खाडीमा १० बर्ष बिताए पछि, मेरो युरोप सपना


-तारा अधिकारी

बिभिन्नियका मेरा सपनाहरु खाडी हुँदै युरोपका गल्लिहरुमा सुनौला भोलिको खोजिमा भौतारीरहेको देख्दा म आँफै निशब्द छु। साहुका गालीहरुमा मैले खोजेका परिवारका सुनौला भविष्य अनि बा-आमाको घर छाउने खरबारी चैतको डडेलोले निलेको जस्तो मेरो बर्तमान, खै कहाँबाट सुरु गरौ ?

केमिकलले खाएका हातहरुले धेरै लेख्न मान्दैनन्,अनि मेरा नाइकका जुत्ता र लिभाइज जिन्स पाईन्टसँगै पार्किंङ्मा रोकिएका गाडीका तस्बिरहरु हेरी मेरो कथामा बिश्वास पनि गर्दैनन्। दश बर्षदेखि खाडीमुलुक साउदी कतार लगायत सबैजसो खाडी राष्ट्रहरुमा कम्प्युटर इन्जिनियरको पद सम्हाली ठुला कम्पनिमा सेवा प्रदान गरेको हुनाले युरोप घुम्न मेरा लागि कुनै नौलो कुरा भएन।

म आउने अनि फर्किने गर्न थाले, केहि बर्ष यता खाडी राष्ट्रहरु फैलिएको तेलको पैसाको उतार चढाबले मैले सेवा प्रदान गर्ने कम्पनिमा पनि दिगो भविष्य देख्न छाडे। त्यसैले मेरो अर्को सपनाको लड्डुको कहानी युरोप बन्न पुग्यो।खाडी राष्ट्रमा काम गर्दैगर्दा अन्तिम समयसम्म पनि नेपाल नै फर्केर देशमा नै केहि गर्ने मनसाय थियो। आखिर सबैलाई पलायन गराएको यो “तर” भन्ने शब्दले मलाई पनि छाडेन,त्यसैले देश फर्कने मेरो चाहानालाई यही तर शब्दले युरोपमा ल्याएर पछारिदियो।

भ्रस्टाचारले ग्रसित,राजनीतिक अस्थिरता,अन्यौलताले भरिएको देशमा पुगेर केही गर्न सकुला जस्तो साहस नै आएन। खाडीमा छदै सामाजिक कामहरुमा सक्रिय रहेकाले पनि मेरो सम्बन्ध युरोपमा मजबुत थियो। त्यसैले मलाई पनि यता आउँन प्रेरित गर्यो। जीवनमा नयाँ संघर्ष सँगै बाँच्ने आधार खोज्न बाध्य गरायो।

फ्रान्स हुदै बार्सिलोना टेके पछि दुई थान कपडा मिल्काए सँगै सुरु भए मेरा जीवनका नौला कहानीहरु। जीवन यात्राका कठिन पलहरु, जसलाई कल्पनामा ल्याउँदा पनि काँडा उम्रिन्छन्। युरोपको राम्रो पाटो भनेको नै सपनाको सुन्दर संसार रहेछ । हो त्यस्तै सपना देखेर संघर्ष गर्नेहरुको जीवनबाट भने धेरै सिक्न सकिने रहेछ। प्रेरेणा पनि मिल्ने रहेछ। उदाहरणका लागि केहि एनआरएन अभियन्ताहरुको ब्यबसायिक सफलताको कथा नै हाम्रा लागि काफि छ। मेहनत गरे के सम्भव रहेनछ र ?

तर सफल उदाहरण प्रस्तुत गरीरहँदा घरबार बन्दक राखी युरोप छिरेका हजारौ युवाको ब्यथा कहाँनी डरलाग्दो पनि छ। दलाललाई लाखौ रकम बुझाएर पोर्चुगलको खेतिमा, केहि सय युरोको लागि जीवन संघर्ष गरीरहेका नेपालीहरुको ब्यथाहरु पढ्दा मन भक्कानिने मात्र होईन रोएर आउँछ। डेनमार्क,बेलायत,पढ्न आएका बिद्यार्थीहरु शैक्षिक भविष्य टुंगिएर भौतिरिएको देख्दा मन झसङ्ग हुन्छ। बेल्जियम,जर्मनी, नेदरल्याण्डमा लुकिछिपी मनलाई अशान्त बनाई काम गरेको नेपालीहरुको पिडा सुन्दा पनि भाबबिहोल बनाईदिन्छ। तर यति देख्दा र सुन्दा पनि युरोपमा संघर्षपूर्ण पलहरुसँग म आफ्नै सफलताको कथा बुन्ने कोशिस गरिरहेको छु।

म यतै छु त्यसैले ब्यथा पनि यतैको नै पोख्छु। केहि बर्षदेखि आर्थिक मन्दी खेपी रहेको स्पेनमा हामी संघर्ष पूर्ण जीबन बिताईरहेका छौ। यहाँको अबैधानिक बसाई झनै असहज रहेछ। सुरुको तिन बर्षको अबधिमा धेरै संघर्षका कथाहरु बन्ने रहेछन्। यो अबधिमा दुख मज्जाले गर तर एक्लै बाँच भने जस्तै।जति सुकै मेहनत गरेर काम गरे पनि केबल आफ्नो एकल जीवन जिउनका लागि मात्र। कमाउँने सपना देखेका नेपालीका लागि तिन बर्षको अबधि विर्सन लायक नै छ।

