म जन्मँदै कालो,हुर्कंदा कालो,मर्दासम्म पनि कालो…


- मोहनराज बराल

-मोहनराज बराल “मुन”

किन गोराहरू मलाई ‘कलर्ड पिपुल’ भन्छन् हँ ?

जन्मँदै कालो म,

हुर्कंदा कालो म,

घाममा निस्कँदा कालो म,

डराउँदा कालो म,

विरामी हुँदा कालो र,

म मर्दासम्म पनि कालो

तर तिमी गोरा साथीहरू

तिमी जन्मँदा गुलाबी

तिमी हुर्कंदा गोरो

तिमी घाममा निस्कँदा रातो

तिमी चिसोमा नीलो

तिमी डराउँदा पहेँलो

तिमी विरामी हुँदा हरियो

जब तिमी मर्छौ,

तिमी खरानी रंगको

अनि तिमी नै मलाई

कलर्ड भन्छौ र ओहो !

यो माथिको कविता संयुक्त राष्ट्रसंघले सन् २००६ मा घोषणा गरेको संसारको उत्कृष्ट कविता हो।जुन कविता लेख्ने अफ्रिकी बच्चाको नाम सुरक्षाका लागि भनेर सार्वजनिक गरिएन । पछि मिडियाबाट बाहिर आयो उनि डेबिड सेज हुन् भनेर ।

एक मानिसले अर्कों मानिसलाई छालाको रंगको आधारमा गरिएको विभेदलाई वालकले कविता मार्फत सटिक उत्तर दिएका छन् । गोराहरूको ठाँउमा कालाहरु हेपिने तथा एक जातको बाहुल्यता भएको ठाँउमा अर्को जातलाई हेपिने। स्थानियबाट आप्रवासीहरु हेपिने। जित्नेपक्षबाट हार्ने पक्षलाई दास बनाउने। यस्ता सामाजिक न्याय विपरीतका गतिविधिहरू अझै पनि समाजमा कतै न कतै पाईन्छ।

मान्छेले मान्छेलाई मान्छेको दर्जा दिन छाडेका छन्। जसका अप्रत्यक्ष पदचिह्नहरु आज पनि समाजमा भेटिन्छ।  अहिले मान्छे मान्छेमा विभेद हुनु हुदैन भन्ने धारणा सहित सामाजिक न्यायको अवधारण अगाडि आएको छ। “विश्व सामाजिक न्याय दिवस।”  संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष फेब्रुअरी २० तारिख अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवस मनाउने गरिन्छ।

सन् २००७ को २६ नोभेम्बरमा बसेको राष्ट्रसंघको महासभाले सामाजिक न्याय दिवस मनाउने घोषणा गरेको थियो । सोही अनुसार सदस्य राष्ट्रहरुले बर्षेनी यो दिवस मनाउँदै आएका छन्।वास्तवमा मानिस एउटा सामाजिक प्राणी हो, उसका कृयाकलाप, जन्ममरण, दु:ख र सुख आदिको समाज बाहिर कुनै महत्व छैन । फेरि समाज मानवको आधारशिला हो। सम्भवत: मानवजगतको पहिलो र आधारभुत सामाजिक आविष्कार नै समाज हो । यसकारण सामाजिक न्याय सहितको समाज हुनु र बनाउँनु पर्दछ।

समाजशास्त्री  जोन रावल्सले सामाजिक न्यायलाई यसरी परिभाषित गरेका छन्।”समाजका आधारभूत संस्थाहरूमा सवै नागरिकको समान अधिकार र कर्तव्यको प्रत्याभूति प्रदान गर्ने, लाभ तथा सामाजिक सहयोगको बोझ समान  र न्यायोचित वितरण गर्ने प्रक्रियाको नाउँ नै सामाजिक न्याय हो।”

फेरि  कार्ल माक्र्स सम्पत्तिको असमान वितरणले समाजमा स्वतः असमानता निम्त्याएको मान्दछन् भने म्याक्स वेबर असन्तुलित शक्ति वितरण वा केन्द्रीकृत शक्ति प्रणालीका कारणले असमानता उत्पन्न भएको मान्दछन्। त्यस्तै समाजशास्त्री लेन्स्कीले त अझ शिक्षा , धर्म,पेसा,सम्पत्ति, लिंग र उमेरका कारण र आधारमा समेत असमानता बढ्दै गएको ठानेका छन् । विभिन्न समाजशास्त्री तथा विज्ञहरुले समाजलाई आ-आफ्नै तवरले ब्याख्या गरेका छन् ।

