अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीद्धारा तीन वाङ्मयसेवी सम्मानित


पोखरा-अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीको प्रथम स्थापना दिवस विविध कार्यक्रमका साथ मनाइएको छ । समितिले स्रष्टा सम्मान, आजीवन सदस्यता वितरण, रचनावाचनलगायतका कार्यक्रम गरी स्थापना दिवस मनाएको हो ।

संस्थाले वरिष्ठ संस्कृतिकर्मी चेतन कार्कीलाई अभिनन्दन, नेपाली मुक्तकलाई अंग्रेजी भाषामा प्रकाशन गर्ने मुक्तककार तीर्थराज अधिकारीलाई मुक्तकमणि उपाधि र नेपाल मुक्तक प्रतिष्ठान नेपालका अध्यक्ष रामकाजी कोनेलाई विशेष सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि अनेसास केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष राधेश्याम लेकालीले पुष्पाअर्पणसहित दोसल्ला र ताम्रपत्रले अभिन्नदन तथा सम्मान गरे । सो अवसरमा संस्थाको आधिकारिक वेवसाइट डब्लुडब्लुडब्लु आइएनएलएस गण्डकी डट ओआरजीको पनि प्रमुख अतिथि लेकालीले शुभारम्भ गरे ।

कार्यक्रमका प्रमुख अतिथि लेकालीले अनेसासले पछिल्लो समय नेपाली भाषामा देखिएको विवाद शुद्धिकरण सँगसँगै अनेसासलाई समृद्ध बनाउन विधान सम्बोधनमा लागिरहेको बताए । अतिथि लेकालीले अनेसास साहित्यका क्षेत्रमा लाग्ने सबैका लागि खुल्ला आकाश भएकाले त्यसमा स्वतन्त्र रुपमा सबै वाङ्मयसेवी विचरण गर्न सक्ने धारणा राखे । कार्यक्रममा अभिनन्दिन स्रष्टा संस्कृतिकर्मी चेतन कार्कीले आफूले जीवनमा केही गरे जस्तो नलागे तापनि संस्थाले देखाएको मायाले अझै धेरै कार्य गर्न बाँकी रहेको बताए ।

अर्का सम्मानित स्रष्टा तीर्थराज अधिकारीले नेपाली मुक्तकलाई शुद्ध नेपाली शब्दमै दोस्रो भाषामा झटारो प्रकाशन गरे तापनि अनेसासले दिएको मुक्तकमणि उपाधि खरायोको जीउमा स्रिंहको टाउको जोडे जस्तो गहुँगो अनुभूति भएको धारणा राखे । अर्का सम्मानित स्रष्टा रामकाजी कोनेले पोखरामा आएर सम्मानित हुन पाउँदा हर्षानुभूति भएको बताए ।

कार्यक्रममा प्रकाश सायमीले चेतन कार्की, दुर्गा न्यौपानेले तीर्थराज अधिकारी, कल्याण पन्तले रामकाजी कोनेको परिचय प्रस्तुत गरेका थिए । यस्तै प्राज्ञ हरिदेवी कोइराला, गीतकार सुवासचन्द्र ढुंगेल, कवि मुरारी सिग्देल, डा. जगन्नाथ रेग्मी, भुपनीधि पन्त, सहप्राध्यापक नवराज सुवेदी, रेन्डम रिडर्स सोसाइटी अफ नेपालका अध्यक्ष उपेन्द्र पौडेललगायतले शुभकामना मन्तव्य राखेका थिए । अनेसास गण्डकीका अध्यक्ष दुर्गाबहादुर शाह बाबाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष देवेन्द्र केसीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव असफल गौतमले गरेका थिए ।