लाको देश’ का माथिका उल्लेख गरिएका कविताका अंशहरू यस कविता जन्मिएको आधा शताब्दीसम्म पनि अहिले उत्तिकै समय सान्दर्भिक नै छ। भन्निछ विज्ञान तथा प्रविधिको विकाससँगै आधार एवम् तथ्यहिन हल्लाहरू निराकरण हुनेछन्  तर नेपालको परिपेक्ष्यमा  यसको बिकाससँगै झनै यस्ता हल्लाहरूले ठाँउ पाएका छन्।  यसको मुख्यकारण त हामी प्रविधीलाई सदुपयोग गर्नु भन्दा पनि दुरूपयोग गर्न तिर उद्धत छौ।

पछिल्लो समय मुख्यत: नेपालमा गएको बिनाशकारी भुकम्पपछि यस्ता हल्लाहरू झन् झनै मौलाए। केहि अनलाईन मिडिया तथा  केहि ब्लगहरू ‘अझै ठूलो भूकम्प आउन बाँकी छ’ भन्दै अफवाह फैलाउन अग्रसर रहेको पाईयो। ज्योतिषीले यसो भनेको छ उसो भनेको छ भन्ने कुराहरूले नेपाली सामाजिक संजालको बजारमा बढि जसो रंगिए। फेरि अनावश्यक शीर्षकमा समाचार सम्प्रेषण गरी जनमानसमा त्रास, आतंक फैलाउने गलत समाचारहरूलाई सामाजिक संजालहरूमा हामीले नै प्रोत्साहन गर्यौ।

गत डिसेम्वरमा विशेष गरेर नेपाली सामाजिक संजालमा हिट भएको रातो नम्बरको हल्ला जनवरीको पहिलो हप्ता सेलाउदै जादा यसैको अन्तिम तिरबाट ट्रम्प हल्ला शुरूवात भएको छ । त्यो रातो नम्बरको हल्ला सन् २००७ अप्रिलमा पाकिस्तानबाट सुरु भएको मानिन्छ र इन्जिनियरहरुले  “मोबाइल तथा स्मार्टफोनमा फोन आउँदा उत्पन्न गर्ने ध्वनी तरंगले मान्छेलाई घाइते पार्ने वा मार्नेसम्मको क्षमता राख्न सक्दैन ।” भनिरहदा पनि त्रास दिईरहने काम भयो। यसैको काण्डमा केहि कलाकारहरुलाई समेत नेपालमा समातेर यथार्थ बाहिर ल्याउँने कोशिस भयो।

अहिले नेपाली शेयर बजार ओरालो झर्दै लालमय वन्दै गर्दा समाचारहरू भने ट्रम्पमय वनेका छन्। यसकारण पनि होला गत महिना पोखरामा सम्पन्न नेपाल साहित्य महोत्सवमा डा.धुर्वचन्द्र गौतम र लेखक खगेन्द्र संग्रौला विचको अलिखित संवादमा लेखक खगेन्द्र संग्रौलाले भनेका थिए,”नेपालका वुद्दिजिवी भनाउदाहरू आफ्नो समस्याहरू देख्दैनन् अनि अखबारमा लेखछन्  “ट्रम्पका समस्या र समाधानहरू।” हुन पनि हामीले हाम्रो टाउकोमा रहेको जुम्रा देखेका छैनौ तर अरूको टाउकोको जुम्रा देखिरहेका छौ।

अहिले नेपालमा सामाजिक संजाल,केहि अनलाईन मिडिया,केहि ब्लगहरू यो हिऊदमासको ठण्डा मौमसमा पनि तातिरहेका छन्।  कारण एउटै छ “ट्रम्पको आप्रावासी नीति” । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेश जारी गर्दै सात वटा मुस्लिम देशका नागरिकलाई अमेरिका आउँनबाट रोक्ने भनेपछि अदालतले अन्तिम फैसला नहुन्जेल लागू नगर्न अन्तरिम आदेश जारी गरेको छ। ट्रम्पको आदेशले इराक, सिरिया, इरान, लिबिया, सोमालिया, सुडान र यमनबाट आउने कुनै पनि यात्रीहरुलाई अमेरिका प्रवेश गर्न रोक लागेको थियो। शरणार्थी स्वीकार गर्ने कार्यक्रम पनि १ सय २० दिनको लागि निलम्बन भएको थियो भने सिरियाली शरणार्थीमाथि त अनिश्चितकालीन प्रतिबन्ध लगाइएको थियो। उनको नीति भने आप्रवासी विरोधी नै हो।