देशका विपन्न तथा पिछडिएका वर्गलाई राष्ट्रिय विकासको मूल प्रवाहमा ल्याइ राज्यका उत्पादनशील स्रोतसाधन माथिको पहुँच, उपभोग तथा नियन्त्रणमा समता र न्याय स्थापना गर्नुलाई नै सोझो अर्थमा सामाजिक न्याय भनिन्छ । समाजमा रहेको आर्थिक तथा सामाजिक असमानता हटाएर विभिन्न जाती, सम्प्रदाय, वर्ग तथा समुदायका बीचमा सामाञ्जस्य स्थापना गरी न्याय र नैतिकतामा आधारित स्वस्थ समाज स्थापना गर्ने प्रक्रिया हो सामाजिक न्याय ।

समाजमा सबै समान हुन् भन्ने अवधारणा नै सामाजिक न्याय हो । धनीले गरिबलाई शोषण नगर्ने, पढेकाले नपढेकालाई नठग्ने, माथिल्लो जात भनिनेले तल्लो जात मानिनेलाई बराबरी ठान्ने, सँगै बसेर खानपिन गर्ने, गोराले कालालाई बराबर मान्ने, अन्तराष्ट्रिय भाषा बोल्नेले स्थानीय भाषा बोल्नेलाई उत्तिकै सम्मान गर्ने, केन्द्रीय भाषा बोल्नेले स्थानीय भाषिका बोल्नेलाई आफैं सरह ठान्ने प्रवृत्ति नै सामाजिक न्याय हो ।

सामाजिक न्यायलाई समावेशी राज्य निर्माणको उद्देश्यले समानतामा आधारित लोक कल्याणकारी अवधारणाका रूपमा लिइन्छ । यो वितरणात्मक न्यायको माध्यमबाट राज्यले नागरिकप्रति गर्ने समान व्यवहार नै हो । तर प्रणालीगत यस समाजमा मानवहरुका पुस्तौ पुस्ता हुर्कदै आउदै गर्दा समाज परिवर्तन हुँदै आयो । यस समाजमा परिवर्तन सकारात्मक अनि नकारात्मक पाटाहरू देखा परे।नकारात्मक परिवर्तनले समाजमा विभेद, द्धन्द अनि अन्याय भित्राउन प्रेरकको काम गर्यो।अनि शुरू भयों काम, वर्ग, जात, रङ्ग अनि वर्णका आधारमा भेदभाव।

वास्तवमा कुनै पनि देशमा सामाजिक न्यायको प्रत्याभूति नगराएसम्म मुलुकको सर्वाङ्गीण विकास हुनै सक्दैन।अनि देश मानव विकासको मामिलामा सधै पछाडि पर्दछ।  नेपालमा अहिले हामी यथार्थमा सामाजिक न्यायको खोजीमा छौ।समाजमा देखिएका  सवै प्रकारका शोषण, दमन र शक्ति प्रयोगका विरुद्धको सामाजिक आन्दोलनले सापेक्षित सत्य र न्यायको खोजी त गरिरहेको छ। तर कुनै एउटा जात या कुलमा जन्मेकै कारणमा जीवनभर हेपिनु पर्ने बाध्यता छ।

दोश्रो दर्जाको नागरीक अथवा अनागरीक बनेर बाँच्नुपर्ने अवस्था राज्यको दुर दराजमा भेटिन्छ। राज्यले प्रदान गर्ने लाभ लिनका लागि आफूलाई सबैभन्दा गरिब तथा सिमान्तकृत देखाउन तँछाड मछाड गर्ने प्रवृत्तिका कारण वास्तविक विपन्न वर्गले सामाजिक न्यायको अनुभूति गर्न नपाउने जोखिम टड्कारो रूपमा रहेको छ ।

अझ सामाजिक न्यायको विषयलाई जातीयताको लेपन लगाउँदै जातकै आधारमा लाभ र अवसर बाँडीचुँडी खाने प्रथाका कारण सीमान्तकृत वर्ग जहीँको तहीँ रहने तर उनीहरूको नाउँमा हुनेखानेले लुटिरहने जोखिम रहन्छ । वास्तवमा  सामाजिक न्यायलाई सार्थक तुल्याउनका लागि विपन्न तथा तल्लो वर्गको पहिचान र उत्थानमा जोड दिनुपर्छ ।वास्तवमा समान समाजको निर्माण हुनुनै सच्चा लोकतन्त्र हो।