स्पेनमा दूतावास खोल्ने प्रक्रिया अगाडि बढाउँन,परराष्ट्र मन्त्रालयलाई निर्देशन


काठमाडौ/ स्पेनमा दूतावास खोल्न आवश्यक प्रक्रिया तत्काल अघि बढाउन सरकारले परराष्ट्र मन्त्रालयलाई निर्देशन गरेको छ। स्पेन सरकारबाट दूतावास खोल्ने स्वीकृति प्राप्त नभएसम्म त्यहाँको राजदूतमा सिफारिस गरिएका भरत रायमाझीको नाम  हाल संसदीय सुनवाइका लागि नपठाउने मन्त्रिपरिषद्ले निर्णय समेत गरेको छ।

सरकारले यही फागुन ९ गते विभिन्न १४ मुलुकका लागि राजदूत पदमा नियुक्तिका लागि नाम सिफारिस गरेको थियो। तर मंगलबार बसेको मन्त्रिपरिषद बैठकले दुई जनाको नाम निकालेको थियो।  सरकारले युनाइटेड अरब इमिरेट्स (युएई) को राजदूतमा सिफारिस आशा लामाको नाम फिर्ता लिएको छ। स्पेन सरकारबाट दूतावास खोल्ने स्वीकृति प्राप्त नभएसम्म त्यहाँको राजदूतमा सिफारिस गरिएका भरत रायमाझीको नाम संसदीय सुनुवाइका लागि रोकिएको हो। बाँकी विभिन्न देशको राजदूतमा सिफारिस १२ जनाको नाम सुनुवाइका लागि संसदीय समतिमा पठाएको छ।

यस अघि  ‘म्यानपावरवाली’ भन्दै चर्को आलोचना भएपछि राजदूतको सूचीबाट आशा लामा र शर्मिला पराजुलीको नाम काटेर परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत जेनेभातिर उडे पनि महत स्वदेश नफर्किँदै शर्मिलाको नाम फेरि राजदूतमा सिफारिस भएको छ । तर लामाको नाम भने फिर्ता भएको छ।

संसदीय सुनुवाइ विशेष समितिले विभिन्न १२ मुलुकमा राजदूतका लागि सिफारिस भई संसदीय सुनुवाइका लागि आएका व्यक्तिको नाममा १० दिने सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय गरेको छ । उक्त मितिभित्र उनीहरुविरुद्ध उजुरी गर्न चाहने व्यक्तिले उचित कारण र व्यहोराको सूचना व्यवस्थापिका–संसद् संसदीय सुनुवाइ समितिमा लिखितरुपमा पठाउनुपर्नेछ ।

फागुन ९ गतेको मन्त्रिपरिषद् बैठकले स्पेनमा नयाँ दूतावास खोल्ने निर्णय गर्नुका साथै राजनीतिक भागबन्डामा १४ देशका लागि विभिन्न व्यक्तिको नाम राजदूतमा सिफारिस गरेको थियो।

सरकारले लक्की शेर्पालाई अस्ट्रेलिया, निरञ्जनकुमार थापालाई इजरायल, शर्मिला पराजुली ढकाललाई ओमान, रमेशप्रसाद कोइरालालाई कतार, अर्जुन जङ्गबहादुर सिंहलाई गणतन्त्र कोरिया, प्रतिभा राणालाई जापान, युवनाथ लम्साललाई डेनमार्क, चोपलाल भूसाललाई बङ्गलादेश, पदम सुन्दासलाई बहराइन, भीमकृष्ण उदासलाई म्यान्मार, विश्वम्भर प्याकुरेललाई श्रीलङ्का र महेन्द्रप्रसाद सिंह राजपुतलाई साउदी अरेबियाका लागि राजदूतमा सिफारिस गरी संसदीय सुनुवाइका लागि समितिमा पठाइएको थियो।