फेरि पनि अहिले हामी यति धेरै हल्ला गरेका छौ कि आप्रावासी नीति केबल नेपालीलाई मात्रै केन्द्रित छ जस्तो । अहिले नेपाली बजारमा अमेरिकाबाट नेपालीलाई आफ्नै देश जाऊ भनी धम्की दिइएको भन्ने हल्लाहरू भाईरल नै छन् । तर नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिलेसम्म नेपाल शब्द उच्चारण गर्दै वा लक्षित गर्दै केही भनेका वा गरेका भने छैनन्। तर सामाजिक संजालमा हेर्दा त यस्तो लाग्छ, ट्रम्पले नेपालीहरुलाई नै सम्बोधन गरी “तिमीहरु आफ्नै देश जाऊ, हाम्रो देशमा बस्न अधिकार छैन।” भने जस्तै छ।

उनले लिएको नीतिको बारेमा अमेरिका नै ठुलो  बिरोध छ। यो वारे धेरै सबै जसो जानकार नै छन् तर नेपालीहरुलाई हाल परेको प्रभाव बारे अध्ययन वा बिश्लेषण बिना नै हल्ला गर्नु कति सान्दर्भिक होला ? पङ्तिकारलाई राष्ट्रपतिको नीतिले बिश्व समुदायबाट अमेरिकामा रहेका सम्पूर्ण आप्रबासी प्रति गरेको व्यबहारले भन्दा पनि नेपालमा फैलिएको प्रदुषित हल्लाले चिन्तित तुल्याएको छ।

युनिभर्सिटी ,कलेज तथा होस्टेलहरूमा नेपाली विद्यार्थीहरू माथी दुर्व्यवहार भईरहेको छ । “गो व्याक योर कन्ट्री “ कोठाको ढोकामा टाँसियो भन्ने झुटा र भ्रमपुर्ण कुराहरू नेपालका नाम चलेका छापा एवम् राम्रा भनिएका अनलाईन न्युजपोट्रलमा भाइरल बनेका छन् । अब अमेरिकामा रहेका नेपाली आप्रावासीहरू युरोप जाँदै भन्ने न्युजहरू पनि आए।वास्तविक रूपमा यि भ्रमपुर्ण समाचारहरू नै हुन् ।सरकार परिवर्तन हुदा या नयाँ नियमहरू आउदा सम्पूर्ण आप्रबासीहरुलाई कठिन हुनु त स्वभाबिक नै हो तर समाचारमा गरिएका हल्लाहरु  केबल हल्लाहरु नै हुन्। मेरो आलेख धेरैले सेयर गरिदिउन्,पाठकको मन कसरी खिच्न सकिएला भन्ने नियतले नै अमेरिकाको पछिल्लो बास्तबिकता झल्काउँने सामग्रीहरु ठुलै मिडियाबाट पढ्दा झनै हास्यास्पद छन्।

मानौ न्युयोकमा पानी दर्केको छ छ तर हामी काठमाण्डौमा छाता ओढ्ने काम गरिरहेका छौ। हो अहिले अमेरिकामा रहेका आप्रबासीहरूलाई बारेको हल्ला पनि यसरी नै फैलिएको छ। अमेरिकामा रहेका नेपालीहरु लगायत आप्रबासीबारे नयाँ राष्ट्रपतिले ल्याएको नीतिले सबैमा कौतुहलता भने अबश्य जागेको छ तर हल्लामा नै फिजिए जस्तो अबस्था भने अबश्य नै छैन।

