एशिया क्षेत्रीय सम्मेलन मार्च १८ र १९ तारिख मलेसियामा हुने


– कोपीला गौतम /क्वालालाम्पुर

सम्बृद्ध राष्ट्र निर्माणका लागि दक्ष जनशक्ति’ मुल नारा राखेर मार्च १८ र १९ मा गैर आवासीय नेपाली संघ एशिया प्यासिफिक क्षेत्रीय सम्मेलन मलेसियामा आयोजना हुने भएको छ। क्वालालाम्पुरस्थित होटेल ग्राण्डमा हुने यस कार्यक्रममा गैर आवासीय नेपाली संघ एशिया प्यासिफिक क्षेत्रका मातहतका सबै राष्ट्रहरुले प्रतिबेदन प्रस्तुत गर्ने भएका छन।

आयोजक राष्ट्र मलेसियाले केही अघि बैदेशिक रोजगारीका क्रममा दु:ख पाएकाहरुको हितका लागि कल्याणकारी कोषको शुभारम्भ गरिसकेको छ। श्रम तथा रोजगार मन्त्री सुर्यमान गुरुङको प्रमुख आतिथ्यमा शुभारम्भ गरिएको एनआरएन मलेसिया कल्याणकारी कोषको निरन्तरताकै रुपमा एनआरएन एशिया प्यासिफिक क्षेत्रीय सम्मेलन गरिन लागेको एनआरएन मलेसियाका अध्यक्ष विश्व राईले बताए। सम्मेलनको तयारी तिब्र रुपमा भईरहेको पनि उनले बताए।

कल्याणकारी कोषमा हालसम्म दश लाख रुपैया संकलन भईसकेको राईले जानकारी दिए। सम्मेलनको उद्घाटन नेपाल सरकारका परराष्ट्र मन्त्री प्रकाश शरण महतले गर्ने भएका छन्।

सम्मेलनकै अवसरमा मलेसियामा एक दिने एसिया प्यासिफिक फुटसल २०१७ प्रतियोगिताको आयोजना पनि गरिने भएको छ। जसमा विजेता टीमले दशलाख तथा दोश्रो हुनेले तीन लाख जापानिज एन पाउने गैर आवासीय नेपाली संघ एशिया प्यासिफिक क्षेत्रीय सम्मेलनका संयोजक किरणविक्रम थापाले जानकारी दिएका छन्। फुटसल प्रतियोगिताको संयोजकमा एनआरएनए जापानका अन्तराष्ट्रिय युवा प्रतिनिधि लेलिन भट्टचन रहेका छन।