जब अबैधानिकबाट बैधानिक बन्ने प्रक्रियामा पुगिन्छ नि झनै ठुलो संकट। नेपालबाट युरोप छिर्दाको ऋण आफ्नै ठाउँमा फेरि यता बैधानिक बन्ने प्रक्रियामा दश लाख रुपैयाँ सम्मको खर्च । धेरै नेपालीहरुले यसरी नै रकम बुझाउँदै रेसीडेन्सी बनाएका छन्। एकाध घटनामात्र पाईन्छ,आफैले काम गरेको ठाउँबाट कन्ट्राक उपलब्ध गराई निशुल्क रुपमा पेपर बनेका उदाहरण। आखिर यस्ता भाग्यमानिहरु पनि सिमितको संख्यामा नै छन्। अबैधानिक रुपमा तिन बर्ष सम्म रहँदा १० लाख रुपैयाँ बचाएर राख्नु त झन् फलामको चिउरा चपाउँनु जस्तै। पैसा नपुगे पछि उल्टो घरबाट ऋण मगाएर युरोपको कार्ड भिर्नु पर्ने यो कस्तो बाध्यता ?

अफसोच नै मान्नु पर्छ नेपाली समुदायका ब्यापारीहरु पनि पेपर बनाउँने क्रममा कठोर बन्दारहेछन्। एउटा नेपालीले भारतीय,पाकिस्तानीबाट कामको कन्ट्राक किन्ने रकम भन्दा, नेपालीसँग लिदा सेन्टी पनि कम गर्दैनन्। बरु केहि युरो बढी नै माग्लान्। कमी लिने त व्यहबार नै भेटिदैन। सरकारलाई कर बापत रकम बुझाउँनु पर्ने हुँदा रकम लिनुलाई त स्वभाबिक नै ठानौ। तर कति सम्म लिने भन्नेमा नै प्रश्न हो।

एउटा नेपालीलाई अर्को नेपालीले चर्को मुल्य नै लिनु पर्ने कस्तो बाध्यता हगी ? कति ठुलो समाज सेबा पनि ? हो रकम बुझाउँनै पर्छ ,खर्च लाग्छ नै। तर कन्ट्राक किन्ने नेपालीलाई यति मात्र गर्ब लागोस् ,भारतीय,पाकिस्तानीको भन्दा मैले आज सस्तोमा पाए। किनकी कन्ट्राक बेच्ने एउटा नेपाली थियो त्यसैले।  वा कन्ट्राक बेच्ने नेपालीलाई पनि गर्ब लागोस्,आज एउटा नेपाली खुशी छ,अरुलाई भन्दा दुई चार पैसा भए पनि मैले सस्तोमा दिए। किनकी उँ नेपाली हो। यस्तो भावाना हाम्रो समाजमा कतै देख्नु हुन्छ तपाईले ?

कम्तीमा नेपाली समाजसेबाको भाब ब्यहबारमा पनि लागु गर्न सकौ न । खादा ओढेर ठुला ठुला भाषण गरेर मात्रै सेवा हुँदैन। एउटा नेपालीलाई परेको बेला सहयोग गरौ,त्यो लाखौ गुणा शक्तिशालि हुन्छ।

भर्खर स्पेन छिरेको नेपालीले आँफूभन्दा अग्रजबाट यस्तै यस्तै बिषयहरुमा अपेक्षा राखेको हुन्छन्। सानो -सानो कुरामा सहयोगको याचना गरेका हुन्छन्। नयाँ आएका नेपालीलाई कसरी पार्देनोमेन्तो (दर्ता) गराउँन सकिन्छ,कसरी सस्तो भाडामा दिएर घरमा राख्न सकिन्छ वा नयाँ सिप सिकाउँने ठाउँ देखाउँन सकिन्छ, भाषा सिकाउँने ठाउँ देखाउँन सकिन्छ। वा नयाँ काम कसरी दिलाउँन सकिन्छ। यी सबै हाम्रा समाज सेबामा देखिएका अभावहरु हुन्। न कि आज घरमा ल्याएर एउटा कोठामा २-३ जनालाई राख्छु, त्यहीबाट नै घरको भाडा उठाउँछु ,दुई चार पैसा भए पनि फाईदा हुन्छ भन्ने सोच्छौ भने यो चाहिँ समाज सेबा होईन,सहयोग पनि होईन, यो त केबल कमाउँने भाडो हो।

अब यताका कुरालाई पनि यही रोकौ। सपना देखेर आए पछि जीवनलाई संघर्षमा बदल्ने कोशिस त जारी नै छ। समय अनुसार आँफूलाई बदल्न सक्नु पर्ने पाठलाई पनि मजैले सिकेको छु। तर आज यहाँ सुन्दा देख्दा र महशुस गर्दा युरोप छिरिसके पछि अब त सक्कियो वा जीबन सुरक्षित भो भन्ने जुन सपना देख्छौ त्यो शत प्रतिशत गलत हो भन्नाका खातिर पनि आज लेख्ने कोशिस गरे। तर्सथ ऋण धन गरी अझै पनि लाखौ रकम खर्च गरेर युरोप आउँने सपना देखेका नेपाली दाजुभाईहरु हुनुहुन्छ। बिनम्रता पुर्बक अनुरोध गर्दछु, युरोप छिरेर कार्ड बनाएर महल खडा गराउँछु भन्ने सपना देख्न छाड्नुहोस्।

-लेखक हाल स्पेनको बार्सिलोनामा बस्दै आएका छन्।