भनिन्छ अमेरिकामा वस्नेहरू साताका पाँच दिन हाड घोट्छन र बाँकी दुई दिन कार्ड घोट्छन्।यहाँ अहिले नि यस्तै छ।कतिलाई त के हुदैछ यहाँ थाहा नै छैन।यहाँ काम गर्ने ठाँउमा होस् अन्त कुनै ठाँउमा राष्ट्रपतिले के गर्दै छन् बारे धेरै अनबिज्ञ नै छन् तर काठमाडौ भने मजैले बहसमा तातिएको छ। पत्रिकाका फ्रन्टपेज अमेरिका कै तातो बसहले भरिएका छन्। नेपालीहरु बाक्लो रुपमा रहेको देश प्रति चासो राख्नु स्वभाबिक नै हो,तर देशमा संबिधान कार्यान्वयन होला नहोला भन्दा पनि ट्रम्पले के गर्लान् भनेर चासो राख्नु कति सान्दर्भिक होला।

“अमेरिका ! मैले तिमीलाई सबथोक सुम्पिएँ र म रित्तिएँ

म आफ्नै मस्तिष्कले उभिन सक्दिनँ।”

वास्तवमा कवि एलेन गिन्सबर्गको  सन १९५६ जनवरी १७ मा प्रकाशित “अमेरिका”भन्ने कविताको माथीको अंश जस्तै नै छ अमेरीका।

फेरि अमेरिका आफैमा पनि आप्रबासीहरूले बनेको देश हो। वर्तमान अमेरिकी रास्ट्रपति डोनाल्ड जे. ट्रम्पका पिता फ्रेडरिक ट्रम्प पनि एक आप्रावासी हुन् । उनि जर्मनीबाट सन् १८८५ मा न्युयोर्कमा बसाईं सरेका थिए। अमेरिका विविध संस्कार,परम्परा ,धर्म ,वर्ण र आस्था बोकेका आप्रवासीहरुको बाहुल्यता रहेको देश हो।यहाँ पहिलो पटक सन १६१९ मा नर्थ अमेरिकन कोलोनी जेम्सटाउन भर्जेनियामा अफ्रिकन नागरिकहरुलाई  दासको रुपमा नाफादायक बालीहरु जस्तै सुर्ती उत्पादन गर्नको लागी ल्याईएको थियो।

फेरि यो आप्रावासीले वनेको देशमात्रै नभई लामो समयसम्म बेलायती उपनिवेश रहेको मुलुक पनि हो। ४ जुलाई १७७६ मा अमेरिका बेलायतबाट स्वतन्त्र भएको घोषणा भएपछि अफ्रिकन अमेरिकन दासहरुलाई देशको आर्थिक पुर्वाधार ,विकास निर्माणका कामहरुमा परिचालन गरियो । तत्कालीन समयमा खासगरी विभिन्न मुलुकबाट अमेरिका प्रवेश गर्नुको मुख्य कारणहरुमा आर्थिक अवसर,धार्मिक स्वतन्त्रता,धार्मिक अभ्यास,राजनैतिक स्वतन्त्रता,डर-त्रासहरुबाट जोगिन ,सम्पन्नताको खोजी,शान्तीपुर्ण जीवनयापन आदी पर्दथ्यो ।वर्तमान समयमा हेर्ने हो भने पनि यहाँ आप्राविसीहरू आउने कारण र उद्देश्यहरू यिनै हुन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो चुनाबी मुद्दा नै आप्रबासी सम्बन्धित मुद्दामा केन्द्रित भएकाले यसरी कडा रुपमा नै प्रस्तुत हुन खोजेको सबैले बुझेका छन्। तर सिंगो अमेरिकालाई नै कुल्चेर यति गतिमा अघि बढ्न उनलाई पनि सजिलो कहाँ छ र ? बिश्व समुदायले नै आलोचना सुरु गरिसक्दा राष्ट्रपति ट्रम्पलाई यहि नीतिले अगाडी बढ्न कठिन छ। न्यायपालिका माथि नै जुहारी खेल्ने ट्रम्पलाले राष्ट्रपतिको हैसियतबाट बिश्व समुदायबाट नै आलोचित हुने गरी यस्ता व्यबहारहरु दोर्हाउनु झनै घातक हो।  त्यसैले हामी यति धेरै डम्फु बजाउन समय खर्च नगरौ। हो उनको आप्रबासी नीतिका कारणले बिश्व समुदायलाई नै चिन्तित तुल्याएको छ तर “अमेरिकाको न्युयोकमा पानी दर्केको छ,काठमाण्डौमा बसेर छाता ओढ्ने काम नगरौ।”

  • लेखक हाल अमेरिकाको टेक्सासमा छन्।